• १५ चैत २०८२, आइतबार

सडक स्तरोन्नतिपछि सहज

blog

स्तरोन्नति गरिएपछिको इलिङ काँधको सडक । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, चैत १५ गते । जिल्लाको उत्तरी क्षेत्रको सिमकोट–हिल्सा सडकको याल्वाङ चौरदेखि इलिङ काँधसम्मको सडकमा यातायात सेवा सञ्चालनमा सहजता आएको छ । सो खण्डको सडकको स्तरोन्नति भएपछि यातायातका साधन सञ्चालनमा सहज भएको हो । इलिङ काँधमा यसअघि सडकको स्तरोन्नति नगरेका समयमा निकै कठिन गरी यातायातका साधन चलाउनुपर्ने बाध्यता रहेकोमा हाल सो सडकको स्तरोन्नतिपछि सहज भएको जिपचालक पुरन रावतले बताउनुभयो । 

पहिले मोड साँघुरो र उकालो भएका कारण यातायातका साधनको गेयर परिवर्तन गर्नुपर्ने, मोडमा ब्याक गरेर मोड्नुपर्ने अवस्थामा रहेकोमा हाल त्यो समस्या हटेकाले निकै सहज भएको उहाँले जनाउनुभयो । एक वर्षअगाडि साँघुरो र उकालो सडक भएका कारण गुडिरहेको ट्रक एक्कासि ब्याक भएर दुर्घटनामा परेको थियो ।

इलिङ काँधको ट्र्याक खुलाएको कच्ची सडकको अवस्था पहिले २० प्रतिशत ग्रेड उकालोमा यातायातका साधन चढ्नुपर्नेमा हाल स्तरोन्नतिपछि उक्त ग्रेड अधिकतम १२ प्रतिशतमा झारिएको निर्माण व्यवसायी सरोज रावतले बताउनुभयो । पहिलेको सडकमा यातायातका साधनले सो काँध चढ्न यसअघि आधा घण्टा समय लगाउने गरेकोमा हाल त्यो १४ मिनेटमा झरेको उहाँको भनाइ छ । 

सो खण्डको सडक दुई किलोमिटर रहेको छ । याल्वाङ गौँडादेखि इलिङ काँधसम्म ९.५ किलोमिटर सडकको याङ्गारखोलादेखि इलिङ काँधसम्मको सडकको स्तरोन्नति कार्यबाट आफू सन्तुष्ट रहेको बताउँदै हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख बेलबहादुर नेपालीले १० मिटर चौडा सडक निर्माण गरिएको बताउनुभयो ।

उकालो क्षेत्रमा सडक निर्माण गरिएका कारण सडकको दुवैतर्फ ग्याबिन लगाउने कार्य पनि सम्पन्न भएको छ । आगामी असार १९ गतेसम्म सो सडकको सबै कार्य सम्पन्न गर्ने गरी काम तीव्र पारिएको उहाँको भनाइ छ । यो खण्डको सडक निर्माणका लागि हिल्सा–सिमकोट सडक योजनाले २०७९ चैत २० गते कुशेश्वर एजकेएम जनजागृति जेभीसँग सम्झौता भई काम सुरु भएको थियो । वित्तीय प्रगति ५२ प्रतिशत सम्पन्न भएको र भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भएको सो खण्डको निर्माणका लागि योजनाको बजेट २७ करोड  ६९ लाख ८१ हजार रहेको छ ।