• २५ वैशाख २०८१, मङ्गलबार

“सबै सजक रहे किटजन्य रोगलाई नियन्त्रण गर्न सकिन्छ”

blog

काठमाडौं, वैशाख ३ गते । गर्मी महिना सुरु भएसँगै विभिन्न किटजन्य रोग महामारीको रूपमा देखापर्ने गर्छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले यस्तो मौसममा किटजन्य रोग बढ्ने हुँदा सचेत रहन आग्रह गर्नुहुन्छ । 

गत वर्ष महामारीका रूपमा फैलिएको डेङ्गुको प्रकोप पुन बढ्न थालिसकेको छ । अघिल्लो वर्ष पुस महिनामा शून्यमा झरेको डेंगु यो वर्ष शून्यमा नझरी माघ महिनादेखि पुन बढ्न थालेको दाहालले जानकारी दिनुभयो । 

माघ देखि बढ्न थालेको डेंगु साढे दुई महिनामा ५२ वटा जिल्लाबाट करिब करिब चार सयको हाराहारीमा डेंगुका बिरामी पत्ता लागिसकेको डा.दाहाले जानकारी दिनुभयो । 

नेपालमा डेंगु,मलरिया, कालजार बेलाबेलामा महामारीका रूपमा देखा पर्ने गरेको छ । 

यो मौसममा विशेष गरी, किटजन्य रोगहरू जस्तै औँलो,डेंगु, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस,हात्तीपाइले रोग, जापनिज इन्सेफलाइटिस जस्ता सरुवा रोग लाग्ने डा. दाहाल बताउनुहुन्छ । 

दाहालका अनुसार कालाजार भुसुनाले टोकेर लाग्छ र स्क्रब टाइफस किराले टोकेर लाग्ने गर्छ । त्यसैगरी, औँलो, डेंगु, जापनिज इन्सेफलाइटिस विभिन्न जातका लामखुट्टेको टोकाइले लाग्ने दाहाल बताउनुहुन्छ । 

किटजन्य रोग बनाउने प्रजिवी, जीवाणुहरू फरक फरक हुन्छन् । त्यो हिसाबले जीवाणु अनुसार किटजन्य रोगका लक्षणहरू पनि फरक फरक दाहालको भनाई छ । सरुवा रोगमा देखिने रोगका लक्षणहरूमा ज्वरो आउने,टाउन/शरीर दुख्ने, पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने गर्दछन् । 

नेपालमा औलो र डेङगु बेलाबेलामा महामारीको रूपमा देखापर्ने गर्दछ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कअनुसार किटजन्य रोग प्राय सबै जिल्लामा देखा परिसकेको छ । 

गत वर्ष डेंगु महामारीको रूपमा देखा परेको थियो जसमा नेपालका ७७ वटै जिल्लाबाट कबिर ५० हजार भन्दा बढी डेंगुका बिरामी पत्ता लागेका थिए ।  औँलो ५० भन्दा बढी जिल्ला र कालाजार लगायतका अन्य विभिन्न किटजन्य रोगहरू देशका धेरै ठाउँबाट रिपोर्टिङ भएको दाहालको भनाई छ । 

पछिल्लो समय वातावरणीय प्रभाव,जनसङ्ख्याको चलामानको कारणले गर्दा गर्मी ठाउँमा मात्र नभएर पहाडी तथा हिमाली जिल्लाहरूबाट पनि किट जन्य रोग पत्ता लाग्न थालेको रिपोर्टिङ भएका छन् । 

सबै पालिकामा किटजन्य रोग नियन्त्रणका लागि सबै स्थानीय तहमा पत्राचार गरिसकेको उहाँले जानकारी दिनुभयो । 

सबैले आफ्नो तर्फबाट घरवरिपरि सफा गर्ने, घर वरिपरि पानी जम्न नदिए किटजन्य रोगलाई नियन्त्रण गर्न सकिने डा.दाहालको भनाई छ । 

गर्मी महिना लाग्नेसँगै नेपालमा कस्ता कस्ता किटजन्य रोग देख्छिन् । यो वर्ष किटजन्य रोगलाई महामारीका रूपमा फैलन नदिन सरकारको तयारी कस्तो छ भन्ने विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालसँग गोरखापत्र अनलाइनका लागि गरिएको भिडियो संवाद ः

भिडियो : मनोजरत्न शाही/केशब गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।