• ११ असार २०८१, मङ्गलबार

चैत सकिन लाग्दा पर्‍यो हिउँ

blog

काठमाडौँ, चैत १९ गते । यो वर्ष सकिन लाग्दा शनिबार काठमाडौँ उपत्यकाआसपासका डाँडामा हिउँ पर्‍यो । यस वर्षको हिउँदमा हिमाली क्षेत्रमा समेत हिउँ नपर्दा जनजीविकामा समस्या परेको थियो । यसपालिको हिउँदमा हिउँ मात्र नपरेको होइन, असोजपछि पानी पनि परेको थिएन । 

फागुनको मध्येदेखि मात्र हल्कादेखि मध्यम वर्षा गराउने प्रणाली सक्रिय भएको हो । त्यसपछि विभिन्न भेगमा हिउँ पनि पर्न थालेको छ । 

हिउँदमा नपरेको हिउँ चैतमा पर्नु मौसमजन्य वातावरण असन्तुलन भएको मौसमसविद् बताउँछन् । जलवायु विश्लेषक तथा मौसमविद् प्रतिभा मानन्धरले तीन वर्षअघि पनि फागुनमा वर्षा र हिमपात भएको स्मरण गर्नुभयो । “त्यसबेला हिमाली भेगमा बाक्लो हिमपातका साथै काठमाडौँ उपत्यकाआसपासका डाँडामा धेरै वर्षको अन्तरालमा हिउँ परेको थियो,” उहाँले भन्नुभयो, “अब यसपालि चैतमा वर्षासँगै हिमपात भइरहेको छ । यो वर्षाजन्य मौसमी असन्तुलनका कारण भएको हो ।” 

उहाँले वर्षाको प्रणालीले हिउँ पर्ने र नपर्ने भर पर्ने जानकारी दिनुभयो । उहाँले मनसुनपूर्वको समय पश्चिमी वायुसँगै पूर्वीय वायुको वर्चश्व बढाउँदै जाने समय भएको बताउनुभयो । 

“हिउँदमा कमजोर देखिएको पश्चिमी वायु चैतमा थप बलियो देखिएको छ,” उहाँले भन्नुभयो, “क्यारेबियन समुद्र हुँदै उत्तरी हिमालमाथिबाट आउने प्रणालीले नेपालमा हिउँदमा हिउँ पार्छ । त्यही प्रणाली अहिलेसम्म नेपालको उपल्लो वायुमण्डलको माथि बलियो बनेर बसेको छ ।” 

उहाँले अन्य देशको तुलनामा नेपालको विशेषता नै पश्चिमी वायु जतिखेर पनि उपल्लो तहमा कायम रहनु रहेको उल्लेख गर्नुभयो । उहाँले मनसुन भित्रने बेला केही माथि सरेर त्यसका लागि वातावरण दिने काम पनि पश्चिमी वायुको तहले गर्ने बताउनुभयो । 

“यसपाला ढिला गरी सक्रिय रहेको पश्चिमी वायु माथि नसरी यथावत् रहेकाले वर्षामा प्रभाव परेको छ । यसकारण वर्षासँगै हिउँ पर्ने वातावरण बनेको हो,” उहाँले भन्नुभयो, “पश्चिमबाट आउने वायुको आद्र्रतामा चिसो ज्यादा हुन्छ । त्यसको तुलनामा पूर्वी समुद्रमा उत्पन्न भएर आउने वायुमा चिसोको मात्रा कम हुन्छ । यसले गर्दा मनसुनको वायुले हिउँ सबैतिर पार्दैन । उच्च हिमाली भेगमा मिसिएर त्यता मात्र पार्छ ।” नेपालमा मनसुन भित्रने बेला सोमालियामा चलेको तातो हावा अरबी समु्द्रमा मिँसिदै जलवाष्प लिएर हिन्द महासागरको बाटो नेपालमा मनसुन गराउन आइपुग्छ । हवाई उडानको आकाशको तह २५०–५०० को उडान तहमा उपल्लो वायुमण्डल रहेको छ ।  

पश्चिम वायु हिउँदमा बढी सक्रिय हुनुपर्नेमा कुनै समय परिवर्तन भएर अरू महिनातिर सर्छ । जसका कारण फागुन वा अहिलेको जस्तो चैतको कुनै एउटा समयमा बलियो बनिदिने गर्दा हिउँ परेको मानन्धरले उल्लेख गर्नुभयो । 

पश्चिम वायु बलियो रहनुका साथै प्रशान्त महासागरमा लानिना प्रणाली विकास भएकाले पनि नेपालमा वर्षाको मौसम बनेको छ तर मनसुन सुरु हुने बेलासम्म त्यसमा फरक पर्न सक्ने सम्भावना उहाँ औँल्याउनुहुन्छ । लालिना यतिबेला पूर्ण सक्रियबाट सामान्य अवस्थामा झरिसकेको छ । 

सामान्य अवस्थामा यसले तत्कालको वर्षालाई सामान्यतर्फ नै लक्षित गराउँछ तर पछि आउने मनसुनको अवस्था के हुन्छ भन्नेमा मौसमविद्हरूको ध्यान केन्द्रित भइरहेको छ । मनसुनमा लानिना सक्रिय भयो भने राम्रो वर्षा गराउँछ तर त्यो बदलिएर एलनिनो प्रणाली विकास भयो भने मनसुन सुक्खा हुने सम्भावना प्रबल हुन्छ । 

मानन्धर थप टिप्पणी गर्नुहुन्छ, “किनभने नर्मल अवस्थाको लानिना पूर्ण लानिनामा बदलिन पनि सक्छ, निष्क्रिय भएर बिलाउन पनि सक्छ अनि एलमिनो जन्मने अवस्था कायमै छ ।” 

अहिले कायम मौसमी परिवेशको हिमपात माथिल्लो हिमाल र पहाडी भेगमा राम्रै रहे पनि अन्यत्र केही समयमै बिलाउनेखालको हल्का रहन्छ । हिउँदमा परेको हिउँजस्तो चैतको हिउँजस्तो बाक्लो र घनत्वसहितको रहँदैन । यसले किसानका लागि खेतबारीको चिस्यान राम्रो बनाउन भने सहयोग पु¥याउँछ । 

वर्षाको प्रणाली सक्रिय

दुई दिन देशका अधिकांश भू–भागमा वर्षा गराउने पश्चिमी वायु र स्थानीय वायुको प्रणाली सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गोविन्द झाका अनुसार बिहीबार नेपालको पश्चिमी भेगबाट सुरु भएको वर्षा गराउने प्रणाली शनिबारभित्र देशको पूर्वी भेगसम्म फैलिसक्नेछ । 

शुक्रबार कर्णाली, सुदूरपश्चिम, गण्डकी हुँदै बागमती प्रदेशका अधिकांश भू–भागमा वर्षा भएको छ । उहाँले भन्नुभयो, “आइतबारदेखि बिस्तारै मौसममा सुधार हुँदै अकाश खुले पनि फेरि अर्को प्रणालीले वर्षा दोहो-याउने सम्भावना छ ।”