काठमाडौं, वैशाख ८ गते । रेलको बाटो, नुनको भारी जस्ता चर्चित गीतका कलाकार हुनुहुन्छ लक्ष्मण देवकोटा । यी गीतमा आफूले सशक्त अभिनय दिएर चर्चा बटुल्नुभएका कलाकार देवकोटा विगत आठ वर्षदेखि कलाकारितामा लाग्नु भएता पनि दर्शकले उहाँलाई चिन्नु भएको दुई वर्ष मात्रै भएको उहाँको अनुभव छ ।
डोल्पाको विकट ठाउँमा जन्मिनु भएका कलाकार देवकोटाको जीवन सङ्घर्षमय छ । उहाँमा सानैदेखि कलाकार बन्ने सपना थियो । तर लक्ष्मणका लागि कलाकार बन्ने बाटो सजिलो थिएन ।
उहाँ भन्नुहुन्छ, “म सानो छँदा फिल्म हेर्न अर्को गाउँसम्म पुग्थेँ । फेरि घर फर्केर गाउँमा हेरेको फिल्मको जस्तै आफूले अभिनय गर्ने, डाइलग बोल्ने र फाइटसमेत गर्ने प्रयास गर्थेँ ।”
“सानैमा फिल्म हेर्दै गर्दा म पनि टिभीमा देख्न पाए हुन्थ्यो भन्ने महसुस हुन्थ्यो तर डोल्पाको विकट ठाउँमा जन्मेको मलाई फिल्म, कलाकार र यो रङ्गिन दुनियाँको बारेमा केही ज्ञान थिएन”, उहाँले भन्नुभयो ।
उहाँ भन्नुहुन्छ, “कर्णाली समाजमा सबैका छोराछोरीले पढेर सरकारी जागिरसम्म गरोस् भन्ने सपना हुन्छ । मेरा लागि पनि आमाबुवाको सपना त्यही नै थियो । जुन सपना मैले पूरा गर्न सकिनँ ।” तर जसरी पनि कलाकार बन्ने रहरले उहाँलाई छाडेन । कलाकार बन्न नसके पनि पर्दा पछाडि भए पनि काम गर्छु तर सिनेमा क्षेत्रमा जसरी भए पनि आबद्ध हुन्छ भन्ने उहाँलाई लाग्थ्यो ।
वि.सं २०७० सालमा काठमाडौं आएको एक वर्षपछि उहाँको कलाकारिता यात्रा सुरु भयो । उहाँ सम्भिनुहुन्छ, “मैले मौका पाएपछि रेडियोमा काम गर्ने एक जना दाइको सहयोगमा आफ्नो केही लगानीमा अभिनय सुरु गरेँ । तर पछि फिल्म आदि छायाङ्कनमै रोकियो । फेरि मेरो सपनामा ब्रेक लाग्यो ।”
यसपछि भने केही समयपछि पुन अभिनयमा फर्किएका देवकोटालाई दर्शकसामु चिनिन धेरै समय लाग्यो । कलाकारिता क्षेत्रमा लाग्नका लागि परिवारबाट साथ र सहयोग नपाएका उहाँलाई कलाकारिता क्षेत्रमै नाम कमाउन धेरै सङ्घर्ष गर्नुपर्यो ।
मिहिनेत र लगनशीलताका साथ अगाडि बढिरहेका उहाँलाई रेलको बाटो, नुनको भारीजस्ता गीतले चर्चामा ल्यायो । आफूले अभिनय गरेको गीतले बिस्तारै चर्चा पाएकोमा दङ्ग हुनुहुन्छ उहाँ । “सङ्ख्यात्मक रूपले धेरै गीतमा अभिनय गर्न नपाए पनि थोरैमा आफ्नो नाम चिनाउन सफल हुनुभएकोमा आफूलाई भाग्यमानी ठान्छु,” उहाँले भन्नुभयो।
आफूले गरेको काम दर्शकले मन पराउनु भएकोमा आत्मसन्तुष्टि मिल्ने उहाँको अनुभव छ । यसबाहेक कलाकारलाई दर्शकहरूले मन पराइदिँदा आफूमाथि अझै जिम्मेवारी थपेको महसुस हुने उहाँ बताउनुहुन्छ । कुनै पनि अभिनयको तालिम बिनै कलाकारितामा आकर्षित हुनुभएका देवकोटालाई आज दर्शकहरूले सशक्त अभिनय गर्ने कलाकारको रूपमा चिन्नुहुन्छ ।
रेलको बाटो छायाङ्कनको सम्झना
देवकोटा भन्नुहुन्छ, “रेलको बाटो गीतको छायाङ्कन सजिलो थिएन । हामी सम्पूर्ण टिमले उत्तिकै मिहिनेत र सङ्घर्ष गरेको थियौँ ।”
“हामीलाई डोल्पाको फोक्सोण्डोमा गीत छायाङ्कन गर्न २० दिन लाग्यो । फागुनको महिना, त्यहाँका स्थानीयहरू पनि जाडो छल्न बेसी झरिसकेका थिए । होटल सबै बन्द थियो । तलबाट एक होटलको दाइलाई अनुरोध गरेर वास बसेका थियौँ,” उहाँ सम्झिनुहुन्छ, “यसैबीच बाटोमा टिमको एक कलाकार बिरामी भयो, उहाँलाई म आफैँले चार घण्टा बोकर हेलिकोप्टर आउने बाटोसम्म पुर्याएको थिएँ ।”
‘रेलको बाटो गीतको छायाङ्कन गर्दा पाएको दुःख शब्दमा बयान नै गर्न सक्दिनँ ।’
विकट ठाउँमा जन्मेर गल्ती गरेको महसुस गर्ने देवकोटालाई गाउँमै जन्मेको कारणले आफू चर्चित गीत रेलको बाटोमा फिट भएजस्तो लाग्छ । “यदि गाउँमा नजन्मेको भए सायद म यो गीतमा अभिनय गर्न सक्दिनँ थिएँ होला”, उहाँले भन्नुभयो ।
यस्तै, सङ्घर्षका दिनमा दिग्गज कलाकारहरूबाट हेपिएको उहाँको अनुभव छ । “नयाँ आउनेले राम्रो गर्यो भने हाम्रो रोजगारी खोसिन्छ भन्ने दिग्गजलाई लाग्ने रहेछ । उहाँ भन्नुहुन्छ, “त्यसैले अब आउने नयाँ पुस्तालाई यस क्षेत्रमा आउनका लागि अभिनय र लगानी बलियो बनाएर आउँदा फलदायी हुन्छ ।”
नेपालमा कलाकारलाई खासै सम्मान नगर्ने उहाँको भनाइ छ । उहाँका अनुसार नेपालमै कलाकारिता गरेर जीविकोपार्जन गर्न गाह्रो छ । “नेपालमा कलाकारको अवस्था दयनीय छ । आफूले काम गर्न सकुन्जेल हो बुढ्यौलीले छोएपछि वा बिरामी भएपछि भोकै रहनुपर्ने अवस्था सिर्जना हुन्छ,” उहाँ भन्नुहुन्छ, “त्यसैले केही वर्षपछि साउथ इन्डियन फिल्ममा लाग्ने मेरो तयारी छ ।”
देवकोटालाई वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म बुलाकीमासमेत देख्न सकिनेछ । उहाँका अनुसार फिल्म र म्युजिक भिडियोमा केही फरक छैन । दुवैमा कथा लामो र छोटो मात्रै हुने हो । म्युजिक भिडियोले पनि धेरै कथा बोल्न सक्ने उहाँको भनाइ छ ।
उहाँका अनुसार नेपालमा हरेक म्युजिक भिडियोको कथा सशक्त र बलियो हुनुपर्छ । यी मनोरञ्जनका लागि मात्र नभएर गीतले हामी सम्पूर्ण नेपालीको कथा बोल्नुपर्दछ ।