• २७ पुस २०८१, शनिबार

छ वर्षपछि नगरपालिकाकाे आफ्नै भवन

blog

रास्कोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन । तस्विर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, जेठ ५ गते । कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । सङ्घीय सरकारको लगानीमा नगरपालिकाको सुविधा सम्पन्न भवन निर्माण भएपछि आफ्नै प्रशासनिक भवनवाट सेवा सुचारु गरेको हो । 

नगरका प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बमले भवन सम्पन्न भएपछि सेवा प्रवाहमा सहज भएको बताउनुभयो । प्रमुख बमले विगत ६ वर्षसम्म साँगुरो टिनले छाएका ससाना कोठाबाट सेवा दिनु र सुविधा सम्पन्न भवनबाट सेवा दिनुमा धेरै फरक पर्ने बताउनुभयो । 

"अब सेवाग्राहीलाई पनि असहज छैन । नत्र कुनै आयोजनाका बारेमा कुरा गर्दा कोठामा दुई जनासम्म बस्न नमिल्ने भएकाले खुला चौरमा आउनु पर्ने अवस्था थियो । नयाँ भवन सम्पन्न भयर सेवा सुरु गरेसँगै पुराना समस्याबाट छुटकारा पाएको हो," उहाँले भन्नुभयो । 

तीन तलाको भवनमा सबै शाखा छन् । प्रशासनिक भवन सङ्घीय सरकार तथा नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो । रास्कोट नगरपालिकाका इन्जिनियर नरेशबहादुर शाहीले सङ्घ सरकार र नगर सरकारको संयुक्त लगानीमा भवन बनेको बताउनुभयो । उहाँले पाँच करोड बढीको ठेक्का भएपनि निर्माण व्यवसायीले ठेक्का घटेका कारणले भवन निर्माणका लागि तीन करोड ३९ लाख खर्च भएको बताउनुभयो । 

यसमा सङ्घ  सरकार र नगर सरकारको बराबर लगानी छ । तीन वर्ष अगाडी ठेक्का सम्झौता भएपनि कोरोना र स्थानीय तहको निर्वाचनका कारणले केही निर्माणमा भने ढिलाइ भएको हो । 

यस्तै, चार तलाको भवनमा सबै शाखाले सेवा दिइरहेका छन् । बैठक हल देखि विभिन्न शाखा र नगर प्रमुख उपप्रमुखका कार्यकक्षसमेत उक्त भवनभित्र व्यवस्थापन गरिएको छ ।