लीलाधर वली
घोराही, चैत १५ गते । घोराही बजारमा खानेपानीको समस्या समाधानका लागि बबइको पानी लिफ्टिङमार्फत वितरण सुरु भएको छ । बबईको पानी लिफ्टिङमार्फत घोराही ल्याएर वितरण गर्ने गरी निर्माणका लागि सम्झौता भएको करिव चार वर्षपछि घोराही बजारमा खानेपानी वितरण सुरु गरिएको हो ।
२०८२ असार मसान्तसम्म सक्ने गरी २०७९ असार २९ गते ठेक्का सम्झौता भइ काम सुरु भएको बबइको पानी लिफ्टिङ आयोजनामार्फत गएको फागुन महिनादेखि घोराहीमा पानी ल्याएर उपभोक्तालाई पानी वितरण सुरु गरिएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । सम्झौता अनुसार निर्माणमा केही ढिलाई भएपनि निर्माणको काम करिव ९८ प्रतिशत सकिए छ ।
सचिव श्रेष्ठका अनुसार घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले नेपाल सरकारको सहलगानी आयोजनामार्फत बबईको पानी लिफ्टिङ गरेर घोराही बजारमा ल्याउन सफल भएको र अबको करिव ३० देखि ३५ वर्षसम्म बजार क्षेत्रमा खानेपानीको समस्या हट्ने विश्वास गरिएको छ । बबई लिफ्टिङ आयोजनाअन्तर्गत एक सय १० लिटर प्रति सेकेन्ड पानी घोराहीस्थित झिगौरा ओभरहेड ट्याङ्कीमा पानी ल्याएर बजार क्षेत्रमा वितरण गरिएको सचिव श्रेष्ठ बताउनुहुन्छ ।
बबई लिफ्टिङ आयोजनामार्फत घोराहीमा पानी वितरण सुरु भएपनि केही प्राविधिक काम बाँकी रहेको भन्दै संस्थाका सचिव श्रेष्ठले भन्नुभयोे, ‘‘बबई लिफ्टिङ आयोजनामार्फ घोराहीमा पानी वितरणको काम सुरु भएपनि प्राविधिक रुपमा २-३ प्रतिशत काम गर्न बाँकी रहेको छ । उक्त काम चालुआर्थिक बर्षभित्रै सक्ने गरि काम भइरहेको छ ।’’ बबई पानी लिफ्टिङ आयोजना निर्माणका लागि भिमेश्वर डिलिङ एण्ड निर्माण कम्पनीसँग ४९ करोड ८५ लाख ४९ हजार छ सय ७५ रुपियामा ठेक्का सम्झौता भएको सस्थाका कोषाध्यक्ष धु्रर्व केसीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार बबईको पानी घोराही बजार ल्याएर वितरणका लागि घोराही उपमहानगरपालिका–७ उत्तरबाहिनी क्षेत्र (शुक्रबार) मा पाँच वटा डिपबोरिङसँगै फिल्टरसहितको रिजर्भवयर ट्याङ्कीे निर्माण गरिएको छ । रिजर्भवयर ट्याङ्कीमा जम्मा भएको पानी पाइपलाइनमार्फत घोराही उपमहानगरपालिका–७ बेसाही हुँदै घोराही–१४ झिंगौरास्थीत ओभरहेड ट्याङ्कीमा जम्मा गरेर उपभोक्तालाई वितरण गरिएको छ । उत्तरबाहिनी क्षेत्रमै बालुवा छान्ने ‘र्यापिड स्याण्ड फिल्टर’ ट्याङ्की निर्माण गरिएको छ ।
बोरिङको पानी उत्तरबाहिनी क्षेत्रमा रहेको छ लाख लिटर क्षमताको रिजर्भवयर ट्याङ्कीमा फिल्टर भएर जम्मा भएको पानी बेसाहीको ट्याङकी र झिँगौराको रिजर्भवयर ट्याङ्कीमार्फत उपभोक्ताको घरमा जडान भएको धारामा वितवरण भइरहेको कोषाध्यक्ष केसीले बताउनुभयो ।
बबई लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि नेपाल सरकारले ३४ करोड ८९ लाख अनुदान दिएको छ । संस्थाले अहिले घोराही बजार क्षेत्रमा आठ हजार घरधुरीलाई पानी वितरण गर्दै आएको र थप १२ हजार घरधुरी थपिँदासमेत खानेपानीको समस्या नपर्ने गरि दीर्घकालीन लक्ष्यसहित खानेपानी आयोजना निर्माण गरिएको कोषाध्यक्ष केसीले बताउनुभएको छ ।