• २० असार २०८१, बिहिबार

मच्छिन्द्रलाई सातौं राजर्षि जनक कप उपाधि

blog

उपाधिसहित मच्छिन्द्रका खेलाडी । तस्बिर : गोरखापत्र

जनार्जन खत्री

सर्लाही, फागुन ७ गते । सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले हात पारेको छ । 

सर्लाहीको बागमतीमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा जावलाखेल यूथ क्लबलाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्रले उपाधि उचालेको हो । 

३०औँ मिनेटमा विमल घर्तीमगरको गोलमा मच्छिन्द्रले अग्रता बनायो । अभिषेक गुरुङलाई जावलाखेलका खेलाडीले डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै विमलले टिमका लागि पहिलो गोल गर्नुभएको हो । 

मध्यान्तरसम्म १–० ले अघि रहेको मछिच्द्रका लागि खेलको ५३औँ मिनेटमा कप्तान सुजल श्रेष्ठले दोस्रो गोल गर्नुभयो । सौरभ लिम्वुको प्रहारमा जावलाखेलका गोलरक्षक अनिस देउलाको हातबाट रिवाउन्ड भएर आएको बललाई सुजलले जाली चुमाउनुभएको हो । 

८४औँ मिनेटमा जावलाखेलले एक गोल फर्कायो । उसका लागि वैकल्पिक खेलाडीको रुपमा मध्यान्तरपछि मैदान प्रवेश गर्नुभएका विनोद केसीले गोल गर्नुभएको हो । 

दिवाकर चौधरीले गोलरक्षक विशाल श्रेष्ठलाई दिएको गलत पासलाई सदूपयोग गर्दै विनोदले गोल गर्नुभएको हो । आइतबारको खेलमा मच्छिन्द्रका सुजल श्रेष्ठ म्यान अफ दि म्याच बन्दै १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

गत वर्षको शहीद स्मारक ए डिभिजन लिगको विजेता मच्छिन्द्रले पहिलो पटक राजर्षी जनक कपको ट्रफी उचाल्दै नगद १० लाख रुपियाँ प्राप्त गरेको छ । उपविजेता जावलाखेल भने उपबिजेता बन्दै ५ लाख रुपियाँमा चित्त बुझाएको छ । 

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बन्दै बागमतीका सिर्जन गौतमले ५१ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । यस्तै, प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर मच्छिन्द्रका विमल घर्तीमगर, उत्कृष्ट डिफेण्डर जावलाखेलका कप्तान सिमान्त थापा, उत्कृष्ट मिडफिल्डर जावलाखेलका समिराज ठोकर, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका प्रवेश कटुवाल बन्नुभएको छ । उहाँहरुले जनही २५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । 

त्यसैगरी, बागमती युवा क्लबले आफ्नो क्लबका उदीयमान खेलाडी घोषित गर्दै अभिषेक वाइवालाई दुई सय सीसीको एनएस पल्सर मोटरसाइकल प्रदान गरेको छ ।