• १५ चैत २०८२, आइतबार

कर्णालीका ७ पालिकालाई नवप्रवर्तन कार्यक्रमअन्तर्गत तीन करोड ४० लाख अनुदान

blog

प्रतीक इच्छुक शर्मा
सल्यान, चैत १६ गते ।
कर्णाली प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कोषअन्तर्गत सल्यानको शारदा नगरपालिका सहित सात वटा स्थानीय तहलाई कुल ३ करोड ४० लाख रुपियाँ अनुदान प्रदान गर्ने निर्णय गरेको छ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षभित्र सञ्चालन हुने विभिन्न नवप्रवर्तन परियोजनाका लागि सम्बन्धित पालिकालाई बजेट अख्तियारी दिने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता विनोद शाहका अनुसार नवप्रवर्तन कार्यक्रममार्फत डिजिटल प्रविधिको प्रयोग विस्तार, सेवा प्रवाह सुधार, शिक्षा र स्वास्थ्य क्षेत्र सुदृढीकरण तथा उद्यम विकासलाई प्राथमिकतामा राखिएको छ। चयन गरिएका परियोजनाहरू स्थानीय आवश्यकता र प्रविधिमैत्री सेवाको विस्तारलाई केन्द्रमा राखेर तय गरिएको उनले जानकारी दिनुभयो।

उदाहरणका लागि, सानीभेरी गाउँपालिकालाई ‘डिजिटल प्रविधिमा आधारित स्थानीय सेवा प्रवाह’ कार्यक्रमका लागि ४२ लाख रुपियाँ विनियोजन गरिएको छ भने शारदा नगरपालिकामा ‘एकीकृत डिजिटल सेवा तथा सूचना व्यवस्थापन प्रणाली’ कार्यान्वयनका लागि पनि ४२ लाख रुपियाँ उपलब्ध गराइनेछ।

शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित चौरजहारी नगरपालिकामा ‘डिजिटल कक्षाकोठा व्यवस्थापन परियोजना’का लागि ५४ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक विकास र उद्यमशीलता प्रवर्द्धनका लागि नारायण नगरपालिकालाई ‘व्यावसायिक उद्यम विकास परियोजना’ सञ्चालनका लागि ५४ लाख ५१ हजार ७ सय रुपैयाँ प्रदान गरिने भएको छ।

स्वास्थ्य सेवा सुदृढीकरणतर्फ मुगुम कार्मारोङ गाउँपालिकामा ‘डिजिटल नवप्रवर्तनमा आधारित सामुदायिक अस्पताल सुदृढीकरण कार्यक्रम’का लागि सबैभन्दा बढी ७५ लाख रुपैयाँ छुट्टाइएको छ। नलगाड नगरपालिकामा ‘प्रविधिमैत्री एकीकृत सेवा प्रवाह केन्द्र’ सञ्चालनका लागि २२ लाख ८८ हजार ३ सय रुपियाँ र रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ कार्यक्रमअन्तर्गत ४९ लाख रुपियाँ विनियोजन हुने जनाइएको छ।

प्रदेश सरकारले यी परियोजनामार्फत स्थानीय तहमा प्रविधिको प्रयोग विस्तार गरी सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र सहज बनाउने अपेक्षा गरेको छ। नवप्रवर्तन कार्यक्रमले स्थानीय आर्थिक गतिविधि सुदृढ पार्दै रोजगारी सिर्जनामा पनि योगदान पुर्याउने विश्वास गरिएको छ।

शारदा नगरपालिका सल्यानका नगर प्रमुख प्रकाश भण्डारीले नवप्रवर्तन कार्यक्रमअन्तर्गत प्राप्त बजेटले नगरभित्र सेवा प्रवाहलाई आधुनिक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँका अनुसार सूचना प्रविधिमा आधारित एकीकृत सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

नगर प्रमुख भण्डारीले उक्त कार्यक्रमले नगरको प्रशासनिक क्षमता अभिवृद्धि गर्नुका साथै समग्र स्थानीय विकासलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।