• २५ चैत २०८२, बुधबार

कार्यालयको सेवा एउटै कार्यकक्षबाट प्रदान गर्न सुरु

blog

सामाजिक विकास कार्यालय हुम्लाद्वारा एउटै कार्य कक्षमा वसेर सेवाग्रहीलाई सेवा प्रदान गरिँदै । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, चैत २५ गते । जिल्लाको सामाजिक विकास कार्यालयद्वारा कार्यालयको एउटा कोठाबाट सेवा प्रदान गर्न थालिएको छ । सेवाग्राहीहरुले एउटा कोठाबाट अर्को कोठामा धाइरहनुपर्ने बाध्यताबाट छुटकारा दिन यसरी सेवा प्रदान गर्न थालिएको हो ।

सेवाग्राहीहरु सेवा लिन चार वटा कार्य कक्षमा पुग्नु पर्ने र कुनै कागजात र प्रकृया नमिले पुन : जानु परि रहेपछि यस्तो झन्झटबाट छुटकारा दिन कार्यालय एउटा कार्य कक्षबाट सेवा प्रदान गर्न सुरु गरेको कार्यालय प्रमुख ईश्वर बहादुर सिंहले बताउनुभयो । यो सेवा कार्यालयले दिन सुरु गरेको हो । 

उहाँका अनुसार एक जना सेवाग्राहीले सुरुमा कागजातमा तोक लगाउन कार्यालय प्रमुखको कार्यकक्षमा जानु पर्ने, त्यसपछि प्रशासनको दर्ता चनालीमा जानु पर्ने, त्यसपछि योजना शाखामा जानु पर्ने र अन्तमा लेखा शाखामा जानु पर्ने र यो अवधिमा आवश्यक कागजात नपुगे वा नमिले पून सम्वन्धित फाँटमा जानु पर्ने भएपछि झन्झट हुने र यो झन्झटबाट सेवाग्राहीलाई मुक्ती दिन एउटै कार्य कक्षमा कार्यालय प्रमुखदेखि अन्य तीन वटा फाँटका कर्मचारी बसेर एकिकृत सेवा दिन सुरु गरिएको उहाँले बताउनुभयो । 

सेवाग्राहीका कागजात नमिले वा नपुगे कार्यस्थल मै थाहा हुने र फाँट फाँटमा दाडी रहनु पर्ने बाध्यता यो कार्यले हटेको उहाँले बताउनुभयो । 

यसअघि सेवाग्राहीले भोग्नु परि रहेको झन्झटलाई मध्यनजर गरि कार्यालयका कर्मचारीको सल्लाहमा यसरी सेवा दिन सुरु गरिएको उहाँले बताउनुभयो । 

कार्यालयको यो कार्यले सेवाग्राहीको समय पनि बचत र खर्चबाट पनि जोगिन सहयोग पुगेको छ । बिहिबार मात्र उक्त कार्यालयले दश जना सेवाग्रहीहरुलाई एउटै कार्यकक्षमा सेवा प्रदान गरेको थियो । 

पहिलो पटक यसरी सेवा लिन कार्यालय पुग्नु भएका सेवाग्राही खार्पुनाथ गाउँपालिका– ४ को माझाका नन्दबहादुर शाहीले दश मिनेटमा काम भएर फर्केको बताउनुभयो । उहाँ ठेक्काका लागि राखिएको धरौटी फिर्ता लिन कार्यालयमा पुग्नु भएको थियो । उक्त कार्यालयको सो कार्यले टाढाका वस्तीबाट आउनु भएको सेवाग्राहीहरुलाई निक्कै सहज भएको र छोटो समयमा काम सम्पन्न गरेर फिर्ता जान पाउने अवस्था तयार भएको उहाँको भनाई छ ।