• १० कात्तिक २०८२, सोमबार

छठ पर्व : आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), कात्तिक १० गते ।
मिथिलाञ्चलको महान सांस्कृतिक तथा धार्मिक पर्व छठ सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिई भव्य रुपमा देशभर मनाइँदैछ । चार दिनसम्म मनाइने यो पर्वको आज तेस्रो दिनलाई ‘सन्ध्या अर्घ्य’ को रुपमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाउन लागिएको हो ।

यस अवसरमा सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको विभिन्न स्थानमा रहेका नदी, पोखरी र तलावहरलाई दुलही झैं सजाइएका छन् । व्रतालुहरुले बिहानदेखि निराहार रहेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारी गर्नुभएको छ ।

उहाँहरुले नयाँ कपडा, प्रसाद, फलफूल, ठकुवा, भुसुवा, नारिवल, उखु आदी सामग्रीका साथ नदी किनारमा साजसज्जा सहित बनाइएको घाटमा पूजा सामग्री राखेर बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्यसँगै दुध र जल अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गर्नेछन् ।

मिथिलाञ्चलमा छठलाई ‘सूर्य उपासना र पवित्रताको पर्व’ को रुपमा लिइन्छ । यस पर्वमा व्रतालुहरूले आत्मशुद्धि, सन्तानको दीर्घायू, परिवारको सुख–शान्ति र समृद्धिको कामना गर्छन् । 

छठ पर्वमा महिलाहरुको प्रमुख भूमिका रहन्छ, जहाँ उहाँहरुले निष्ठा, संयम र भक्ति भावका साथ पूजा सम्पन्न गर्छन् । छठको चौथो दिन अर्थात् मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुनेछ ।

छठ केवल धार्मिक पर्व मात्र नभई मिथिलाञ्चलको सामाजिक एकता, संस्कार र सभ्यताको प्रतीकका रुपमा पनि स्थापित पर्व भएकाले यसमा कुनै भेदभाव नभई सबैको सहभागिता समेत हुने भएको हुँदा यसलाई समावेशी पर्वको रुपमा पनि लिइने गरिएको छ ।