• ७ जेठ २०८१, सोमबार

जानी राखौँ बाल अधिकार

blog

भाइबहिनी हो ! तिमीहरूलाई बाल अधिकारका बारेमा थाहा छ कि छैन ? के तिमीहरू बाल अधिकारबाट वञ्चित त छैनौँ ? बाल अधिकारका संरक्षणका लागि तिमीहरूले गर्नुपर्ने कर्तव्यहरू के के होलान् ? यी सबै कुराको सङ्क्षिप्त जानकारी  आज प्राप्त गर्ने छौ ।

बाल अधिकार भनेको बालबालिकाको जन्मसिद्ध वा नैसर्गिक अधिकार हो । अर्थात् बाल अधिकार भनेको शारीरिक, मानसिक, सामाजिक तथा नैतिक विकासका लागि चाहिने न्यूनतम आवश्यकताहरू जस्तै : पोषिलो खाना, औषधि उपचार, माया स्नेह, संरक्षण, शिक्षा आदि बाल अधिकार हो । बालबालिकाले स्वयंले आफ्नो अधिकार आफैँ लिन नसक्ने हुँदा उनीहरूको अधिकारको संरक्षण गर्नुु अभिभावकको दायित्व हो । जब बालबालिका हुर्कंदै जान्छन् यस क्रममा विस्तारै उनीहरूले आफ्नो अधिकारको उपभोगका लागि कर्तव्यहरू पूरा गर्र्नुपर्ने कुराका बारेमा सचेत  गराउने तथा त्यससँग सम्बन्धित ज्ञान तथा सीपहरू सिकाउने जिम्मेवारी अभिभावक तथा शिक्षकहरूले पूरा गर्नुपर्दछ । भाइबहिनी हो, अधिकारसँग कर्तव्य पनि जोडिएको हुन्छ । कर्तव्य अधिकारको मुहान हो । सज्जन मान्छेले मात्रै आफ्नो  कर्तव्य पूरा गर्छन् । आफ्नो कर्तव्य पूरा गरे भने दुर्जन पनि सज्जन बन्न सक्छन् । कर्तव्य पूरा गरेन भने सज्जन भनेर कहलिएको मान्छे पनि दुर्जन भनेर चिनिन सक्छन् । उमेर, शिक्षा, क्षमताका आधारमा बालबालिकाले आफ्नो अधिकार र कर्तव्य पालना गर्नुपर्छ । 

जस्तै ः ठीक समयमा विद्यालय जाने, शिक्षण सिकाइमा सहभागी हुने, कक्षा कार्य गर्ने र गृहकार्य गर्ने, नजानेको कुरा शिक्षकलाई सोध्ने, अनुशासनको पालना गर्ने, आफ्ना अधिकार के के हुन् त्यसको पहिचान गर्ने, निरन्तर सरसफाइ गर्ने समयमा खाना खाने, आफ्नो सुरक्षा अपनाउने, रातिमा नहिँड्ने, खतरा हुने ठाउँमा नजाने, कुलतबाट टाढा रहने, आमाबुवा र आफूभन्दा ठूला मान्यजनको आदर र सत्कार गर्ने, आफ्ना साथीहरू र अन्य बालबालिकालाई भेदभावमुक्त व्यवहार गर्ने, अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहन गर्ने र अरू कसैले दुव्र्यवहार गर्न खोजेमा आवाज उठाउने, बालक्लब वा विभिन्न किसिमका समूहमा समावेश हुने, विद्यालय छोडेका बालबालिकालाई पुनः जानका लागि प्रोत्साहन गर्ने, सामाजिक भेदभावका बारेमा सचेतना जगाउने, विद्यालयमा भौतिक सामग्रीको सुरक्षा गर्ने, बालबालिकामाथि कुनै किसिमको दुव्र्यवहार भएमा त्यसविरुद्ध आवाज उठाउने आदि । 

अन्त्यमा उमेर, शिक्षा, क्षमताका आधारमा बालबालिकाले आफ्नो अधिकार र कर्तव्य पालना गर्नुपर्छ । हामी पनि कर्तव्य पूरा गर्ने अठोट गरौँ । र बालबालिकाले आफ्नो अभिभावकलाई समेत जागरुक बनाएर स्थानीय सरकारसमक्ष आफ्ना अधिकार पूरा गर्ने वातावरण मिलाउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।