• १४ वैशाख २०८१, शुक्रबार

धौलागिरि हिमालमा बेपत्ता भरियाको शव फेला

blog

तस्बिर: गोरखापत्र (फाइल फाेटाे)

साधन घर्ती  

म्याग्दी (दरबाङ), वैशाख १२ गते । धौलागिरि हिमालको आधार शिविरमा आरोहीको सामान पुर्‍याएर फर्किने क्रममा बेपत्ता हुनुभएका अमृत राईको शव फेला परेको छ । म्याग्दीस्थित धौलागिरि बेसक्यापको स्विस क्याम्पमाथि झन्डै ५ हजार मिटर उचाइको जापानी बेसक्याम्प नजिक ट्रेकिङ भरिया राईको शव भेटिएको हो ।

आधार शिविरबाट फर्कने क्रममा शुक्रबार साँझ बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शनिबार जीवितै उद्धार भएको थियो । सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–१, नुथला फेलेलीका २० वर्षीय अमृत राईको शव मङ्गलबार आधार शिविरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

सेभेन समिट ट्रेक काठमाडौंबाट भरियाको रूपमा आउनुभएका उहाँहरू जापानी आधार शिविर नजिकै हिउँपहिरोमा पर्नुभएको थियो । मङ्गलबार बिहान एभरेष्ट एयरको हेलिकप्टरबाट धवलागिरि गाउँपालिका –७, ताकम ल्याइएको राईको शव बेनी हुँदै काठमाडौं गाडीमा पठाइएको उद्धारका लागि आधार शिविर पुगेर फर्किनुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले बताउनुभयो ।

अमृतसँगै बेपत्ता हुनुभएका सोलुखुम्बुको सोलदूधकुण्ड नगरपालिका–१, का धिरज राई र अर्जुन राईको शनिबार शेर्पाहरूको टोलीले सकुशल उद्धार गरेर इटली आधार शिविरमा लगेका थिए । संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ ।