• ४ जेठ २०८१, शुक्रबार

फेसियलको बढ्दो लोकप्रियता

blog

काठमाडौँ, माघ २८ गते।  विवाहको मौसम सबैलाई सुन्दर त देखिनु नै प-यो। आफूलाई राम्रो र फरक देखाउन विभिन्न उपाय अपनाउने क्रममा अनुहारमा फेसियल गर्ने प्रचलन निकै लोकप्रिय बनेको छ। सामान्य भाषामा भन्नुपर्दा छालाको मृत कोषिकाहरू हटाएर अनुहारलाई चम्किलो र तरोताजा राख्न फेसियल गरिन्छ। धुलो, धुवाँका कारण छाला रुखो, सुक्खा भएर प्राकृतिक चमक हराएर अनुहारमा दाग–धब्बा, ब्ल्याक हेड, चाउरीपन, डार्क सर्कल देखिन्छ। यस्तोमा फेसियलले सफा गर्ने र छालालाई निखार्ने काम गर्छ।

अहिले युवापुस्तादेखि वृद्धवृद्धामा आफ्नो छालाको सुरक्षाका लागि फेसियल निकै लोकप्रिय बनेको सौन्दर्यविद् अन्जु शाहीले बताउनुभयो। उहाँका अनुसार फेसियल घरमा सम्भव हुँदैन। फेसियलको तरिका तालिमप्राप्त व्यक्तिलाई मात्र थाहा हुन्छ। “आफ्नो छालाअनुसार कस्तो प्रकारको फेसियल गर्ने भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ” उहाँले भन्नुभयो, “अनुहारको मसाज गर्ने एक विधि हो, जुन शारीरिक एवं मानसिक रूपमा आराम गर्नेसँग सम्बन्धित छ।” त्यसैले घरमा फेसियल गराउनुको सट्टा राम्रो सैलुनमा गराउँदाको फाइदा दोब्बर हुने दाबी गर्नुभयो। 

उहाँले फेसियल छालाको समस्या कस्तो छ, त्यहीअनुरूप गर्नुपर्ने प्रस्ट पार्नुभयो। “सबै जनालाई एउटै प्रकारको फेसियल उपयुक्त नहुन सक्छ,” शाहीले भन्नुभयो, “पछिल्लो समय धेरैजसोमा चाया–पोतोको समस्या छ। चिल्लो छाला भएकामा डन्डिफोर, एक्नेजस्ता समस्या देखिन्छ। यस्ता छाला भएकालाई त्यही किसिमको सौन्दर्य सामग्रीको प्रयोग गर्नुपर्ने हुन्छ।” त्यस्तै छाला रुखो र सुक्खा भएकालाई छालाको मोइस्चर बढाउने किसिमका फेसियल गराउनुपर्छ। सामान्य छाला भएकाले फ्रुट फेसियल गराउन सकिन्छ। यो प्राकृतिक भएकाले छालालाई असर गर्दैन। 

फेसियलको फाइदा

फेसियल हरेक २१ दिनमा गर्दा राम्रो मानिन्छ। २० वर्ष कटेपछि जोकोहीलाई फेसियल आवश्यक हुन्छ। यो एक योग नै हो। छालालाई बिग्रनबाट बचाउन नियमित फेसियल गराउनुपर्छ। छाला बिग्रिसकेपछि उपचार गराउन गाह्रो हुन्छ। त्यसैले समस्या भइसकेपछि उपचार गराउनुको सट्टा अगाडि नै छालाको हेरचाह गर्नुपर्छ। फेसियल सौन्दर्यसँग मात्र नभएर स्वास्थ्यसँग पनि जोडिएको हुन्छ। यसको प्रक्रिया गरिरहँदा तन, मन एकाग्र भएर रिल्याक्स भइरहेको हुन्छ। जस कारण चिन्ता र नकारात्मक विचार मनबाट हटेर जान्छ। यसले हाम्रो मानसिक स्वास्थ्यलाई पनि फाइदा पु-याइरहेको हुन्छ।

फेसियलको बेफाइदा 

फेसियल भनेको अनुहारको मसाज गर्ने एक विधि हो, जुन गलत मसाजले अनुहारमा झनै चाउरीपन देखिने हुन सक्छ। मसाजको टेक्निकहरू नजानिकनै फेसियल गर्दा छाला झोल्लिने, चाउरी हुने समस्या हुने गर्छ। त्यसैले घरमा फेसियल गराउनुको सट्टा राम्रो पार्लरमा गराउँदा यसको राम्रो फाइदा लिन सकिन्छ। प्रायःजसो फेसियल रसायनयुक्त उत्पादनबाट गरिन्छ, जसले गर्दा कहिलेकाहीँ छालामा केही समस्या देखिन सक्छ। छालाको प्रकारअनुरूप क्रिम प्रयोग नभएमा छालामा एलर्जी आउन सक्छ। धेरै पटक वा चाँडो फेसियल गराउँदा छाला रातो हुन्छ, पछि यसले समस्या निम्त्याउन सक्छ। 

फेसियल गर्दा ध्यान पु-याउनुपर्ने कुरा

 - कुनै पनि क्रिमले फेसियल गराउनुपूर्व उक्त क्रिमले छालामा नकारात्मक प्रभाव पार्छ/पार्दैन भनेर टेस्ट गराउनुपर्छ। अनुहारको छाला संवेदनशील हुने भएकाले जुनसुकै क्रिमको प्रयोग गर्नुहुँदैन।

-  फेसियल गराउन तालिमप्राप्त व्यक्ति वा विश्वासिलो सैलुनमा जानुपर्छ। यसो गरेमा छालामा कस्तो प्रकारको फेसियल आवश्यक छ, सोहीअनुसारको सुझाव पाउन सकिन्छ।

 - छालामा कुनै प्रकारको एलर्जी भए पहिले नै सौन्दर्यविद्लाई अवगत गराउनुपर्छ। अनुहारको छालामा कुनै औषधिको प्रयोग गरिरहेको भए त्यसको पनि जानकारी गराउनुपर्छ।

 - फेसियल गराउनासाथ तुरुन्त घामको प्रत्यक्ष सम्पर्कबाट बच्नुपर्छ। कम्तीमा पनि एक सातासम्म बिनासनस्क्रिन क्रिम, ह्याट वा छाताको प्रयोगबिना बाहिर निस्कनुहुँदैन।

 - अनुहारको छालामा सकेसम्म साबुनको प्रयोग गर्नुहुँदैन। फेसियल गरेको केही दिनसम्म साबुनको प्रयोग नगर्नु राम्रो हुन्छ। साबुनमा भएको रसायनले अनुहारको छालालाई असर पार्न सक्छ।

 - सनस्क्रिनको प्रयोग गर्न बिर्सनुहुँदैन। बाहिर निस्कँदा ‘५० एसपीएफ’ र घरभित्र ‘३० एसपीएफ’को सनस्क्रिन लगाउनुपर्छ। कतिपयले घरमै बस्ने हो भनेर सनस्क्रिन लगाउँदैनन्। घरमा बस्दा पनि सनस्क्रिन लगाउनुपर्छ। मोबाइलको उज्यालो विकिरणले पनि हाम्रो छालालाई हानि पु-याउँछ।