शैलुङबाट तलतिर झर्नु भन्दिनु
हाम्रोतिर बसाइँ अब सर्नु भन्दिनु...
यो डाँडा शैलुङ डाँडा ... सय वटा थुम्काले बनेको यो शैलुङ डाँडा आहा ! आहा...
शैलुङको डाँडाको त्यो सय थुम्काले
मोहनी लायो मायाको कानैको झुम्काले.. यस्ता छोटो मीठो शैलुङको सुन्दरतालाई बयान गरिएको सानो सानो भिडियोहरु टिकटकमा अहिले मिलियनभन्दा बढी दर्शकले रुचाएका छन् । जसमा बयान गरेरै नसकिने शैलुङको थुम्काहरुको अपार सुन्दरता झलक्कै झल्किएको देख्न सकिन्छ । त्यो प्राकृतिक सुन्दरता र मोहनी लगाउने सौन्दर्य वास्तवमै प्रकृतिका सुन्दर उपहारहरू हुन् । जसलाई कविले कविताहरूमा साहित्यकारहरूले आफ्ना सुन्दर सिर्जनाहरूमा शब्दमार्फत अभिव्यक्त गरेका छन् । त्यस्तै, शैलुङको सम्झना गराउने कवि श्रवण मुकारुङको एउटा गीत जुन कालजयी बनेर रहिरहेको छ ।

माथि माथि शैलुंगेमा चौंरी डुलाउनेलाई
हत्केलामा मायालुको गुराँस फुलाउनेलाई... यो गीतले यतिबेला शैलुङको पर्यटकीय आकर्षणसँगै सामाजिक सञ्जालमा अत्यन्तै चर्चा पाएको छ । रामेछाप र दोलखा जिल्लाको सीमा क्षेत्रको यो आकर्षक सय थुम्काहरुको अनौठो बनावटमा झल्किने मनोरम अनि रमणीय सुन्दरता जति पटक शैलुङ टेक्नेहरूका लागि पनि मनै लोभ्याउने खालको छ । झन बिहानीपख सूर्योदय हुनै लाग्दाको मनोरम दृश्यहरू र सूर्यको किरणले राताम्य देखिने वरपरको डाँडाहरुको सुन्दरताको बयान गरेरै सकिँदैन ।

कहिले यता कहिले उतातिरबाट सिरिरिरी बहने चिसो हावाको मीठो बेगको स्पर्शसँगै आँखै अगाडिका अनौठो बनावटका शैलुङका थुम्काहरू हेर्दे मनलाई आनन्दित गर्नुको मज्जा नै फेरि बेग्लै छ । परैबाट देखिने माथिल्लो थुम्कामा रहेको आर्कषक अनि कलात्मक ठुलो बौद्ध गुम्बाको परिसरमा गोरखापत्र संस्थानद्वारा आयोजित कार्यक्रमको तयारी हुँदै गर्दा उपस्थित सबैलाई बेग्लै आनन्दको अनुभूति भइरहेको थियो । आहा ! कस्तो थुम्काहरूको अनौठो बनावट अनि एउटाबाट अर्कौ थुम्कासम्मको ओरालो उकालोको मनोरमतामै सबैको आँखा टिकिरहेको थियो । फेरि उक्लेर थुम्कासम्म आइपुग्दा बाटोमा भेटिने केही ऐतिहासिक दस्तावेजहरू साँच्चै नै ऐतिहासिक लाग्थे । बिहानपख उकालो उक्लँदै गर्दा देखिएको मनोरम सूर्याेदयको दृश्य कम्ता लोभलाग्दो थिएन । यो रमाइलो ठाँउमा शैलुङ गाउँपालिका तथा शैलुङ पर्यटन बजार टोल विकास कालापानीले गोरखापत्रलाई साहित्य सम्मेलनका लागि प्रस्ताव गर्नु नै दुबैका लागि आपसी साथ, सहयोग र पर्यटन प्रवर्धन र प्रचारप्रसारका लागि राम्रो संयोग नै मान्नुपर्छ । शैलुङको थुम्कामा आयोजित पर्यटनका लागि साहित्यः गोरखापत्र साहित्य सम्मेलनमा स्थानीयको निकै उत्साहजनक सहभागिता थियो ।

स्थानीय महिला समूहले बाजा बजाएर गोरखापत्रकर्मी तथा साहित्यकारहरूलाई स्वागत गर्दा उपस्थित सबैको मन अगाध माया र आतिथ्यको मन्द मिठासले रमाइरहेको थियो । कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पर्यटन प्रवर्धनका लागि गरिएको उक्त कार्यक्रम शैलुङको स्थानीय पर्यटन प्रवर्धनका लागि मात्र नभएर विश्वसामु नै यहाँकोे धार्मिक, ऐतिहासिक र पर्यटकीय प्रवर्धनका लागि सहयोग पुग्ने बताउनुभयो । शैलुङको सुन्दरता र ऐतिहासिक कुराहरुलाई आउने दिनहरुमा साहित्यमार्फत सिर्जनात्मकरुपमा पनि अभिव्यक्त गरेर यो ठाउँको सुन्दरतालाई अझ जीवन्त राख्न सकिने उहाँको धारणा थियो । शैलुङवासीले देखाउनुभएको अथाह माया, प्रेम र सद्भावका लागि अभार व्यक्त गर्दे महाप्रबन्धक ऐरीले शैलुङ गाउँपालिका तथा शैलुङ पर्यटन तथा कालापानी बजार टोल विकास संस्थालाई हृदयदेखि नै आभार व्यक्त गर्नुभयो । यसैगरी, मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्लेले शैलुङको रमणीय सौन्दर्यको चर्चा गर्दे धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको शैलुङको माटोसँग मन जोडने यो कार्यक्रम गोरखापत्र संस्थानका लागि पनि ऐतिहासिक भएर रहने बताउनुभयो ।

शैलुङ गाउँपालिकाका तथा कालापानीका स्थानीयको अगाध माया र सद्भावप्रति अभार प्रकट गर्दे सम्पादक वाग्लेले भन्नुभयो, ‘‘हामी आउँदा खाली मन लिएर आएका थियौं । अब यहाँको माटोसँग मन जोडिएको छ तर फर्कंदा शैलुङको माया र सम्झना मनभरि मुटुभरि लिएर जानेछौं, शब्दमा लेख्नेछौं, सिर्जनामा अभिव्यक्त गर्नेछौं ।’’ मधुपर्कले शैलुङलाई उज्यालो पार्न खोजेको होइन । शैलुङ आफैँमा उज्यालो छ, तर उज्यालो सूर्यलाई पनि बत्ति बालिए जस्तै हामीले शैलुङलाई पनि मधुपर्कमार्फत यहाँको सौन्दर्यको प्रचारप्रसार गर्न मात्र खोजेका हौं । यहाँको पवित्र माटोसँग यहाँको प्रकृति, सौन्दर्य र पर्यटकीय स्थलहरुको स्थानीय तथा राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धन र प्रचारप्रसारका लागि गोरखापत्र सधैं साथमै रहेको पनि उहाँले बताउनुभयो ।
सो सम्मेलनको अर्को आकर्षण कवि तथा साहित्यकारहरुको कविता वाचन थियो । स्थानीय दुर्गा माविमा अध्ययनरत विद्यार्थी स्थानीय कवि तथा साहित्यकारले कविता वाचन गर्दा शब्दहरुको मिठासले आनन्दित बनेको मनलाई त्योे उचाइमा बहिरहेको चिसो हावाले प्राण भरिरहेको आभाष दिलाएको थियो । काठमाडौँबाट आएका कविहरुले आ आफ्ना रचना वाचन गरी गौरीशङ्कर हिमाललाई टाढैबाट साक्षी राखेर मनोरम शैलुङलाई साहित्यमय बनाएका थिए ।

गोरखापत्रका प्रधानसम्पादक जुनारबाबु बस्नेतको समभापतित्वमा भएको कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, शैलुङ गाउँपालिकाका वडा नं ८ का वडाध्यक्ष धनबहादुर तामाङ, कालापानी टोल बजार समितिका अध्यक्ष रुद्र थपलिया स्थानीय समाजसेवीलगायतले पर्यटन प्रवर्धनका लागि शैलुङमा आयोजना गरिएको गोरखापत्र साहित्य सम्मेलन अत्यन्तै फलदायी भएको चर्चा गर्दे शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीयले माला लगाएर, महिलाहरुले पञ्चेबाजा बजाएर स्वागत गर्दै बजार परिक्रमा गराउँदै शैलुङको थुम्कोसम्म पुर्याउँदाको रमाइलो शब्दमा व्यक्त गर्दा शायदै कमी होला । करिब ३१०० फिटको उचाइमा रहेको शैलुङको थुम्कोस्थित बुद्धको गुम्बाकाे मनोरम दृश्यलाई नियाल्दै गोरखापत्र साहित्य सम्मेलनको कार्यक्रमको बिट मारिएको थियो । आशा गरौं अब त्यहाँ देखिएका प्रकृति र सुन्दरताबाहेक अन्य लुकेका सौन्दर्यहरू कवि तथा साहित्यकारका आँखामा फुल्नेछन् र सिर्जनामा पक्कै पनि सजिनेछन् । अभिव्यक्त हुनेछन् । देश विदेशसम्मैका पाठकले शैलुङको सुन्दरतालाई मनन गर्न पाउनेछन् ।
पछिल्लो समय शैलुङ पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुमा निर्माणाधीन शैलुङ ग्रेटवाल पनि हो । डाँडामा फैलिएको ग्रेटवालमा चारैतिर हिमाल हेर्दे हिँड्नुको आनन्दको बयान गरेरै सकिँदैन । काठमाडौँको जडीबुटी बस स्टेशनबाट चार घण्टाको दूरीमा नै शैलुङ पुग्न सकिने भएकाले पनि यहाँको यात्रा अधिकांशको लागि पहिलो रोजाइमा पर्ने रहेछ । त्यस्तै यहाँको आलु, चौंरीको घिउ, छुर्पी, किवी पनि शैलुङलाई सम्झिरहने कुराहरु हुन् । धार्मिक दृष्टिकोणबाट पनि यहाँको कामेश्वर गुफा, शैलुङ्गेश्वर महादेव, धर्मद्वार अनि १२ वर्षमा लाग्ने गोदावरी मेला पनि यहाँको महत्त्वपूर्ण धार्मिक यात्राको गन्तव्य हाे । शैलुङ सौन्दर्यको यो उचाइ यहाँको बोन संस्कृति, बौद्ध धर्म, वर्षौदेखिका रीतिथिति र धर्म संस्कृतिहरूको जीवन्त प्रस्तुतिका कारण पनि उँचो रहिरहेको छ ।

कार्यक्रमको अन्त्यमा उही महिला टोली फेरि थुम्काबाट ओरालो झर्दा पनि उस्तै मीठो गीत र पञ्चेबाजा घन्काउँदै रमाइला रमाइला गीतका टुक्का गाउँदै ओरोलो झर्यो । बाटो छोट्टिंदै थियो । कसैलाई पत्तै थिएन । बाजामा रमाइरमाई नाच्न पाउँदाको रमाइलोले उकालो चढ्दाको दुःख ओरालो झर्दा सबैलाई बिर्साएको थियो । कति छिट्टै गन्तव्य आयो पत्तै भएन तर गन्तव्य आउनै लाग्दा हामीहरूलाई भने पञ्चेबाजासँगै बजेको एउटा गीतले मनमा कता कता नरमाइलो बनाइरह्यो ।
सेतो सेतो हे माया कमेरो माटो
झल्को आउँछ नहिंड यो बाटो ... बाजा टिमले यही गीतको टुक्कासँगै हामीलाई फेरि छिट्टै भेट्ने आशामा बिदाइ गर्नुभयो । अनि त्यो बाटो, त्यो माटो, ती थुम्काहरू र त्यही मायालु मनहरूलाई सम्झँदै फेरि जीवनको कुनै मोडमा भेट्ने आशासहित मनभरि अनि मुटुभरि शैलुङको झझल्को लिएर फर्कियौं ।








