• २२ वैशाख २०८१, शनिबार

द्रुत मार्ग नबन्दा प्रभावकारी भएन चोभार बन्दरगाह

blog

काठमाडौँ, फागुन ५ गते  । काठमाडौँको चोभारमा निर्माण भएको चोभार सुक्खा बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन । व्यापार सहजीकरण गर्ने उद्देश्यसहित स्थापना भई सञ्चालन भएको एक वर्ष पुग्न लाग्दा न्यून परिमाणमा आयात–निर्यात भएको हो । 

इन्टरमोडल यातायात विकास समितिका अनुसार यो सुक्खा बन्दरगाह सञ्चालनमा आएको ११ महिना भएको छ । यो अवधिमा ९० कन्टेनर सामान बन्दरगाहमा आयात भएको छ भने चार कन्टेनर सामान निर्यात भएको छ । 

तेस्रो मुलुकमा तयारी पोसाक, कपडा, विद्युतीय सामान आयात भएका छन् । चोभार बन्दरगाहमा भित्रिएका ९५ प्रतिशत चिनियाँ वस्तु रहेका छन् । यस्तै नेपालबाट न्यून मात्रामा टेक्स्टाइल, ऊनी कपडा, हस्तकलाका सामान निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । 

दस करोड राजस्व सङ्कलन

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईले दैनिक पाँच सय कन्टेनर जाँचपास गर्ने क्षमता रहे पनि ११ महिनामा ९४ कन्टेनर मात्र जाँचपास भएको जानकारी दिनुभयो । बन्दरगाहबाट चालू आर्थिक वर्ष १२ करोड १२ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा अहिलेसम्म १० करोड रुपियाँ मात्रै सङ्कलन गरिएको जानकारी दिनुभयो । 

सामान आयात निर्यात न्यून हुँदा लक्ष्यअनुसार राजस्व सङ्कलन भएको भन्सार प्रमुख भट्टराईले बताउनुभयो । सामान आयात गर्न एलसी अनिवार्य खोल्नुपर्ने र काठमाडौँसम्म ल्याउन ढुवानी लागत उच्च पर्ने हुँदा कम सामान भित्रिएको उहाँको भनाइ छ ।

भौतिक प्रगति २१ प्रतिशत 

पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले तराई मधेश द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ भएकाले पनि बन्दरगाह लक्ष्यअनुसार सञ्चालन हुन नसकेको बताउनुभयो । 

“बाहिरी मुलुकबाट वीरगञ्ज हुँदै भित्रिएका सामान मुग्लिनको बाटो भएर यहाँ आउने गर्छन्, चोभार सुक्खा बन्दरगाहसम्म पुग्ने सडकको अवस्था राम्रो नहुँदा प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेको हो,” उहाँले भन्नुभयो । काठमाडौँको चक्रपथबाट चोभार बन्दरगाहमा पुग्ने सडक साँघुरो भएकाले ४० फुटे कन्टेनर जान नसक्ने उहाँले बताउनुभयो । 

आव २०७३-७४ मा निर्माण कार्य सुरु भएको दु्रत मार्गको भौतिक प्रगति २१ प्रतिशत मात्र भएको छ । निर्माणको काम नेपाली सेनाले गरेको छ । 

तत्कालका लागि गोदाम (वेयर हाउस) र पार्किङ स्थल सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समितिले बजारीकरण गर्दै जाने र दीर्घकालीन रूपमा द्रुत मार्ग निर्माण कार्यलाई तीव्रता दिनुपर्ने ओझाको भनाइ छ । 

इन्टरमोडल यातायात विकास समितिलाई प्राधिकरणका रूपमा विकास गरी नियमन गर्ने र बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिँदा बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन हुने उहाँको भनाइ छ । पार्किङ स्थल पनि अझै प्रयोग भएन गत वर्षको चैत २२ गते सञ्चालनमा आएको बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा नआउँदा गत शुक्रबारदेखि पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याएको हो । 

समितिले सुुक्खा बन्दरगाहको ८५ रोपनी जग्गामा गोदाम र पार्किङ स्थलका रूपमा प्रयोग गर्न खुला गरे पनि सेवाग्राही आएका छैनन् । बाटोमा रोकिएका मालवाहक कन्टेनर पार्किङ गर्न सो व्यवस्था गरिएको हो । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा दररेट कायम गरेर ढुवानी व्यवसायी महासङ्घ, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, ट्राफिक प्रहरीलाई जानकारी गराएको बताउनुभयो । पार्किङ र गोदामबारे प्रचारप्रसार भइरहेको र न्यूूनतम शुुल्क राखिएकाले सेवाग्राही बिस्तारै सेवा लिन आउने उहाँको भनाइ छ । 

बन्दरगाहमा भएको पूर्वाधारलाई अधिकतम प्रयोग गर्न न्यूूनतम शुुल्क राखेर पार्किङ स्थल, गोदाम प्याकेजिङ स्थल सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुुभयो । ४० सिट क्षमता भएको कन्टेनरको सामान लोड–अनलोड गरेको वार्षिक छ हजार रुपियाँ र २० सिट क्षमताको कन्टेनरको चार हजार रुपियाँ शुल्क निर्धारण गरिएको समितिले जनाएको छ । एक दिन मालवाहक सवारीसाधन पार्किङ गरेको एक सय रुपियाँ पार्किङ शुुल्क निर्धारण गरिएको छ ।

गोदामको लागि प्रतिवर्गफिट प्रतिमहिना ४५ रुपियाँ शुल्क निर्धारण गरिएको छ । सामान प्याकेजिङ गर्ने स्थलसमेत निर्धारण गरिएको छ । बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा १५० वटा पार्किङ क्षमता, एक हजार २९६ वर्गमिटर क्षमताको एउटा गोदाम घर, ८० मेट्रिक टन क्षमताको सवारी नापतौल, लोड–अनलोड, चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था रहेको छ ।

व्यापार सहजीकरण गर्ने उद्देश्यसहित विश्व बैङ्कको सहयोगमा निर्माण भएको बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि यसभित्र रहेको पूर्वाधारलाई प्रयोगमा ल्याउन पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याइएको हो । विश्व बैङ्कको एक अर्ब ५४ करोड रुपियाँ सहयोगमा २६० रोपनी क्षेत्रफलमा बन्दरगाह निर्माण गरिएको थियो ।