• २९ कात्तिक २०८२, शनिबार

महाकवि देवकोटा क्याम्पस र सर्वोत्तम सिमेन्टबिच रोजगार सम्झौता

blog

महाकवि देवकोटा क्याम्पसका प्रतिनिधि र सर्वोत्तम सिमेन्ट उद्योगका प्रतिनिधिबिच गरिएको सम्झौता । तस्बिर पुरुषोत्तम सुबेदी

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, कात्तिक २९ गते ।
पश्चिम नवलपरासीको सुनवलस्थित महाकवि देवकोटा क्याम्पसबाट पढाइ सकेपछि प्रत्येक वर्ष चार (४) जना दक्ष जनशक्तिलाई सर्वोत्तम सिमेन्ट उद्योग प्राइभेट लिमिटेडले रोजगारी प्रदान गर्ने सम्झौता भएको छ ।

क्याम्पसका विद्यार्थीहरूलाई लक्षित गरी महाकवि देवकोटा क्याम्पस र सर्वोत्तम सिमेन्ट उद्योग प्राइभेट लिमिटेडबिच गरिएको सम्झौताअनुसार  उद्योगले क्याम्पसबाट  हरेक वर्ष चार जना दक्ष जनशक्तिलाई उद्योगमा रोजगारी दिनेछ ।

सर्वोत्तम सिमेन्ट उद्योगका महाप्रबन्धक नेत्र घिमिरेका अनुसार यसले एकातिर स्थानीय युवाहरूलाई रोजगारीको अवसर मिल्छ भने अर्कोतिर उद्योगले पनि योग्य र तालिमप्राप्त कर्मचारीहरू पाउँछ । हाम्रो लक्ष्य भनेको क्याम्पसबाट उत्पादित जनशक्तिलाई पलायन हुनबाट रोकेर उनीहरूको सीप र ज्ञानलाई यहीँ उपयोग गर्नु हो ।

“क्याम्पसले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक सीपमा दक्ष बनाउँदै आएको छ । सर्वोत्तम सिमेन्टसँगको यो रोजगार सम्झौता हाम्रो शैक्षिक प्रयासको सफलता हो । क्याम्पस सञ्चालन समितिका अध्यक्ष, कृष्ण लामिछानेका अनुसार विद्यार्थीहरूलाई क्याम्पसको पढाइ सकेपछि रोजगारीको ग्यारेन्टी दिन्छ । यो सहकार्यले क्याम्पसको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

उद्योको मुख्य काराखाना सुनवल–११ मा रहेको छ । यो सम्झौता पश्चिम नवलपरासी क्षेत्रका विद्यार्थीहरूको लागि केहि भए पनि राहतको विषय बनेको छ । उच्च शिक्षा हासिल गरिसकेपछि रोजगारीका लागि भौँतारिनु पर्ने बाध्यतालाई यसले केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ ।

शैक्षिक संस्थाले उद्योगको आवश्यकताअनुसारको जनशक्ति उत्पादन गर्ने र उद्योगले सोही जनशक्तिलाई प्राथमिकताका साथ रोजगारी दिने यो मोडेल अन्य शैक्षिक संस्था र उद्योगहरूका लागि पनि अनुकरणीय हुन सक्छ ।