• ६ कात्तिक २०८२, बिहिबार

‘छैन र माया’ गीतको भ्यूज करोड नाघ्यो

blog

करोड क्लबमा सहभागी भएको खुशीयाली मनाइँदै ।

अमृतप्रसाद पौडेल

म्याग्दी, कात्तिक ६ गते । म्याग्दीको मंगला गाउँपालिका –५ अर्मनका लोकगायक प्रकाश दुतराजको पछिल्लो गीत ‘छैन र माया’ को युट्युबमा एक करोड भन्दा बढी भ्युज पुगेको छ ।

गायक दुतराजले दसैंको अवसर पारेर सार्वजनिक गरेको यो गीतले एक महिना पनि नपुग्दै करोडभन्दा बढी भ्यूज पाएको हो । दुतराज भन्नुहुन्छ गीत रिलिजको २५ दिनमै गीतलाई एक करोडभन्दा बढी पटक हेरिदिनु भएको छ दर्शकहरुले । गायक प्रकाश दुतराजलाई स्वरमा मेलिना राईले पनि साथ दिनुभएको छ । 

दसैंको समयमा रिलिज भएको यो गीतमा टिकटक, रिल्सलगायतका प्लेटफर्ममा समेत राम्रै चर्चा रहेको दुतराजको भनाइ छ । प्रकाशले पछिल्ला बर्षहरूमा सार्वजनिक गरेका गीतहरुले करोड क्लबमा समावेस हुनेक्रम चलेको छ । उहाँले रिलिज गरेका गीतहरु ‘रिमै’ पाँच करोड ५४ लाखमाथि, घर कता हो बैनीकोले चार करोड ६४ लाख माथि, रेशमले तीन करोड ६० लाख, जाम भो माइलीले दुई करोड ४२ लाख, जुन मायाँले एक करोड ६६ लाखभन्दा माथि भ्यूज कमाएको छ । 

मन भुल्छ बोलको गीतले एक करोड ३४ लाखभन्दा बढी दर्शकको मायाँ पाएको छ । उहाँले यसपाली सार्वजनिक गरेको ‘छैन र माया’ को शब्द तथा संगीत प्रकाश दुतराजकै हो । गीतमा कृष्ण केसीले संगीत संयोजन गुर्नभएको छ । 

मार्मिक प्रेमकथामा आधारित गीतको म्युजिक भिडिओ मुस्ताङ जिल्लाको रमणीय स्थान छुसाङ लगायतको स्थानमा खिचिएको छ ।

मुस्ताङका सुन्दर दृश्यहरूमा खिचिएको भिडिओमा प्रकाशलाई अञ्जली जिसीले अभिनयमा साथ दिनुभएको छ । नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीकी छोरी अञ्जलीको यो पहिलो म्युजिक भिडियो हो । मुकेश नेपालीको कोरियोग्राफी, अनिल के. मानन्धरको छायाङ्कन रहेको भिडियो नवीन घर्ती मगरले निर्देशन तथा सम्पादन गर्नुभएको छ ।

म्युजिक भिडियोले करोड क्लबमा सहभागिता जनाएको उपलक्ष्यमा म्याग्दीको बेनीमा कलाकार अञ्जली जिसी तथा लोकदोहोरी प्रतिष्ठानको टोलीले केक काटेर खुशीयाली मनाएको छ । पहिलो अभिनयकै भिडियोले करोड क्लबमा सहभागी हुँदा खुशी लागेको कलाकार जिसीको भनाइ छ ।