• २५ चैत २०८२, बुधबार

नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन

blog

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की

काठमाडौँ, चैत २५ गते । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहलाई उच्च प्राथमिकता दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममार्फत देशभरका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

महानिरीक्षक कार्कीले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई छिटो, छरितो र सहज सेवा प्रदान गर्न निर्देशन दिनुभयो । उहाँले कुनै पनि प्रभाव वा प्रलोभनमा संलग्न बिचौलियालाई तत्काल कानुनी दायरामा ल्याई बिचौलिया रहित, कानुनसम्मत र पारदर्शी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी सेवालाई थप प्रभावकारी बनाउन प्रत्येक कार्यालयले नागरिक सहजकर्ताको व्यवस्था गर्नुपर्ने र भए गरेका प्रगति विवरणको सूचना सेवाग्राहीलाई एसएमएस मार्फत जानकारी गराउन उहाँले निर्देशन दिनुभयो । “शून्य सहनशीलताको नीति अनुरूप प्रचलित कानुनद्वारा निर्देशित विधि र पद्धतिको पालना गर्दै निष्पक्ष एवं गुनासोरहित सेवा प्रवाह गर्न सबै प्रहरी कर्मचारी सदैव कटिबद्ध हुनुपर्छ,” महानिरीक्षक कार्कीले भन्नुभयो ।

अपराध अनुसन्धानका क्षेत्रमा वस्तुनिष्ठ र पारदर्शी ढङ्गले काम गर्न निर्देशन दिँदै उहाँले सीमा नाकामा हुने आपराधिक गतिविधि, गुण्डागर्दी, तस्करी र प्राकृतिक स्रोतको दोहनमा संलग्न विरुद्ध खरो रूपमा प्रस्तुत हुन प्रहरीलाई आग्रह गर्नुभयो।

यसै गरी सम्भावित विपद्जन्य घटनामा जनधनको क्षति न्यूनीकरणका लागि विशेष सतर्कता अपनाउन र पूर्वअभ्याससहित तयारीमा जुट्न समेत उहाँले निर्देशन दिनुभयो । भीड नियन्त्रण तथा व्यवस्थापनमा विगतका कमी–कमजोरीलाई सुधार गर्दै बल प्रयोगको सिद्धान्तलाई कडाइका साथ पालना गर्न र व्यावसायिकता प्रदर्शन गर्न उहाँको आग्रह थियो ।

सो अवसरमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी लगायतका उच्च प्रहरी अधिकारीको सहभागिता रहेको थियो ।