अमरराज नहर्की
तनहुँ, जेठ ३० गते। तनहुँमा प्लाष्टिकको बोराभित्र मङ्गलबार दिउँसो महिलाको शव फेला परेको छ।
व्यास नगरपालिका–४ गुरुङ चियान डाँडा स्थित सुवर्ण मार्ग कच्ची सडकमा शव फेला परेको प्रहरीले जनाएको छ। अन्दाजी २०, २२ वर्षीया महिलाको शव फेला परेको हो।
मंगलबार साँझ सम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो। उक्त मार्गको कच्ची सडकको कुनामा रहेको ढलको पानी निकासको लागि बिछ्याइएको पाइपमा शव फेला परेको उहाँले जानकारी दिनुभयो।
घटनाको प्रकृति हेर्दा हत्या गरेर फ्याँकेको देखिएको खाणले जानकारी दिनुभयो। शवलाई पोष्टमार्टमको लागि दमौली अस्पतालमा राखिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।