• २३ भदौ २०८२, सोमबार

चियाको चुस्कीमा पाइन्छ महिलाको मेहनत

blog

  • अधिकांश चिया उद्योगमा आधाभन्दा बढी महिला कामदार छन् । चिया उद्योगीको संस्था सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन अन्तर्गत ८८६ श्रमिक रहेकामा ७० प्रतिशत महिला नै छन् ।

कोकिला ढकाल

इलाम, भदौ २३ गते । हिजोआज चिया नभई कसैलाई निद्रा खुल्दैन त कसैलाई निद्रै लाग्दैन । बिहान होस् वा बेलुका चिया निद्रा खुलाउने र लगाउने पेय बनेको छ । मान्छे जागा भएका बेला जतिबेला पनि चिया समय अनि घरमा आएका पाहुनाको स्वागत गर्ने पनि त्यही चिया । 

चियाको आन्तरिक खपतको यस्तो अवस्था त छँदै छ नेपाली चियाले बजार पनि तताएको छ र नेपालमा विदेशी मुद्रा आर्जनको ठुलो हिस्सा त्यही चिया बनेको छ । चियाको यस्तो महत्व र मूल्य जति स्वादिलो र सुखद लाग्छ त्यसभित्रको लैङ्गिक कार्य विभाजनको पाटो खोतल्दा मन अमिलो पनि हुन्छ । 

नेपाली चिया उत्पादन र उपभोगसम्म महिलाको श्रम र त्यसमा उनीहरूको न्यून प्रतिफलले यसलाई पुष्टि गर्छ । चियाको तिनपाते सुइरोदेखि कपसम्म महिलाको कथाव्यथा बेग्लै छ ।

फोटो खिच्न पनि महिला

पूर्वी पहाडी जिल्लाका चिया बगान अहिले निकै आनन्ददायी छन् । इलामका चियाका डाँडामा रमाउनेको भिड बाक्लो छ । चियाबारीमा टोकरी बोकेर चिया टिप्ने दिदीबहिनीसँग फोटो र भिडियो खिच्ने थप आकर्षण छ । चियामा महिलाको माहोल यहीँबाट सुरु हुन्छ । बिहान सबेरै चिया पकाएर घरको अरू काम पनि भ्याएर महिला चियाको मुना टिप्ने मुख्य भूमिकामा लाग्छन् । टिपेको मुना बोकेरै कारखानासम्म पु¥याउने, कारखानामा मुना केलाउने, तौलिने, ट्रकमा राख्ने, रोलिङ गरेर ग्रेडिङ गरिएको चियालाई पुनः केलाउने, धुलो उडाउने र राम्रो चिया तयार भएपछि प्याकेजिङसमेत गर्ने काममा महिला नै हुन्छन् । 

यसरी उनीहरूले तयार पारेको आन्तरिक उपभोक्ताको ओठसम्म र विदेशी मुद्राआर्जन गर्ने माध्यम बनेको हुन्छ । नेपाली चियाको तयारी पक्ष र त्यहाँ खटिने महिला श्रमिकको अवस्था भने निकै जटिल छ ।  “बिहान ४ बजे नउठे त दिउँसोको काम भ्याउनै मुस्किल छ । बिहान ९ बज्दा नबज्दा काममा पुग्नु पर्छ,” बर्सौंदेखि चिया टिप्दै आएकी सूर्योदय नगरपालिका–७ की शर्मिला तामाङले भन्नुभयो, “गाईवस्तुलाई खोलेपानी, नानीहरूलाई स्कुल पठाई आफू खाना बनाएर खाएर काममा निस्कनु पर्छ । दिनभर चिया टिपेको पैसाले घरखर्चसम्म त टेरेकै छ ।” मेहनत गर्दा दैनिक ३०–३५ किलोसम्म चिया टिप्न सकिने तामाङको अनुभव छ । 

चिया टिपेरै घरखर्च टार्ने माईजोगमाई–५ की गङ्गा लिम्बूलाई पनि उस्तै चटारो हुन्छ । हातैले दैनिक ४२ किलोसम्म चियाको दुईपात एक सुइरो टिप्ने गङ्गाको मासिक कमाइ पनि राम्रै लाग्छ । प्रतिकिलो १५ रुपियाँका दरले उहाँको ज्याला बस्दा दिनको ६३० रुपियाँ हुन्छ तर यो नेपालीको सरदर आयभन्दा ज्यादै कम हो ।

चिया टिप्न निकै गारो हुन्छ । घाम पानी भन्न पाइँदैन, हुर्किएपछि कारखानाले कम मूल्य दिन्छन् । लिम्बूका दुःख बेग्लै छन् । उहाँले भन्नुभयो, “हात फुट्छ, पैताला फुट्छ, टाढाबाट हेर्दा चियाबारी र यहाँ चिया टिपेको राम्रो देखिन्छ, कपमा स्वाद पनि मिठो आउँछ । त्यसमा हाम्रो यो दुःख लुकेको हुन्छ ।” त्यसो त शर्मिला र गङ्गा त चियाको मुना टिप्ने प्रतिनिधि महिला कामदार हुनुहुन्छ । उहाँहरू जस्ता चिया टिप्ने काममा सयौँ महिला सक्रिय छन् । 

कारखानाको कथाव्यथा

कारखानामा खटिने महिलाको कथाव्यथा पनि उस्तै छ । बिहान–बेलुकी दिनरात केही नभनी कारखानामा काम गर्ने महिलाले सिजनमा निकै लामो समय पनि काम गर्नु पर्छ । दुई वर्षयता इलामको साँखेजुङस्थित ग्रिन हिल चिया उद्योगमा कार्यरत पाँचथर हिलिहाङकी मुना लिङ्देन भन्नुहुन्छ, “अन्य ठाउँमा अथवा विदेश जतै गए पनि काम नगरी पैसा हुँदैन । मलाई त यहीँ काम गर्न सजिलो छ । खाना बस्न दिएर चित्तबुझ्दो तलब पनि छ ।” 

लिङ्देनले भन्नुभयो, “चिया तौलिनेदेखि प्याकेजिङसम्मका काम हामी गर्छौं ।” एक छोरीकी आमा लिङ्देनले आफ्नै कमाइले नानी पढाएर, घरमा खर्च पठाएर केही बचत पनि गर्नुभएको छ ।

लिङ्देनसँगै काम गर्दै आएकी पाँचथरकै अञ्जु साउदेन पनि कारखानाभित्रको काम त्यति असजिलो नभएको बताउनुभयो । पाँच वर्षदेखि सोही कारखानामा काम गर्दै आएकी साउदेन भन्नुहुन्छ, “खट्नु परे पनि काम सजिलै छ । हल्कै काम पर्छ । खानबस्न तलब र सामाजिक सुरक्षा कोषको पनि सुविधा भएकाले काम छोडिहाल्न मन छैन ।” यस उद्योगमा मुना र अञ्जुसँगै अन्य छ महिला पनि काम गरिहनुभएको छ । 

महिलाले भरपर्दो र राम्रो काम गर्ने भएकाले उद्योगभित्र सबै महिला कामदार राखेको उद्योग सञ्चालक टङ्क दाहालले बताउनुभयो । “उहाँहरूले गरेका कुनै काममा हामीले औँला ठड्याउनु परेको छैन । एकदमै राम्रो, सफा र चियाको गुणस्तर कायम राख्न पनि महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।” 

चिया उद्योगीको संस्था सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका महासचिव गोपाल कट्टेलका अनुसार अधिकांश चिया उद्योगमा आधाभन्दा बढी महिला कामदार छन् । एसोसिएसन अन्तर्गत ८८६ श्रमिक रहेकामा ७० प्रतिशत महिला नै छन् । “पुरुष विदेश छन् । चियामा खटिने जनसङ्ख्या कमी छ, घरमै भएका महिला चियाको काममा लागेको पाइन्छ, यसबाट उनीहरूलाई रोजगारी पनि मिलेको छ ।” कट्टेलले भन्नुभयो, “चिया टिप्ने महिलालाई दैनिक चार सय रुपियाँ र कारखानामा काम गर्ने महिलालाई दैनिक ५१६ रुपियाँ ज्याला दिने गरिन्छ ।” अझ ‘स्पेसल टी’ बनाउने उद्योगमा त हातैले टिपेको चिया महत्वपूर्ण मानिन्छ । मेसिनले टिपेकोभन्दा हातले टिपेको मुना सुरक्षित र सग्लो हुने भएकाले हामीले हातले टिपेको चिया नै प्रयोग गर्ने गरेका छौँ । इलामको जसबिरे चिया कारखानाका सञ्चालक शरदसुब्बा भन्नुहुन्छ, “हामीले किसानलाई हातले टिप्ने र टोकरी, डोको अथवा छाप्रीमा ल्याउनु भनेका छौँ । उहाँहरूले पनि त्यसै गर्नुहुन्छ । मेहनत राम्रो गर्ने भएकाले दिदीबहिनीले टिपेको चिया निकै राम्रो हुन्छ ।”

यता केन्द्रीय चिया सहकारी सङ्घमा आबद्ध सहकारीका सदस्यका चिया बगानमा पनि महिला कामदारकै उपस्थिति देखिन्छ । सङ्घमा आबद्ध किसानका बगानमा ६० प्रतिशतभन्दा बढी महिलाले चिया टिप्ने गरेको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले बताउनुभयो । 

महिला आफैँ चिया टिप्न जानु धेरैको बाध्यता पनि हो । पुरुष घरमा नहुँदा महिलाले कमाइ गर्न पनि जानु परेको छ । महिलाले छिटो र भरपर्दो काम गर्ने भएकाले पनि चिया बगानदेखि कारखानासम्म महिलालाई बढी रुचाइन्छ । महासचिव राई भन्नुहुन्छ, “महिलाले चियाको काम मात्र गरेका छैनन्, तयारी चिया बनाउन अन्तिमसम्मको भूमिका महिलाको हुन्छ । त्यही चिया विदेशी मुद्राआर्जनको राम्रो माध्यम बन्दै गएको छ ।” 

महिला नै अग्रसर रहेको चियाको विदेश निर्यातको अवस्था पनि राम्रो छ । आर्थिक वर्ष २०८१/८२ मा चार अर्ब २१ करोड ३५ लाख ९२ हजार रुपियाँको नेपाली चिया निर्यात भएको छ । झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार आव २०८०/८१ मा भन्दा आव २०८१/८२ मा ३२.२ प्रतिशत बढी नेपाली चिया निर्यात भएको छ । आव २०८१/८२ मा एक करोड ५४ लाख १६ हजार ७५६ किलो चिया निर्यात भएको छ । अघिल्लो आव २०८०/८१ मा तीन अर्ब १७ करोड ९५ लाख २७ हजार रुपियाँ मूल्यको चिया निर्यात भएको थियो । चालु आव २०८२/८३ को साउनमा पनि ३७ करोड ४८ लाख २४ हजार मूल्य बराबरको चिया निर्यात भएको छ । यो अवधिमा १२ लाख ९७ हजार २२ किलो चिया निर्यात भएको भन्सार कार्यालयको तथ्याङ्क छ ।

तयारी वस्तु निर्यातको क्षेत्रमा पनि यति ठुलो हिस्सा राख्ने नेपाली चिया क्षेत्रमा खटिएका महिलाका हात भने साँच्चै अदृश्य रहेको पाइन्छ ।