• १५ चैत २०८२, आइतबार

विश्व शान्तिका लागि लमजुङमा खुला म्याराथन प्रतियोगिता

blog

गत वर्ष भएको खुला म्याराथनका सहभागीहरु । फाइल तस्बिर

नवीनराज कुइँकेल
लमजुङ, चैत १५ गते ।
विश्व शान्तिको कामना गर्दै यसवर्ष पनि लमजुङमा खुला म्याराथन प्रतियोगिता हुने भएको छ । लमजुङ जेसीस–२०२६ ले यहि चैत २८ गते खुला म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो ।

म्याराथन प्रतियोगिता लमजुङको बेसीसहर नगरपालिका १० मा रहेको पर्यटकिय स्थल पिसहिलबाट सुरु हुनेछ । २६ किलोमिटर दूरीको म्याराथन मर्स्याङ्दी गाउँपालिकाका केही भाग हुँदै बेसीशहर नगरपालिका वडा नं. ३ गाउँसशहरस्थित लमजुङ दरबार पुगेर टुङ्गिनेछ । जेसीजले गतवर्ष पनि प्रतियोगिता आयोजना गरेको थियो । धार्मिक तथा पर्यटकीय सौन्दर्यले भरिपूर्ण पिसहिल र जिल्लाकै ऐतिहासिक एवम् धार्मिक महत्त्वको गाउँहर दरबारलाई म्याराथनका माध्यमले देश विदेशमा चिनाउन प्रतियोगिताको आयोजना गरिएको लमजुङ जेसीसका अध्यक्ष खुशीमाया गुरुङले बताउनुभयो ।

धावकहरु पिसहिलदेखि भुष्मे, हात्तीरुख, सिम्पानी, बेंसीसहर हुँदै गाउँशहर दरबार पुग्नेछन् । विभिन्न स्थानबाट प्रतियोगितामा सहभागि हुने धावक कार्यक्रममा सहभागि हुने दर्शक र सञ्चार माध्यममार्फत पिसहिलको द्वन्द्वकालीन र गाउँसहर दरबारको ऐतिहासिक पक्षको उजागर गर्न सहयोग पुग्ने आयोजक सस्थाले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ४० हजार, पदक र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । गतवर्ष प्रथम पुरस्कार राशी ३० हजार रहेकोमा यसवर्ष १० हजार वृद्धि गरीएको लमजुङ जेसिजका महासचिव शान्ति श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी, दोस्रो हुनेलाई नगद ३० हजार, तेस्रोलाई २० हजार र चौथो स्थान हासिल गर्नेलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागीताका लागि चैत २४ गते सम्म दर्ता गर्ने सक्नेछन् भने दर्ताका लागि एकहजार २०० शुल्क तोकिएको छ ।