• ७ जेठ २०८१, सोमबार

अधिकांश कैदीबन्दीमा मानसिक समस्या

blog

काठमाडौं, असार ११ गते । केन्द्रीय कारागार अस्पतालमा दैनिक दुई सयभन्दा बढी कैदीबन्दीले बहिरङ्ग (ओपिडी) सेवा लिने गरेका छन् ।अस्पतालका प्रमुख सुपरिन्टेन्डेन्ट डा. प्रकाश बुढाथोकीका अनुसार अस्पतालमा आउने अधिकांश कैदीबन्दी मानसिक समस्या लिएर ओपिडीमा आउने गर्दछन् । 

अस्पतालमा आउनेमध्ये २० प्रतिशत बिरामीमा मानसिक समस्या रहेको डा. बुढाथोकी बताउनुहुन्छ । मानसिक समस्या माहिला कैदीबन्दीमा बढी देखिने गरेको डा. बुढाथोकीको भनाइ छ । कैदीबन्दीहरुको सुताइ र बसाइ नमिल्दा हाडजोर्नीको समस्या दोस्रो प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिने गरेको उहाँ बताउनुहुन्छ । त्यसका अलावा मधुमेहका, उच्च रक्तचाप, मिर्गौलाका बिरामी बढी छन् । पछिल्लो समय क्यान्सरका बिरामी पनि बढ्दै गएको डा. बुढाथोकीको भनाइ छ । त्यसका अलावा उहाँहरूमा मौसमी रुघाखोकी, डेंगु, कोरोनाजस्ता सङ्क्रमण रोग पनि देखिने गरेको छ । 

अस्पतालले विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट २४ घण्टा उपचार गर्ने व्यवस्था मिलाइएको छ । कारागार अस्पतालले पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वार्ड स्थापना गरेर ओपिडी, ल्याब, एक्स-रे, ईसिजी, अल्ट्रासाउण्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा रोगको उपचार गर्ने गरेको डा. बुढाथोकी बताउनुहुन्छ । 

डा. बुढाथोकीका अनुसार कारागार अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई भने अन्य अस्पतालमा पठाउने गरेको छ । रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पताललगायतमा पठाइने डा. बुढाथोकीको भनाइ छ । 

जनशक्ति र पूर्वाधारको अभावले अस्पतालभित्र नै दिन सक्ने सेवा पनि दिन नसकेको डा. बुढाथोकीको गुनासो छ ।  

विशेषज्ञ स्वास्थ्य सेवाका लागि अस्पतालले उपत्यकाका सरकारी तथा गैरसरकारी २१ वटा स्वास्थ्य संस्थासँग कैदीबन्दीको उपचारका लागि सम्झौता गरेको छ । 

उहाँले भन्नुभयो, “शल्यक्रिया, अङ्ग प्रत्यारोपण, क्यान्सरको उपचार, मुटुसँग सम्बन्धित जटिल समस्याका लागि राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पताल, शिक्षण अस्पताल, गङ्गालाल अस्पताल, क्यान्सर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललगायत २१ वटा स्वास्थ्य संस्थासँग सम्झौता गरिएको छ ।”

देशभर बिरामीको यकिन तथ्याङ्क नभए पनि केन्द्रीय कारागारमा तीन हजार ६ सयभन्दा बढी कैदीबन्दीमध्ये  १५ सय कैदीबन्दी  दीर्घ रोगको औषधि खाइरहेका छन् । 

दीर्घरोगीमध्ये १५० भन्दा बढी महिलाको सङ्ख्या छ । उहाँले कारागार अस्पतालबाट दैनिक  २३/२४ जनालाई विशिष्टीकृत उपचार चाहिने भएकाले अन्य अस्पतालमा रिर्फर गर्न गरेको बताउनुभयो ।  

डा. बुढाथोकीका अनुसार, अस्पतालमा मानसिक रोगी बढी आउने हुँदा ३० शय्यामध्ये १० शय्या मानसिक वार्डका लागि छुट्याइएको  छ । त्यस्तै, सङ्क्रमण रोगका लागि आइसोलेसनमा बस्ने गरी तीन शय्या छुट्याइएको डा. बुढाथोकीले जानकारी दिनुभयो । डा. बुढाथोकीका अनुसार बाँकी अन्य शय्या जनरल वार्ड बनाइएको छ ।

हाल ३० शय्याको अस्पताल प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट एघारौँ तहको नेतृत्वमा ६७ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन छ । पन्ध्र शय्याको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेकोमा ३० शय्याको अस्पताल सञ्चालन गर्नका लागि ३६ दरबन्दी थप गरेको हो ।

केन्द्रीय तहमा रहेको केन्द्रीय कारागारमा कैदीबन्दीमा कस्ता–कस्ता स्वास्थ्य समस्या देखिन्छन्  र उनीहरूको उपचार कसरी गर्दैछ भन्ने विषयमा केन्द्रित भएर अस्पतालका प्रमुख सुपरिन्टेन्डेन्ट डा. प्रकाश बुढाथोकीसँग गोरखापत्र अनलाइनका लागि तयार पारिएको  भिडियो संवाद :


भिडियो : मनोजरत्न शाही/केशब गुरुङ



Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।