• १५ चैत २०८२, आइतबार

वासु शशी स्मृति पुरस्कार प्रदान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १५ गते । कवि, नाटककार तथा साहित्यिक पत्रकार वासु शशीको ९० औँ जन्मजयन्तीका अवसरमा वासु शशी स्मृति परिषद्द्वारा आयोजित कार्यक्रममा विभिन्न साहित्यिक पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा ‘वासु शशी साहित्य पुरस्कार’ साहित्यकार वसन्त चौधरीलाई प्रदान गरिएको छ । त्यस्तै ‘वासु शशी स्रष्टा पुरस्कार–२०८२’ जयदेव भट्टराईलाई र ‘कृष्ण सरस्वती साहित्य पुरस्कार–२०८२’ हरि मञ्जुश्रीलाई समर्पण गरिएको हो । उक्त कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न भएको थियो । पुरस्कारको राशि क्रमशः वासु शशी साहित्य पुरस्कारका लागि २५ हजार रुपियाँ, वासु शशी स्रष्टा पुरस्कारका लागि २१ हजार रुपियाँ तथा कृष्ण–सरस्वती साहित्य पुरस्कारका लागि २५ हजार रुपियाँ रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि गीतकार तथा चलचित्र निर्देशक  यादव खरेलले वासु शशीलाई नम्र, सरल र बहुआयामिक स्रष्टाका रूपमा स्मरण गर्दै उहाँका कृतिहरू पुनः प्रकाशन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

पुरस्कृत स्रष्टाका बारेमा परिषद्का उपाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले प्रकाश पार्दै वसन्त चौधरीको साहित्य, गीतसङ्गीत तथा सांस्कृतिक क्षेत्रमा योगदान उल्लेख गर्नुभयो । उहाँले जयदेव भट्टराईको साहित्यिक पत्रकारिता र अनुसन्धानमुखी लेखन तथा हरि मञ्जुश्रीको सम्पादन, लेखन र प्रकाशन क्षेत्रमा गरेको योगदानको चर्चा गर्नुभयो । विष्णुविभु घिमिरे, राधेश्याम लेकाली र सरस्वती जोशीलगायतको उपस्थिति रहनुभएको कार्यक्रमको सहजीकरण ठाकुर बेल्बासेले गर्नुभएको थियो ।