• ८ मंसिर २०८१, शनिबार

एउटै विद्यालय

अनेकौँ सपना खोज्दै विद्यार्थी

blog

नन्दी रात्रि माध्यमिक विद्यालय । विद्यालय उस्तै । पढ्ने बिद्यार्थी र समय तालिका भने अलग्गै । जब साँझ पर्छ विद्यालयको पढाइ सुरु हुन्छ । उमेर पुगेका पाका र साना केटाकेटी एकैसाथ पढिरहेका । झमक्कै साँझ परिरहेको समयमा हरेक कक्षाकोठामा देखिन्थ्यो उस्तै उस्तै दृश्य । विद्यालय भए पनि अन्य विद्यालयभन्दा फरक यहाँको वातावरण बुझ्दै जाँदा अत्यन्तै रमाइलो खालको थियो । जहाँ १२ वर्षका बालबालिकासँगै ५० वर्ष उमेरका विद्यार्थी पनि उत्तिकै जोश, जाँगर र उत्साहका साथ विद्यालय आउने र पढ्ने गर्छन् ।  

दिनभरि अरूको घरमा काम गर्ने श्रमिक, ज्यालादारी र मजदुरी गरेर काठमाडौँमा बस्दै आएका बालबालिका अत्यन्तै सङ्घर्षका बीच यस विद्यालयमा आफ्नो सुनौलो भविष्य खोजिरहेका थिए ।   समय, बाध्यता र आ–आफ्नो फरक–फरक परिस्थिति भए पनि उनीहरूबीचको पढ्ने रहर र चाहनामा कसैका लािग पनि उमेर बाधक थिएन । 

विभिन्न कारण बीचैमा पढाइ छुटेका, पढ्न नपाएका र दिनभरि काम गरेर परिवार पाल्नुपर्ने अवस्थाका साना ठूला विद्यार्थीका लागि पढ्ने रहर पूरा गरिदिने काठमाडौमा नन्दी रात्रि मावि एक मात्र  विद्यालय छ । जहाँ बेलुका ५ बजेदेखि राति ९ बजेसम्म पढाइ हुने गर्छ । प्रायः आर्थिक अवस्था कमजोर भएका र कामको खोजीमा काठमाडौँ आएका बालबालिका रात्रिकालीन पढाइ हुने यस विद्यालयमा पढ्ने गर्छन् । योबाहेक छोराछोरी हुर्काएर, घरव्यवहार मिलाएर भए पनि पढ्ने रहर भएकाहरूका लागि यस विद्यलायले ठूलो अवसर प्रदान गरेको छ ।

नेपालकै पहिलो नन्दी रात्रि विद्यालय

काठमाडौँ महानगरपालिका–१, नक्सालमा रहेको विद्यालयको पहेँलो र सेतो रङको दुई तले भवन ‘नन्दी रात्रि माध्यमिक विद्यालय’ हो । पहिले १० कक्षासम्म मात्र पढाइ हुने यस विद्यालयमा २०७६ सालबाट भने ११ र १२ को पनि पढाइ हुँदै आएको छ । गत वर्ष यस विद्यालयमा विभिन्न उमेर समूहका ३० जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका थिए । 

यस विद्यालयमा भर्ना भएर कुनै पनि कक्षामा अध्ययन गर्न कुनै उमेरको मापदण्ड छैन । विद्यालयमा कक्षा ६ देखि १२ कक्षासँम्म २५० जना विद्यार्थी अध्ययनरत छन् । यहाँ १२ वर्षदेखि ५५ वर्षसम्मका विद्यार्थीहरू सँगै बसेर मिलेर पढ्ने गर्छन् । 

१२ जना शिक्षकशिक्षिका भएको यस विद्यालयमा नेपाल प्रहरी, आर्मी, व्यवसायी, कर्मचारीलगायत कार्यालय समयपछि र घरको काम सकेर विद्यालय आउने गृहिणी महिलाहरू  अन्य साना उमेरका विद्यार्थीको तुलनामा धेरै छन् । नेपालकै पहिलो राति पढाइ हुने यस विद्यालय नेपालकै नमुना विद्यालय हो । ७४ वर्ष पहिले स्वर्गीय रामजीप्रसाद अर्यालले नन्दी रात्रि विद्यालयको स्थापना गर्नुभएको हो । अर्यालले नक्साल वरिपरिका बालबालिका तथा महिलालाई पढाउन यो विद्यालय स्थापना गर्नुभएको र पछि प्रौढ कक्षा सञ्चालन गर्दागर्दै विद्यालय बनाएको पाइन्छ ।

विद्यार्थीका अनुभव

नन्दी रात्रि विद्यालयमा फरक–फरक उमेर समूहका विद्यार्थीहरूसँगै बसेर पढ्ने हुँदा उमेरअनुसारका दुःख, सङ्घर्ष र अनुभव पनि फरक–फरक थिए । बच्चाहरूमा सिक्ने क्षमता र जिज्ञासा बढी हुने गर्छ भने पाकाहरू बढी मेहनत गर्ने गर्छन् । शिक्षकले उमेरअनुसार नै   पारिवारिक तरिकाले सहज हुने गरी व्यावहारिक ढङ्गबाट पढाउँदै आउनुभएको छ । दैलेखबाट कामको खोजीमा चार वर्षअघि काठमाडौँ आएका प्रेमराज सिम्खडा कक्षा ८ मा अध्ययनरत छन् । गाउँको स्थानीय विद्यालयमा ६ कक्षा पढ्दा पढ्दै काठमाडौँ आएका प्रेमराजले विद्यालय पढ्नका लागि गरेको सङ्घर्षको कथा धेरै नै दुःखदायी छ । बेलुका हस्याङफस्याङ गर्दै जोरपाटीदेखि साइकल चलाएर उनी विद्यालय आइपुग्छन् । उनी कसैको घरमा काम गर्न बसेका छन् । घरको दैनिक काम सकेर  ५ बजे विद्यालय आइपुग्ने प्रेमलाई बेलुका ९ बजे विद्यालय सकेर घर फर्किंदा १० बज्ने गर्छ । यो बीचमा पढ्नकै लागि उनले गरेका दुःख सहज थिएनन् । आमाबाबाको न्यानो काखमा रमाएर पढ्ने मात्र काम गर्दा पनि  विद्यालय जान अनि पढ्न गाह्रो मान्नेहरूका लागि प्रेम एउटा राम्रो उदाहरण हुन् । उनको थकित अनुहारमा पढेर भोलि ठूलो मान्छे बन्ने धेरै उत्साह र रहर थिए । 

यस्तै नजिकै उनका साथी थिए दिनेश । काभ्रे स्थायी घरभएका दिनेश पनि दिनभरि बेकरीमा काम गर्छन् । भक्तपुरदेखि विद्यालय आउने जाने गर्दाका उनका दुःख पनि कम थिएनन् । कहिलकाहीँ  निद्रा लागेर पढ्नै सकिँदैन । बाटोमा जाँदा जाँदै  भोक  लाग्छ । पठाओमा हिँड्न सधैँ पैसा हुँदैन । मुनासँगको कुराकानीको क्रममा रमेशले धेरै कुरा हामीलाई सुनाए । 

परिवारमा आर्थिक अभाव थियो । गाउँमा राम्ररी विद्यालय पढ्न पनि पाइन । उनले भने, “धन्न राति भए पनि पढ्ने विद्यालय छ र हामीजस्ता विद्यार्थीले पढ्न पाएका छौ ।” उनले विद्यालयलाई धन्यवाद दिँदै भने, दिनभरि काम गरेर राति पढ्न पाएका छौँ । त्यही हामीजस्ता विद्यार्थीका लािग ठूलो कुरा हो । यस विद्यालयमा अध्ययनरत अधिकांशका समस्या सबैको उस्तै उस्तै थियो । उमेर पुगेर पढ्न आएकाहरूका लागि भने उमेरमै पढ्न नपाएका धेरै दुःखहरू थिए । घरको काम या कार्यालय सकेर पढेर राति घर फर्किंदाका धेरै अप्ठेरा भए पनि सबैको लक्ष्य र उद्देश्य भने पढ्ने रहर पूरा गर्नु नै थियो । 

व्यावहारिक शिक्षा

यस विद्यालयको अत्यन्तै राम्रो पक्ष यहाँँको व्यावहारिक शिक्षा हो । यहाँ सँगै पढ्ने ठूलाले सानालाई अनुशासन, आदर, सत्कार, व्यवहार र अन्य धेरै कुरा सिकाउने गर्छन् भने सानाले ठूलालाई पढ्नका लागि सहयोग गर्ने गर्छन् । अध्ययन अध्यापनसँगै दुःखसुखलगायत जीवनका हरेक गतिविधिमा विद्यार्थी र शिक्षकबीच पनि एकआपसमा मेलमिलापको वातावरण रहेको छ । यहाँ  भर्ना भएका विद्यार्थीमा विद्यालय छाड्ने क्रम न्यून छ । मनभित्र दृढ इच्छाशक्ति भए कुनै पनि कुरा बाधक बन्दैनन् भन्ने कुरा यहाँ अध्ययनरत विद्यार्थीको दैनिकीबाट हामीले पनि सिक्न सक्छौँ । जुनसुकै उमेरमा भए पनि शिक्षाको ज्ञान लिनु ठूलो कुरा हो । मान्छे बूढो भए पनि ज्ञान कहिल्यै पुरानो हुँदैन र बूढो हुँदैन भन्ने कुरा यहाँ अध्ययनरत पाका व्यक्तिको अनुभवबाट पनि बुझ्न सकिन्छ । 

विद्यालयमा पर्याप्त साधन स्रोतको अभाव

राति पढाइ हुने भएकाले यस विद्यालयमा विद्यार्थीका लागि गरिने अतिरिक्त क्रियाकलाप त्यति हुँदैनन । उमेर धेरै र थोरै भएकाले पनि कुन खेल खेलाउने र कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा नै अलमल हुने गरेको शिक्षक दीपक अर्याल बताउनुहुन्छ । 

विद्यालयमा  पढाइ सकिँदा अन्धकार हुन्छ । टाढा–टाढाबाट विद्यार्थी आउने हुनाले पढाइमा अलमल गर्न नै मिल्दैन । कतिपय साना विद्यार्थी पढ्दा पढ्दै  कक्षामा निदाउने गर्छन् । कहिलेकाहीँ फरक–फरक क्रियाकलाप हुने हो भने विद्यार्थी पनि खुसी हुन्थे । रातिको विद्यालय भनेर यहाँ फुटबल, भलिबललगायतका खेल खेलाउने, नृत्य र  सङ्गीतका कक्षा छैन । 

केही रमाइलो कक्षा सञ्चालन हुने हो भने विद्यार्थीले फरक खालको वातावरण पाउने शिक्षक अर्यालको भनाइ थियो । समय–समयमा हाजिरी जवाफ, वक्तृत्वकला, शैक्षिक भ्रमणका कार्यक्रम हुने गर्छ तर अन्य कार्यका लागि विद्यालयमा पर्याप्त साधन स्रोतको अभाव छ । 

साना उमेरका बालबालिका यस्ता क्रियाकलापमा धेरै नै रुचि राख्ने गरेको पनि उहाँले बताउनुभयो । कुराकानीको क्रममा  कक्षा ९ मा अध्ययनरत विद्यार्थी रिशभ बानियाँले आफूलाई कम्प्युटर चलाउन अत्यन्तै रुचि भएको तर विद्यालयमा कम्प्युटर देख्न पनि नपाएको बताउनुभयो । विद्यालयमा धेरै अतिरिक्त क्रियाकलापमा भाग लिन नपाएको अधिकांश  विद्यार्थीको गुनासो थियो । विद्यालयले हप्ताको दुई दिन चित्रकलाको कक्षा भने सञ्चालन गर्दै आएको छ । 

‘देशकै नमुना विद्यालय बनाउन सकिन्छ’ 




प्रधानाध्यापक राजेश हुमागाई 

उमेर र लैङ्गिक दृष्टिले अन्य विद्यालयसँग तुलना गर्न नमिल्ने भएकाले यो विद्यालय उपत्यकाकै नमूना विद्यालय हो । नेपालकै पहिलो राती पढाई हुने यस नन्दी माविलाई विशेष विद्यालय घोषणा गरेर सेवा तथा सुविधाहरु थप गर्न विद्यालयको तर्फबाट पहल भइरहेको प्रधानाध्यापक राजेश हुमागाइँ बताउनुहुन्छ । यस विद्यालयमा धेरै समस्याहरू छन् ।  दिउँसो पढाई हुने नन्दी मावि र रात्री पढाई हुने एउटै भवन छ । अलगै भवन नहुँदा पनि समस्या छ । स्टाफ कक्षा र कक्षा कोठा सँगै छन् । विद्यार्थीहरूका लागि ल्याव कोठा, कम्प्यूटर कक्षा र पुस्तकालय छैन । सबैभन्दा महŒवपूर्ण कुरा टाढा टाढादेखि आउने साना ठूला विद्यार्थीहरू राती ९ बजेसम्म पढ्छन् । रातीको समय भएकाले विद्यार्थीहरू थाक्ने र भोकाउने समस्या छ । प्रधानाध्यापक हुमागाइँकाअनुसार सरकारले दिने खाजा समान रुपमा वितरण हुने हो राती पढने विदार्थीहरूको अध्ययनमा अझै रुचि बढ्ने छ । कक्षा कोठामा विद्य्रार्थीहरू फुर्तिलो देखिन्थे । राती पढाई हुने विद्यालय र विद्यार्थीहरूलाई अझै धेरै सेवा सविधाहरू उपलब्ध गराउन सके यो विद्यालय देशकै नमूना विद्यालय बनाउन सकिन्छ । दिउँसोको समयमा भन्दा राती हल्ला कम हुने र शान्त वातावरणमा पठनपाठन हुने भएकाले खाजा खान दिनसके विद्याथीहरूमा थकान कम हुने र अध्ययन अध्यापन प्रभावकारी हुने उहाँको भनाई थियो ।