• २३ वैशाख २०८१, आइतबार

अध्याय र बैभवीको अब्बल यात्रा

blog

भाइबहिनीहरू हामीले जेठ अङ्कको मुनाको आवरणमा अध्याय भण्डारी र सानी नानी विभूति श्रेष्ठलाई देख्न सक्छौँ । अध्याय काठमाडौँको डियर वाक स्कुल सिफलमा कक्षा ९ मा पढ्छन् भने विभूति महामञ्जुश्री स्कुलमा कक्षा ५ मा पढ्छिन् । अध्ययनसँगै उनीहरू दुवै जना  क्षमतावान् र हरेक कुरामा अब्बल छन् ।  

विभूति राम्रो बोल्ने वक्ताका रूपमा तथा अध्याय तवला वादकका रूपमा परिचित छन् ।  वाद्यवादनमा अध्यायको विशेष रुचि छ । सानै उमेरदेखि उनी वाद्यवादनमा निरन्तर साधना गरिरहेका छन् । उनले धेरै ठूला ठूला कार्यक्रममा तबला बजाएर आफूलाई परिचित गराइसकेका छन् । उनले गत वर्ष सिस्नुपानी देउसी/भैलो कार्यक्रमको प्रत्यक्ष प्रसारणमा समेत तबला बजाउने अवसर पाएका थिए । 

त्यस्तै राष्ट्रिय नाचघरमा हुने विभिन्न कार्यक्रममा पनि उनले तबला बजाएर धेरै अनुभव हासिल गरेका छन् । उनी हरेक दिन बिहान एक घण्टा नियमित साधना तथा  अभ्यास गर्ने गर्छन् । सानै उमेरदेखि विद्यालयमा हुने विभिन्न कार्यक्रममा वाद्यवादनमा सहभागी भएर अध्यायले धेरै पटक पुरस्कार पनि पाइसकेका छन् । भविष्यमा राम्रो तबला वादक बन्ने उनको सोच छ । अध्यायको विचारमा विद्यालय शिक्षाबाहेक पनि फुर्सदको समयमा धेरै अतिरिक्त क्रियाकलापमा भाग लिन सकिन्छ । आफूभित्र लुकेको प्रतिभा र क्षमता समयमै पहिल्याए मात्र अगाडि बढ्न सकिने उनको बुझाइ थियो । 

त्यस्तै बैभवी श्रेष्ठलाई भने विभिन्न स्टेज कार्यक्रममा बोल्न  मन पर्छ । उनी निकै राम्रो बोल्ने र तार्किक विषयहरूमा वक्तृत्वकलामा भाग लिने गर्छिन् । विद्यालयस्तरीय प्रतियोगिताहरूमा उनको उत्कृष्ट प्रस्तुतिका कारण धेरै पटक पुरस्कृत हुने अवसर पाएकी छिन् । गत वर्षको जुनियर स्कुल प्रिन्सेस प्रतियोगितामा बैभवीले मिस ट्यालेन्ट विधामा अवार्ड जितेकी थिइन् । त्यसलगत्तै उनले जनचेतनामूलक बालबालिकासम्बन्धी विज्ञापनमा पनि अभिनय गर्ने अवसर पाइन् । 

विद्यालयस्तरीय पौडी प्रतियोगिता, फेसन सो र आर्ट प्रतियोगिताहरूमा पनि भाग लिएर बैभवीले धेरै पटक पुरस्कारस्वरूप नगद जितेकी छिन् । उमेरले साना भए पनि अत्यन्तै जिज्ञासु र हरेक कुरामा बोल्न र भाग लिन अघि सरिहाल्ने बैभवी विद्यालयमा पनि अनुशासित र प्रतिभाशाली विद्यार्थीका रूपमा परिचित छिन् । विद्यालयमा आयोजित कार्यक्रममा गीत गाएर पनि पुरस्कार पाएको रमाइलो अनुभव सुनाउँदै बैभवीले भनिन, “सबै कुरा गर्न सक्छुजस्तो लाग्छ । भाग लिन्छु तर कहिल्यै हारेको छैन । केही न केही जितेकै हुन्छु ।” पढाइको मात्र भर परेर बस्न नहुने र विद्यार्थी उमेर सिक्ने भएकाले पढाइसँगै धेरै कुरा सिक्ने पनि उनले बताइन् ।