लीलाधर वली
घोराही, चैत २५ गते । दाङको घोराहीमा प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ ।
प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा सुरु भएको प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ गुल्मी र पाल्पा र महिलातर्फ पाल्पा र रुपन्देही जिल्लाका टिमले विजयी सुरुवात गरेका छन् ।
घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समितिको मैदानमा भएको पुरुषतर्फको पहिलो खेलमा दाङलाई पराजित गर्दै गुल्मी जिल्लाको टिमले जित हात पारेको हो ।
बेष्ट अफ फाइभका आधारमा खेलाइएको खेलमा गुल्मीले दाङलाई ३–० को सोझो सेटमा हराउन सफल भएको थियो । गुल्मी पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा बिजयी हुन सफल भएको थियो ।
त्यसैगरी दोस्रो खेलमा बाँके जिल्लालाई ३–० को सेटमा हराउँदै पाल्पा जिल्ला विजयी भएको छ । पाल्पाले बाँकेलाई पहिलो सेट २५–१९, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१५ ले जित्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
त्यसैगरी महिलातर्फको प्रतिस्पर्धामा पनि पाल्पाले नै विजयी सुरुवात गरेको छ । पाल्पा जिल्लाको महिला टिमले नवलपरासी पश्चिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भएको छ । उक्त खेलमा पाल्पाले २५–१५, २५–६ र २५–२० को सेटमा जित निकाल्न सफल भएको थियो ।
त्यस्तै महिलातर्फको अर्को खेलमा रुपन्देहीले प्युठानमाथि ३–० को जित दर्ता गरेको छ । रुपन्देहीका महिला खेलाडीले उत्कृष्ठ प्रदर्शन गर्दै पहिलो सेट २५–१५, दोस्रो सेट २५–७ र तेस्रो सेट २५–१२ ले जित्न सफल भएका थिए ।
प्रदेश खेलकुद परिषदको आयोजनामा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका महिला तथा पुरुष टिमको प्रतियोगितामा सहभागीता रहेको छ । प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने दोश्रो हुने टिमले नगद ६५ हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता चैतको २८ गतेसम्म सञ्चालन हुनेछ ।