• १५ चैत २०८२, आइतबार

सुकुमवासीलाई जग्गा दिन नापजाँच सुरु

blog

बैतडी समाचारदाता 

बैतडी, चैत १५ गते  । पञ्चेश्वर गाउँपालिकाले सुकुमवासीलाई जग्गा दिन नापजाँचको काम सुरु गरेको छ । सुकुमवासी तथा अव्यवस्थित बसोबासीका लागि गाउँपालिकाले भूमि समस्या समाधान अयोगको जिल्ला कार्यालयसँग समन्वय गरेर प्राविधिमार्फत नापजाँचको काम सुरु गरेको हो । भूमि समस्या समाधान आयोगले जिल्लाका १० वटै पालिकाबाट सुकुमवासी तथा अव्यवस्थित बसोबासीको आवेदन सङ्कलन गरेको आयोगका जिल्ला अध्यक्ष रमेश पाण्डेयले बताउनुभयो । उहाँले जिल्लाभरि चार सय सुकुमवासी र दुई हजार सात सय अव्यवस्थित बसोबासीको आवेदन परेको बताउनुभयो ।  

सुकुमवासीलाई जग्गा दिन पञ्चेश्वर गाउँपालिकाबाट काम सुरु गरिएको छ । पञ्चेश्वर गाउँपालिकाबाट ५९ सुकुमवासी र चार सय अव्यवस्थित बसोबासी रहेका छन् । पञ्चेश्वर गाउँपालिकाले सङ्कलन गरेकामध्ये छानबिनका क्रममा ५९ सुकुमवासी प्रमाणित भएपछि जग्गा दिन प्राविधिकले नापजाँचको काम सुरु गरेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । सुकुमवासीलाई एकै ठाउँमा जग्गा दिन पञ्चेश्वर गाउँपालिका–४ को महाकली कोरिडोरसँग जोडिएको जाइबाटामा जग्गा नापजाँचको काम सुरु भएको उहाँले बताउनुभयो । स्थानीय भूमि व्यवस्थापन सहजकर्ताका रूपमा काम गर्दै आएका नरीराम लोहारले एकीकृत बस्ती बसाल्न गाउँपालिकाले जाइबाटाको खाली जग्गा पहिचान गरेको बताउनुभयो । 

एकीकृत बस्ती बसाल्न सके बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूर्ति गर्न सहज हुने गाउँपालिकाले जनाएको छ । सुकुवासीलाई जग्गा दिन गाउँपालिकाले सहजकर्ता परिचान गरेको छ भने भूमि आयोगले नापीसम्बन्धी काम गर्न प्राविधिक परिचालन गरेको आयोगका जिल्ला अध्यक्ष पाण्डेयले जानकारी दिनुभयो । उहाँले पञ्चेश्वर गाउँपालिकाका सुकुमवासीले पाउने जग्गा नापजाँचपछि अन्य पालिकामा काम सुरु गर्ने बताउनुभयो । सुकुमवासीलाई जग्गा दिन पटक पटक आयोग बने पनि काम सुरु हुन सकेको थिएन । यो पटक जग्गा नापजाँचको काम सुरु हुँदा आशा बढेको सुकुमवासी रगी लुहारले बताउनुभयो । यहाँका सुकुमवासी २०५२ सालदेखि जग्गा पाउने आसामा बसेका थिए । त्यसबेला गडन भएको गोविन्दप्रसाद कलौनी अध्यक्ष रहेको आयोगले बैतडीका २५० जनालाई लालपुर्जासमेत बाँडेको थियो । यद्यपि सो लालपुर्जा अनुसारको जग्गा भने कतै भेटिएको थिएन ।