अमरराज नहर्की
तनहुँ, चैत १५ गते । तनहुँमा ग्रामीण पर्यटनमा नयाँ फड्को मार्दै देशमै पहिलो पटक ‘होमस्टे सर्किट’ (घरबास चक्रपथ) को अवधारणा कार्यान्वयनमा ल्याएको छ । बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाका विभिन्न १४ वटा होमस्टे र २० भन्दा बढी गाउँलाई समेटेर ७५ किलोमिटर लामो चक्रीय पर्यटन पदमार्ग प्रवर्धन गर्न शनिबारदेखि स्थलगत अध्ययन तथा अवलोकन अभियान सुरु गरिएको हो ।
‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’ नाम दिइएको यस अभियानले छुट्टाछुट्टै अवस्थामा रहेका होमस्टेहरूलाई एउटै सूत्रमा उनेर पर्यटकको बसाइ अवधि लम्ब्याउने लक्ष्य राखेको छ । शनिबार बन्दीपुर–२ को मोहोरिया र रामकोटबाट सुरु भएको अध्ययन टोलीले व्यास–१४ को कुलुङ, केशवटार र रुम्सी गाउँको अवलोकन सम्पन्न गरेको छ ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले यस सर्किटलाई मुलुककै नमुना ग्रामीण गन्तव्यका रूपमा विकास गर्न लागिएको बताउनुभयो । “यो सर्किटले पर्यटकलाई एउटै यात्रामा मगर, गुरुङ, नेवार र दलित समुदायको विविध संस्कृति, खानपान र जीवनशैली अनुभव गर्ने अवसर दिनेछ,” अध्यक्ष थापाले भन्नुभयो, “यसले ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जना गरी बसाइँसराइ रोक्न समेत मद्दत पु¥याउनेछ ।”
आइतबार टोलीले धरमपानी, ऐतिहासिक हुस्लाङकोट गढी, कमलाबारी, कोरिखा र बन्दीपुर सामुदायिक होमस्टेको अध्ययन गर्ने कार्यक्रम छ । पर्यटनविद्, व्यवसायी र जनप्रतिनिधि सम्मिलित टोलीले होमस्टेको गुणस्तर सुधार, आतिथ्य सत्कार र डिजिटल प्रचारप्रसारका विषयमा स्थानीयसँग अन्तरक्रिया समेत गरिरहेको छ । देशमै पहिलो पटक सुरुवात गरिएको शुभारम्भ कार्यक्रममा बताइएको थियो ।
बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’ हुने
यसैबिच, आगामी वैशाख १८ र १९ गते बन्दीपुरमा चौथो संस्करणको ‘गाउँ पर्यटन मार्ट २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा हुने यस मार्टले ‘बन्दीपुर भ्रमण वर्ष २०२६’ लाई सफल बनाउन थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार पोखरा बाहिर पहिलो पटक आयोजना हुन लागेको यो मार्टले ओझेलमा परेका ग्रामीण गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्नेछ । पर्यटन अभियन्ता हरिसिंह गुरुङले यो अभियान केवल पर्यटन मात्र नभई समुदायको आर्थिक रूपान्तरणको माध्यम भएको बताउनुभयो । मार्टमा गण्डकी प्रदेशका सामुदायिक होमस्टे, कृषि फार्म र पर्यटन सम्बद्ध संस्थाहरूको सहभागिता रहनेछ। सहभागी हुन इच्छुक संस्थाहरूलाई आज चैत १५ गतेभित्र आवेदन दिन आह्वान गरिएको छ । पहाडकी रानी बन्दीपुरले यसअघि नै सन् २०२६ लाई ‘ग्रामीण पर्यटन भ्रमण वर्ष’का रूपमा मनाउने घोषणा गरिसकेको छ ।