• १५ चैत २०८२, आइतबार

बाजुरामा गहुँबाली जोगाउने चिन्ता

blog

बाजुरामा पाक्न थालेको गहुँ । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, चैत १५ गते । बाजुराका किसानलाई अहिले पाक्न थालेको गहुँबाली जोगाउने चिन्ता सुरु भएको छ। बुढीगङ्गा नगरपालिका निवासी कविता सेरालाले केही दिन यता पानीसँगै असिना पर्ने भएकाले पाक्दै गरेको गहुँ नष्ट नहोस् भन्ने डरले चिन्ता बढेको बताउनुभयो। उहाँले भन्नुभयो, “कात्तिकमा हलि बलाएर खेती लगाएको हो। अहिले पाक्ने बेलामा असिनाले गहुँ चुट्ने गर्छ। राखे पेट पालिन्छ, नराखे खोली पेट हुने डर छ।”

यती बेला बाजुराका अधिकांश ठाउँमा गहुँ पाक्न सुरु भएको छ। खोला किनारमा सिँचाइ सुविधा सम्पन्न ठाउँमा लगाएको गहुँ चैत–बैशाखमा पाक्छ भने पाखोमा लगाएको गहुँ बैशाख–जेठमा पाक्ने गर्दछ।

बजुराका बुढीगङ्गा, त्रिवेणी, बडीमालिका, बुढीनन्दा, हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, खप्तड छेडेदह लगायतका क्षेत्रमा गहुँ खेती राम्रो हुने गर्दछ। सबैभन्दा बढी बुढीगङ्गा साविकको बह्रतोला, कुल्देवमाण्डौ बाह्रविस र त्रिवेणीको कैलाशमाण्डौमा गहुँ खेती राम्रो हुने गरेको छ।

यहाँका किसानले हाल पासाङ्लामु, डब्लु के १४४, डाँफेमुनाल र स्वर्गद्धारी जातको गहुँ लगाउने गर्छन्। अधिकांश किसान भने पुरानो स्थानीय जातको नै प्रयोग गर्दै आएका छन्।

बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिन भए पनि यसमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य छ। पाँच हजार २ सय ३५ हेक्टरमा मात्र वर्षभरि सिँचाइ सम्भव छ। गहुँ हिउँदे बाली भएकाले हिउँदमा वर्षा नभए उत्पादन घट्छ, वर्षा भए उत्पादन बढ्छ। उन्नत जातको गहुँको बीउ प्रयोगले पनि गहुँ उत्पादनमा वृद्धि भएको छ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार, “बाजुरामा १० हजार ४६० हेक्टरमा गहुँ खेती हुन्छ र त्यसबाट करिब १७ हजार ७८२ मेट्रिक टन उत्पादन हुने गरेको छ।”