• १२ साउन २०८१, शनिबार

मोक्ष प्राप्तिको चाहना नाटक ‘विमोक्ष’

blog

काठमाडौँ, फागुन १४ गते । मोक्ष प्राप्तिको चाहनालाई नाटकका रूपमा उजगार गर्ने नाटक ‘विमोक्ष’ आगामी फागुन १७ गतेदेखि बत्तिसपुतलीस्थित शिल्पी थियटरमा मञ्चन हुँदै छ । 

परिकल्पना तथा निर्देशन प्रवीण खतिवडाको रहेको ‘विमोक्ष’ नाटकमा घिमिरे युवराज नाटककार हुनुहुन्छ ।

श्रीमान्ले दिएको यातनाको गहिरो छाप छ मुमा हजुर (सगुना शाह)को स्मृतिमा । श्रीमान्को मृत्युपछि उनी आफूभन्दा निकै कम उमेरको युवा ‘कमल’सँग प्रेममा पर्छिन् । उनको त्यो प्रेमको दिगो हुँदैन । कमल उनीबाट टाढा भएको निकै वर्ष भइसकेको हुन्छ । उनमा अझै कमललाई भेट्ने चाहना र प्रयत्न छ । 

यता कमलको भने आफ्नै दुःख र पीडादायी कथा छ । उनको जीवनमा धेरै सङ्घर्ष छ । उनको जीवनका दुई रूप र परिचय छन् । कमल घिमिरे (सागर खाती कामी) र दीप दर्नाल (घिमिरे युवराज) । ऊ यी दुई परिचयको बीचमा च्यापिएको छ । ऊ आफ्नो जीवनको युवा अवस्थालाई सम्झन्छ, जुन समय ऊ रश्मिदेवी (पवित्रा खड्का)को प्रेममा परेको थियो । कमल भयानक सामाजिक विभेद र जातीय विभेदले पिल्सिन्छन् । उनी ‘कमल’ परिचयबाट मुक्ति चाहन्छन्, जसले उनलाई पूर्ण रूपमा दीप दर्नाल हुनबाट रोकेको छ । 

के मुमा हजुरले आफ्नो पुरानो प्रेमीलाई सजिलै भेट्टाउँछिन् ? के दीप दर्नाल ‘कमल घिमिरे’बाट मुक्त हुन सक्छन् ? यिनै कथानकमा पात्रहरूले नाटक विमोक्षभित्र सङ्घर्ष गरेका छन् । 

नाटक पछिल्लो समयमा नाटककै रूपमा लेखिएको अत्यन्तै सुन्दर कृति भएको निर्देशक खतिवडाको भनाइ छ । निर्देशकका हैसियतले नाटकमा आफूले केही पात्र, घटना र परिस्थितिलाई मोक्ष गर्न खोजेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मोक्ष त गर्न खोजेँ तर म आफैँ आसक्ति पण्डितहरूभित्र पर्छु, जो आफैँ कहिल्यै मोक्ष हुँदैन तर मोक्ष गराउने ल्याकत भने अवश्य राख्छ ।” चैत १८ गतेसम्म मञ्चन हुने नाटकमा सगुना शाह, घिमिरे युवराज, पवित्रा खड्का, सागर खाती कामीको अभिनय रहनेछ ।