• १४ वैशाख २०८१, शुक्रबार

बालबालिकालाई मन पर्ने च्याखुरा

blog

भाइबहिनीहरू तिमीहरूलाई थाहा छ ? घरमा पाल्ने कुखुराजस्तै च्याखुरा पनि हुन्छ नि । च्याखुरा बालबालिकासँग साथी बनेर चाँडै घुलमिल हुने चरा हो । जङ्गलमा पाइने यो चरा घरमा पनि पाल्ने गरिन्छ । च्याखुरालाई नेपाल सरकारले खतराको नजिक रहेको प्रजाति मानेको छ । 

च्याखुरालाई ठाउँ र स्थानअनुसार च्याखुरा, चाखुरो, चकोर वा चुकर पनि भन्ने गरिन्छ ।  च्याखुरा समुद्री सतहबाट एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरको उचाइसम्म पाइने गरेको छ । यो चराले ओखर, बदाम, पिठो, धान र पिठोभित्र मिसाएको घिउ खान असाध्यै मन पराउँछ । घरमा पालिएको च्याखुरालाई यस्ता खानेकुरा दिने गरिन्छ । वनमा भएका च्याखुराहरूले पनि सकेसम्म यस्तै खालको खानाको खोजी गर्ने गर्छन् ।

च्याखुरा उच्च पहाडी र हिमाली क्षेत्रमा पाइने चराको एक प्रजाति हो । त्रित्राभन्दा ठूलो र कालिजभन्दा सानो, रातो चुच्चो हुने च्याखुरा कुखुराको भालेझैँ लड्न प्रसिद्ध मानिन्छ । लडाकु मानिने च्याखुरालाई प्रेमको प्रतीक पनि मान्ने गरिन्छ ।

पूर्वी नेपालको तुलनामा पश्चिम नेपालमा यसको सङ्ख्या बढी थियो । नेपालमा सबैभन्दा पहिला सन् १७९३ मा क्रिकप्याट्रिकले यो प्रजातिको अभिलेख गरेको तथ्याङ्क छ ।  कुनै बेला काठमाडौँ उपत्यकाको वरिपरिसमेत भेटिने यो प्रजाति पछिल्लो समय नेपालभर घट्दै गएको छ ।

च्याखुरा जङ्गलमा पाइने प्रजातिको चरा भए पनि यसलाई घरमा ल्याएर पाल्ने चलन रहिआएको छ । पहिले धेरै जसोले यो चराको भालेलाई पाल्ने गरेको भए पनि पछिल्लो समयमा यो चरा पाल्ने चलनसमेत हराउँदै गएको छ । 

भाइबहिनीहरू पहिला पहिला सुदूरपश्चिममा च्याखुरा लडाएर प्रतियोगिता पनि हुने गर्थे । बैतडीको च्याखुरा निकै चलाख र लडाकुु स्वभावको चरा भएकोले यसलाई लडाउने गरिन्थ्यो तर अहिले  च्याखुरा देख्नै मुस्किल  भएको स्थानीयको भनाइ छ । 

च्याखुरा पहाडका कडा चट्टानमा बस्न मन पराउने चरा हो । पछिल्लो समय जलवायु परिवर्त न र च्याखुराको बासस्थान रहेका पहाडमा डोजरले सडक निर्माण गर्दा पहाड हल्लिन थालेपछि च्याखुराको बासस्थान सङ्कटमा परेको छ ।  

बिहानी र साँझको बेलामा च्याखुरी–च्याखुरी गर्दै बास्ने गर्छ । बिहान र साँझको समयमा सुनिने च्याखुराको आवाज अचेल सुनिन छोडेको  छ । च्याखुरा के कारणले हराउँदै गएको छ त भाइबहिनीहरू, यो विषयमा चरा विज्ञहरूले विस्तृत खोज अनुसन्धान गर्नु होला नि है ।