• ७ वैशाख २०८१, शुक्रबार

गायक अलिफ खानसँग भिडियो संवाद

लोक दोहोरीमा अलिफको संघर्ष

blog

काठमाडौं, फागुन ७ गते। 

कालो सेतो नछुटाउ कलर

नपत्या भए सुन माया देखाउँला डलर 

सुन माया हिँचुलीमा हिउँ 

हिँचुलीमा हिउँ लर्के जोवन भन कसलाई दिऊँ। 

सांगीतिक क्षेत्रमा १२ वर्षदेखि निरन्तर संघर्ष गरिरहनु भएका गायक अलिफ खानको तीन साताअघि सार्वजनिक भएको यो लाइभ दोहोरी अहिले निकै चर्चामा छ। सामाजिक सञ्जाल टिकटकमा यस गीतले अझै धेरै चर्चा पाएको छ। सानैदेखि गायन क्षेत्रमा रुचि राख्ने अलिफ आजसम्म पनि सांगीतिक क्षेत्रमा संघर्षरत नै रहेको उहाँ बताउनुहुन्छ। उहाँले आजसम्म करिब एक सय १५ वटा गीत तथा हजारौं लाइभ दोहोरीमा स्वर दिइसक्नुभएको छ। सुरुवातमा दिनमा १२ वटासमेत लोक दोहोरी गाउने गरेको अनुभव अलिफ सुनाउनुहुन्छ।

अलिफका बनैमा मनैमा, पानी कुवाको जाली रुमाल बैना, झुम्के बुलाकीजस्ता गीत चर्चित छन्। मुस्लिम समुदायमा जन्मिएका अलिफको नेपाली लोक दोहोरीप्रति छुट्टै लगाव छ। उहाँ भन्नुहुन्छ, “म नेपाली हुँ र आफ्नो देशको कला संस्कृति जोगाउनु, यसको संरक्षण गर्नु तथा प्रयोग गर्नु मेरो जिम्मेवारी हो। भौगालिक हिसाबले पनि म पहाडी भएको कारण मलाई लोक गीत संगीतमा सानैदेखि रुचि थियो।” 

सांगीतिक क्षेत्रमा बाहिरी आवरणबाट मोहित भएर तथा यस क्षेत्रका चर्चित कलाकार जस्तै आफू पनि दर्शकमाझ लोकप्रिय हुने लोभमा उहाँको लोक सांगीतिक यात्रा सुरु भएको हो। तर उहाँहरुको बाहिरी आवरण वा जीवनशैली देखेर मोहित भएका अलिफलाई ती सबै वास्तिवक नभएर देखावती भएको उहाँको अनुभव छ। संघर्षका दिन सम्झिँदै गर्दा अलिफले गीत संगीतप्रतिको मोह पूरा गर्न ज्यामी कामसमेत गरेर गीत रेकर्ड गर्न पैसाको जोह गरेको सुम्झिनुहुन्छ। 

“गीत संगीत बुझेर म गायक बनेको हैन होला तर १२ वर्षको अवधिमा मैले धेरै सिकेँ र जाने”, उहाँ भन्नुहुन्छ, “यसबाहेक मलाई पेटीबाट आएका गायकसमेत भन्ने गर्छन् तर यो गलत हो। सांगीतिक क्षेत्रमा संघर्ष गर्दैगर्दा मे पेटीमा केही दिन सुतेँ। तर पेटीमा सुत्नुको कारण मेरो घर नभएर वा मैले बाटोमा मागेर खाएको भने हैन। यो सबै दर्शकमा यस विषयमा गलत छाप परेको छ।”

लोक दोहोरी गायक अलिफको १२ वर्षको निरन्तर संघर्षपछि नेपाली लोक दोहोरी सांगीतिक क्षेत्रमा दामभन्दा नाम ठूलो भन्ने सिकेको र बुझेको उहाँको मिठो अनुभव छ। यस्तै, नेपाली लोक दोहोरी संगीतमा अचेल उच्छशृखल शब्दको प्रयोग धेरै भएको पाइन्छ। अलिफका अनुसार कतिपयले जान्दाजान्दै यस्तो शब्दको प्रयोग गर्छन्। “तर मेरो सन्दर्भमा मैले यी शब्दको प्रयोग गरेको छैन। २५ मिनेटको लाइभ दोहोरीमा सामान्य शब्दको प्रयोग गरेर राम्रो गाउँने धुन मात्रै हुन्छ मेरो”, अलिफले भन्नुभयो।

यससँगै दोहोरी गीत संगीतलाई सभ्य, मर्यादित र आर्कषक बनाउनेमा लोकगायक आफैं जिम्मेवार रहने अलिफको अनुभव छ। छोटो समयको चर्चाको लागि यस्ता शब्दको प्रयोग गरिरहँदा नकारात्मक असर पर्ने सङ्ख्यासमेत बढिरहेको हुनसक्ने उहाँ बताउनुहुन्छ। गायक खानका अनुसार उच्छशृङ्खल शब्दको प्रयोग गर्ने गायक सँगसँगै इमान्दार भएर काम गर्नेलाई असर पर्ने गरेको छ। यसैकारण दर्शकले लाइभ दोहोरीप्रतिको आर्कषण घटेको उहाँको अनुभव छ। लोक दोहोरी गायक अलिफ खानसँगको कुराकानीका आधारमा तयार भिडियो संवाद : 

भिडियो : मनोजरत्न शाही र केशब गुरुङ।