काठमाडौँ, चैत १० गते । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार एक वर्षमा नेपालमा ३७ हजार भन्दा बढी बिरामी थपिएका छन् । विश्व क्षयरोग दिवसको अवसर पारेर केन्द्रले एक कार्यक्रम गर्दै आर्थिक वर्ष २०७८-७९ मा ३७ हजार ८६१ जना क्षयरोगका बिरामी थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
केन्द्रका नि.निर्देशक डा. नवीन प्रकाश शाहका अनुसार गत आर्थिक वर्षको तुलनामा यो वर्ष १० हजार बढी नयाँ बिरामी पत्ता लगाएको छ । डा. शाहका अनुसार केन्द्रले गत वर्ष २८ हजार भन्दा बढी बिरामी पत्ता लगाएको थियो ।
यो वर्ष पत्ता लागेका बिरामी मध्ये ६१.६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिला र करिब ८.७ प्रतिशत १५ वर्ष मुनिका बालबालिकाहरू रहेको शाहले जानकारी दिनुभयो । बिरामी मध्ये ९१.५ प्रतिशत क्षयरोगका बिरामीको उपचार गराई निको बनाएको शाहको दाबी छ ।
करिब ३२ हजार बिरामी उपचार बाहिर
विश्व स्वास्थ्य सङ्गठनको सर्वेक्षण अनुसार हरेक वर्ष ६९ हजार नयाँ बिरामी थपिने र करिब १७ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको छ । सोही सर्वेक्षण अनुसार नेपालमा हरेक वर्ष नयाँ पुराना गरी करिब एक लाख १७ हजार क्षयरोगका बिरामी हुने अनुमान गरिएको छ ।
क्षयरोगका अनुमानित बिरामीको सङ्ख्या र उपचारमा आएका बिरामी सङ्ख्याको अनुपात हेर्दा नेपालमा हरेक वर्ष झन्डै ३२ हजार क्षयरोगका बिरामीहरूमा रोग पत्ता लगाई उपचारको दायरामा ल्याउन नसकिएको शाहले जानकारी दिनुभयो ।
सरकारले सन् २०५० भित्रमा क्षयरोगका बिरामीहरू प्रति दश लाख जनसङ्ख्यामा एक जना भन्दा कम गराउने लक्ष्य रहेको छ । क्षयरोग अन्त्यको लक्ष्य प्राप्त गर्न पञ्च वर्षीय रणनीतिक योजना २०७८-७९–२०८२-८३ तयार गरी कार्यान्वयन भइरहेको शाहले जानकारी दिनुभयो ।
औषधि प्रतिरोधी क्षयरोगका
नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको सङ्ख्या वार्षिक रूपमा करिब दुई हजार आठ सय रहेको छ । यो सङ्ख्या नेपालको कूल जनसङ्ख्याको अनुपातमा अत्यन्त धेरै भएको विज्ञको तर्क छ ।
विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ देखि नेपाललाई पनि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ । यो आर्थिक वर्षमा क्षयरोग कार्यक्रममा ९४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ६५९ जना मात्र उपचारमा दर्ता भएका थिए ।
यसरी अनुमानित औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएका बिरामीको सङ्ख्या हेर्दा २१ सय जना बढी औषधि प्रतिरोधी क्षयरोगका व्यक्तिहरूको रोग पत्ता लगाई उपचारमा ल्याउन नसक्दा क्षयरोग कार्यक्रम थप चुनौती देखिएको छ ।
२०७८-७९ मा २५ वटा स्थानीय तहमा क्षयरोग मुक्त अभियानका क्रियाकलापहरू सञ्चालन भएका थिए । चालु आर्थिक वर्ष २०७९÷८० मा थप १०० स्थानीय तहमा कार्यान्वयन गरी यस अभियानलाई आगामी चार वर्ष भित्रमा ७५३ वटै स्थानीय तहमा विस्तार गर्ने योजना रहेको केन्द्रले जनाएको छ ।
यस्तो छ विश्वको तथ्याङ्क
विश्व स्वास्थ्य सङ्गठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसार भरी ६० लाख पुरुष,३४ लाख महिला र १२ लाख बालबालिका गरी करिब एक करोड छ लाख मानिसहरू क्षयरोगबाट पीडित भएका थिए । क्षयरोग नियमित उपचारले निको हुने रोग भएता पनि सन् २०२१ मा संसार भरी क्षयरोगका कारण करिब १६ लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।
क्षयरोग के हो ?
शाहका अनुसार क्षयरोग माइक्रोव्यटेरियम टयुवरकोलोसिस भन्ने किटाणुबाट लाग्ने सङ्क्रमण रोग हो । यसले विशेष रूपमा फोक्सोलाई असर गर्छ । फोक्सो बाहेक अन्य अङ्गहरूमा पनि यो रोग लाग्ने चिकित्सकहरू बताउँछन् ।
क्षयरोग ८० प्रतिशत जति फोक्सोको क्षयरोग हुने भएकाले बिरामीले श्वास फेर्दा हावामा सास लिँदा स्वस्थ मानिसमा कीटाणु सर्दछ । क्षयरोग महालिमाभन्दा पुरुषमा बढी मात्रामा देखिने गर्छ । जसमा आर्थिक रूपमा क्रियाशील उमेर समूहका वयस्क मानिस पर्छन् ।
लगातार २ हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुन् र साँझपख मन्द ज्वरो आउनु क्षयरोगका मुख्य लक्षण हुन । समयमा उपचार नगरेमा मृत्यु हुनसक्ने चिकित्सकहरू बताउँछन् ।
२४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएको एक सय वर्षपछि क्षयरोगबारे जनचेतना जगाउनका लागि यो दिवस मनाउन थालिएको हो । यो वर्ष विश्व क्षयरोग दिवस ‘हो, हामी क्षयरोग अन्त्य गछौँ’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।