• ६ वैशाख २०८३, आइतबार

नेपालगन्जमा वैशाख ७ देखि भर्ना, १५ गतेबाट पठनपाठन सुरु

blog

नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय भवन । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख ६ गते ।
संघीय सरकारले वैशाख १५ गतेपछि मात्र भर्ना प्रक्रिया सुरु गर्न सूचना जारी गरे पनि नेपालगन्ज उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि वैशाख ७ गतेदेखि विद्यार्थी भर्ना र वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख प्रशान्त विष्टको उपस्थितिमा बसेको उपमहानगरका प्रमुख सरोकारवालाहरूको बैठकले उक्त निर्णय गरेको नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार नेपालगन्जका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक महासंघ, प्याब्सन नेपालगन्ज, एन–प्याब्सन नेपालगन्जलगायत शैक्षिक सरोकारवालासँगको संयुक्त छलफलपछि निर्णय गरिएको हो ।

बैठकपछि महाशाखाले जारी गरेको पत्रअनुसार तत्कालका लागि नेपालगन्ज उपमहानगरपालिकाको शैक्षिक क्यालेन्डरअनुसार विद्यालय सञ्चालन गरिने उल्लेख छ । संघीय सरकारले स्थानीय तहको सहभागितासहित नयाँ कार्यतालिका सार्वजनिक गरेमा सोहीअनुसार कार्यान्वयन गरिने पनि पत्रमा उल्लेख गरिएको छ ।

बैठकको निर्णयअनुसार संस्थागत विद्यालयहरूले नेपाल सरकारको पाठ्यक्रमअनुसार तयार गरिएका पाठ्यपुस्तक कम्तीमा तीन वर्षसम्म निरन्तर लागू गर्नुपर्नेछ । साथै, सामुदायिक तथा धार्मिक विद्यालयहरूले भर्नासँगै सरकारी पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक विद्यार्थीलाई वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, संस्थागत विद्यालयहरूले उपमहानगरपालिकाले तोकेको मापदण्डभित्र रहेर मात्र विद्यार्थी शुल्क लिनुपर्ने निर्णय गरिएको महाशाखा प्रमुख थापाले बताउनुभयो ।