अच्युतमानसिंह प्रधान ‘उत्सुक’
भाइबहिनीहरू तिमीहरू सबैलाई थाहा नै होला तिमीहरू सबैले स्कुलका साथीभाइ अनि परिवारका सदस्यबीच एकआपसमा अनुहारमा अबिर, रङ लगाएर अनि बेलुन र प्लास्टिकको थैलीमा पानी भरेर एकअर्कालाई हानेर रमाईलोसँग होली खेलेका पनि होलान् तर तिमीहरू कतिलाई होली पर्वका बारेमा राम्रोसँग जानकारी छैन होला । यसर्थ यहाँ म होलीका बारेमा अनि होलीको सुरुवात कसरी भयो भन्नेबारेमा जानकारी दिँदैछु ।
होली पर्व खासगरी नेपालीहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाका दिनमा निकै हर्षोल्लासका साथ मनाइने हिन्दुहरूको प्रमुख चाड हो । होली रङहरूको पर्व हो । साथै असत्यमाथि सत्यको जितको खुसियालीमा हर्ष र उल्लासका साथ
एकआपसमा अबिर, रङ लगाई मनाइन्छ । होलीको दिन मानिसहरूले एकअर्कामाथि विभिन्न प्रकारका रङहरू हालेर एकअर्कालाई रङ्गीन बनाउँछन् ।
होलीका बारेमा पौराणिक भनाइअनुसार प्राचीन समयमा अथवा त्रेता युगमा नास्तिक हिरण्यकशिपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकशिपुलाई भगवान् विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकशिपुका छोरा प्रह्लाद विष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान् विष्णुको आराधना गरेको हिरण्यकशिपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजना बनाएका थिए । एक योजनाअनुसार हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको थियो । होलिकाले अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन् । दाजुको आदेशअनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।
होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन गरिसके पछि बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवायुवतीहरू गीत गाउँदै–नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित एक अद्वितीय सम्बन्ध स्थापित गर्दछन् । यसर्थ यसलाई सद्भावको पर्व पनि भनिन्छ । यस पर्वलाई फाल्गुण पूर्णिमाका दिनमा मनाउने भएकाले यसलाई ‘फगुआ’ पनि भनिन्छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि विधिपूर्वक चीर ठड्याइएसँगै फागु पर्व सुरु हुन्छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु हुने गर्दछ ।
असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रूपमा चीर उठाउने र एकसातापछि फागु पूर्णिमाका दिन सो चीर ढलाएर टुँडिखेलमा पु¥याइ दहन गर्ने परम्परा रहेको छ । चीर बीचमै ढलेको खण्डमा पुनः ठड्याइ शान्ति स्वस्ती र क्षमा पूजा गरिने चलन छ । त्यसरी अचानक चीर ढलेका कारण देशमा कुनै सङ्कट नपरोस् र अनिष्ट नहोस् भनी ब्राह्मणद्वारा स्वस्ती, शान्ति, होम र क्षमा पूजा गराइने चलन रहँदै आएको छ ।
आजकल होलीले विभिन्न खालका सामाजिक विकृति र विसङ्गतिहरू पनि भित्र्याइएको छ । आजका युवाहरू अर्काको इच्छाविपरीत रङ दलि दिने, अण्डा फोड्ने, बेलुन र प्लास्टिकको थैलीमा फोहोर पानी भरेर हान्ने, मादक पदार्थ सेवन गरेर होहल्ला, झैंझगडा गर्ने आदि काम गर्छन् । जुन कानुनले बर्जित गरेको छ । यसर्थ यस दिन सहरका विभिन्न ठाउँमा कडा सुरक्षा जाँच गरिन्छ । यसर्थ भाइबहिनी तिमीहरू पनि एकआपसमा साथीहरू र परिवारसँग मात्र अनुशासित भएर रमाइलोसँग होली खेलौँ ल ।