• ७ जेठ २०८१, सोमबार

कलाकारमा ‘ब्याटल रोप’को आकर्षण

blog

काठमाडौँ, फागुन ७ गते । कलाकारहरू आफूलाई व्यस्त मात्र होइन चुस्तदुरुस्त बनाउँदै फेसनेबल देखिन सधैँ आतुर हुन्छन् । नेपाली कलाकरमा पनि शारीरिक र मानसिक तन्दुरुस्ती कायम राख्ने ट्रेन्ड बढेको छ । नाटक होस् वा चलचित्र अभिनयको क्षेत्र राम्रो र आकर्षक शरीरको महŒवका लागि हिजोआज शारीरिक व्यायामका लागि ‘ब्याटल रोप’ युवामाझ निकै लोकप्रिय बनेको छ । 

छोटो समयको अभ्यासकै भरमा शरीरलाई सन्तुलित राख्न सकिने व्यायाम हो, ‘ब्याटल रोप’ । त्यसैले यसको लोकप्रियता बढ्दै छ । यो डोरीको सहायताले गरिने अभ्यास हो । यसलाई एरोबिक क्रियाकलापकै श्रेणीमा राखिन्छ । 

पावर जिमका प्रशिक्षक रोजल श्रेष्ठले ब्याटल रोपलाई हाई इन्टेसिटी ट्रेनिङको श्रेणीमा राखिएको जानकारी दिनुभयो । उहाँले यो अभ्यास गर्नाले प्रतिमिनेट १० क्यालोरीसम्म बर्न गर्न सकिने प्रस्ट पार्नुभयो । यो कसरत सही तरिकाले गरेमा मात्र राम्रो रिजल्ट आउँछ । यदि व्यायाम गरेको तरिका गलत भयो भने उल्टै बेफाइदा हुने चेतावनी पनि दिनुहुन्छ । श्रेष्ठले ३० देखि ५० फिट लामो र १ दशमलव ५ देखि २ इन्च चौडा डोरीको सहायताले यो व्यायाम गर्न सकिने जानकारी दिनुभयो । 

ब्याटल रोपका लागि आवश्यक उपकरण बजारमा खरिद गर्न वा व्यायाम प्रशिक्षक अथवा विज्ञसँग सल्लाह गरेर घरमै पनि यस्तो उपकरण बनाउन सकिने उहाँले बताउनुभयो । नायिका प्रियङ्का कार्कीले पनि ब्याटल रोपको व्यायाम गरेको बताउनुभयो । यो गर्न जति गाह्रो छ यसको परिणाम पनि उत्तिकै राम्रो आउने जानकारी उहाँले दिनुभयो । “छोरीको जन्मपछि आफ्नो शारीरिक बनावट फरक भएको हुनाले व्यायाम निकै आवश्यक हुन्छ,” उहाँले भन्नुभयो, “चलचित्र क्षेत्रमा फर्किन मेरो शारीरिक बनावट राम्रो हुनुपर्ने भएकाले व्यायाम गर्न थालेँ जसमा ब्याटल रोप पनि पर्छ । प्रशिक्षकको सहायताले गरेको हुनाले धेरै राम्रो भएको उहाँको अनुभव छ । उहाँ आफूले गर्नेभन्दा पनि विज्ञको सल्लाहअनुसार गरे निकै फाइदा हुने सुझाव दिनुहुन्छ । यता पूर्वमिस नेपाल अस्मि श्रेष्ठ पनि ब्याटल रोप मनपर्ने व्यायामका रूपमा लिनुहुन्छ । उहाँले शरीरको हरेक अङ्गलाई चलायमान गर्न यस व्यायामले मद्दत गर्ने बताउनुभयो । 

व्यायाम गर्ने तरिका 

ब्याटल रोप गर्ने बेला डोरीलाई अड्काउने, दुवै हातले त्यसलाई समात्ने र चलाउने गर्नुपर्छ । व्यायामको समय अगाडि फर्किएर हल्का झुक्नुपर्छ तर पछाडि फर्किएर झुक्नुहुँदैन । कुर्कुच्चामा भार नपर्ने गरी घुँडालाई मोड्नुपर्ने प्रशिक्षक श्रेष्ठको भनाइ छ । ० देखि ४० सेकेन्डसम्म व्यायाम गरेपछि २० देखि अधिकतम ६० सेकेन्डसम्म आराम गर्नुपर्छ । यसरी कसरत गर्दै र आराम गर्दै १० देखि ३० मिनेटसम्म अभ्यास गर्दा राम्रो हुन्छ । ब्याटल रोपका भिडियोहरू युट्युब वा सामाजिक सञ्जालमार्फत हेर्न सकिन्छ । थप जानकारीका लागि यस्तो अभ्यास गरिरहेका व्यक्ति वा विज्ञसँग परामर्श लिन सक्नुहुन्छ । 

फाइदा 

यसले घुँडा तथा जोर्नीको दुखाइ कम गर्छ । ३० देखि ५० फिट लामो र १ दशमलव ५ वा २ इन्च चौडा डोरीको सहायताले गरिने यस अभ्यासले मानिसको हृदयको क्षमतालाई पनि बढाउँछ । यस व्यायाममा मांसपेशी अलग–अलग तरिकाले सक्रिय हुन्छ । त्यसैले फ्याट बर्नसँगै मांसपेशी पनि बलियो हुन्छ । काँध वा बाइसेप्सको आसपास फ्याट घटाउँदै शरीरका हिस्सालाई फिट बनाउँछ । व्यस्त दिनचर्या हुनेका लागि यो सर्वश्रेष्ठ व्यायाम हो । यसमा थोरै समयमा धेरै क्यालोरी बर्न गर्न सकिन्छ । जसले आफ्नो शरीरको फ्याट कम गर्नका लागि घन्टौँसम्म कठिन परिश्रम गरेका हुन्छन्, उनीहरूका लागि यो व्यायाम छोटो बाटो हुन सक्छ ।