बनेपा समाचारदाता
बनेपा, चैत १५ गते । साहित्यिक संस्था अक्षरमार्गले शनिबार वसन्त काव्यगोष्ठी–२०८२ मा विभिन्न व्यक्तित्वलाई सम्मानित गरेको छ । अक्षरमार्गले पत्रकार तथा लेखक सुकृत नेपाल, कवि हरिसुन्दर छुकां र साहित्यकार मञ्जुश्री प्रधानलाई सम्मानित गरेको छ । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरे, विशिष्ट अतिथि कवि स्नेह सायमि र वसन्त कविगोष्ठीका संयोजक तथा कवि सूर्यप्रसाद लाकोजूले सम्मानित गर्नुभएको हो ।
कार्यक्रममा पूर्वउपकुलपति डा. घिमिरेले अक्षरमार्गले अक्षर र साहित्यको आलोक देशैभरि फैलाएको बताउनुभयो । उहाँले सम्मानितलाई शुभकामना दिनु हुँदै सबै सम्मानित प्रतिभा कर्मशील भएको उल्लेख गर्नुभयो । अक्षरमार्गले यस्तो कार्यक्रम गर्नका लागि सधैँ नयाँ आयामका साथ अघि बढिरहेको विचार व्यक्त गर्नुभयो । कवि सायमिले पनौती जस्तो पवित्र भूमिमा सम्मानित हुनुभएका व्यक्तित्वको प्रशंसा गर्नुभयो । यो सबै कुरा अक्षरमार्गको चेतनाको कर्मले नै गर्दा पूरा भएको उहाँको भनाइ छ ।
त्यस्तै कवि लाकोजूले कवितामा धेरै ठुलो शक्ति हुने र त्यो शक्तिले सबैको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा सम्मानित स्रष्टालाई सम्मानपत्र, दोसल्ला, नगदसहित सम्मान गरिएको थियो भने काव्यगोष्ठीमा दुई दर्जन कविले आआफ्नो कविता तथा रचना वाचन गर्नुभएको थियो ।