काठमाडौं, वैशाख ८ गते। कान्तिबाल अस्पतालकी नर्सिङ निर्देशक रोशनी लक्ष्मी तुईतुईले देशमा करोडौँ लगानी गरेर उत्पादन गरेका दक्ष जनशक्ति लैजाने देशले क्षतिपूर्ति दिएर लैजानुपर्ने बताउनुभयो।
राष्ट्रिय युवा परिषद् नेपाल र नर्सिङ क्लब नेपालले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो। उहाँ भन्नुभयो, “हाम्रो देशबाट दक्ष जनशक्ति मात्र पलायन भएका छन्। उता उत्पादित जनशक्ति हाम्रो देशले ल्याउन सकेको छैन। यताबाट पठाउने मात्र होइन, उता उत्पादित दक्ष जनशक्ति ल्याउन सकियो भने सीप आदान–प्रदान गर्न सहज हुने थियो।”
पछिल्लो समय महामारीको रूप लिँदै गरेको नसर्ने रोग नियन्त्रण गर्ने उद्देश्यले स्कुल र सामुदायिक नर्सले उल्लेखनीय भूमिका खेल्ने उहाँले जिकिर गर्नुभयो।
नसर्ने रोग नियन्त्रण गर्ने उद्देश्यले सरकारले प्रत्येक विद्यालयमा स्कुल नर्स राख्ने र प्रत्येक वडामा सामुदायिक नर्स राख्ने निर्णय गरेको थियो। सोही अनुसार हाल सातैवटा प्रदेशबाट ११ सय २३ जना नर्स विद्यालयमा रहेका छन्। हाल ३४ हजार विद्यालयमा अझै नर्स राखिएको छैन।
त्यसैगरी, बाग्मती प्रदेशको भक्तपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका र मधेश प्रदेश र कर्णाली प्रदेश सहित १८ वटा नगरपालिकामा सामुदायिक नर्स राख्ने कार्य भइसकेको छ। विद्यालय नर्स र सामुदायिक नर्सलाई देशभर राखिए मात्र उद्देश्य पुरा गर्न सकिने उहाँको तर्क छ।
नर्सिङ क्लब नेपालका अध्यक्ष विमला सुब्बा घिमिरेले दुर्गम वा सहरी क्षेत्रमा उत्तिकै आवश्यकता पर्ने नर्सिङ सेवा सेवामुखी र अब्बल जनशक्तिका रूपमा विकास गर्न यस्तो सम्मेलने महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्षले सम्मेलनले नर्सिङ पेसामा आबद्ध नर्सको उच्च आत्मबल बढ्ने र स्वदेशमै बसेर सम्मानित पेसाको रूपमा निरन्तर काम गर्ने प्रेरणा मिल्ने जिकिर गर्नुभयो।
सम्मेलनमा विभिन्न नर्सिङ सशक्तीकरण, नर्सिङ पेसामा ब्रेन ड्रेन/ब्रेन ग्रेन सम्बन्धी नसर्ने रोगको नियन्त्रण गर्न नर्सको भूमिका विषयमा छलफल हुने घिमिरेले जानकारी दिनुभयो।