• १३ वैशाख २०८१, बिहिबार

अर्थतन्त्रको जग बसाल्ने हिमालयशमशेरको बिदाइ

blog

काठमाडौँ, माघ २३ गते । हिमालयशमशेर जबराको स्वस्थानी पूर्णिमाका दिन आइतबार बिहानै निधन भयो। ९५ वर्षअघि वि.सं. १९८४ माघ ७ गते स्वस्थानी पूर्णिमाकै दिन उहाँ जन्मनुभएको थियो।

हिमालयशमशेरको परिचयका लागि उहाँको नाम नै पर्याप्त थियो। नेपालले उहाँलाई नेपाली अर्थतन्त्रको जग हाल्ने व्यक्तिहरूमध्ये एकका रूपमा चिन्दछ। उहाँ नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएपछिको पहिलो अर्थ सचिव हुनुहुन्थ्यो। सुवर्णशमशेर जबराद्वारा २००८ माघ २१ गते प्रस्तुत नेपालको पहिलो बजेट निर्माताका रूपमा उहाँको योगदान अर्थतन्त्रको आधार तयार पार्ने व्यक्तिका रूपमा पनि थियो।

हिमालयशमशेरले करिब पाँचवर्षे अर्थसचिवको जिम्मेवारीमा रहँदा बजेटरी व्यवस्थापनका अतिरिक्त राजस्वका स्रोतको खोजीदेखि नेपाल–भारतबीच आयात–निर्यात व्यापारका विभिन्न नीतिगत व्यवस्थापनदेखि वैदेशिक लगानी भित्र्याउनेसमेत काम गर्नुभएको थियो। अर्थसचिवमा रहँदा खाइपाइ आएको चार सय रुपियाँ मासिक तलब भत्ताको ठाउँमा मासिक आठ सय रुपियाँ पाउनेगरी हिमालयशमशेर नेपाल राष्ट्र बैङ्कको गभर्नर बन्नुभएको देखिन्छ। 

रोलवाला राणा खान्दानकै लेफ्टिनेन्ट कर्णेल हिमालयशमशेर राणा शासनको बचाउमा कहिल्यै लाग्नुभएन। राजनीतिक रूपान्तरणको लक्ष्य मुलुकको आर्थिक–सामाजिक रूपान्तरण भएकाले उहाँ त्यसमा लाग्नुभएको यो एउटा उदाहरण मात्र हो। यस्ता अरू पनि घटना उहाँको जीवनसँग जोडिएका छन्। 

बजेट निर्माणदेखि नेपाल–भारत व्यापारमा नेपाल हित संरक्षणमा महत्वपूर्ण भूमिका 

नेपालको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कको पहिलो गभर्नरका रूपमा उहाँले गरेको योगदान अर्को महत्वपूर्ण पाटोका रूपमा रहेको छ। २०१३ वैशाख १० गतेको निर्णयअनुसार नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्त हुँदासम्म नेपाली भूमिमा तर भारतीय मुद्रामा खुला कारोबार हुन्थ्यो। नेपाली मुद्रासँग भारुको मूल्य निर्धारण व्यापारीको तजबिजी निर्णयले हुनेजस्ता मौद्रिक जटिलता थिए। यस्तै समस्या समाधानको सोचले नेपाल राष्ट्र बैङ्क स्थापना गर्न लागिएको थियो। बजेट निर्माणदेखि नेपाल–भारत व्यापारमा नेपाल हित संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण हिमालयशमशेरलाई नै राष्ट्र बैङ्कको गभर्नर नियुक्त गरिएको थियो। गभर्नरका रूपमा नेपाली नोटमा हस्ताक्षर गर्ने श्रेय पनि उहाँमा नै गयो।

त्योभन्दा ठूलो योगदान नेपाली भूमि खासगरी तराईमा व्याप्त भारतीय नोटको प्रचलन हटाउनु थियो। हिमालयशमशेरकै भनाइमा भारतीय नोट विस्थापन र नेपाली मुद्राको औपचारिक विनिमय दर  निर्धारणमा ठूलो मेहनतले साथ दिएको थियो। 

उहाँकै अध्ययनका आधारमा भारतीय एक सय रुपियाँ बराबर १६० रुपियाँ नेपालीको स्थिर विनिमय दर अहिले पनि कायम छ। पूर्वगभर्नर डा. तिलक रावलले नेपालको वित्तीय क्षेत्रको जग बसाल्ने अभिभावकका रूपमा हिमालयशमशेरलाई स्मरण गर्नुभयो। प्रतिकूल अवस्थामा पनि अनुकरणीय काम गर्ने व्यक्तिका रूपमा रावलले उहाँको स्मरण गर्नुभयो।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री हिमालयशमशेरको यो भूमिकालाई अत्यन्तै दूरदर्शी नेतृत्वका रूपमा स्मरण गर्नुहुन्छ। “गैरमुद्रा प्रणालीलाई नियमित गर्ने र नेपाली मुद्राको २०१३ सालमै कायम गरिएको विनिमय दर अहिले पनि भइरहेको छ भने त्यो कति दूरदर्शी र व्यावहारिक निर्णय भएको रहेछ,” उहाँले भन्नुभयो।  

भारतीय नोट विस्थापन र नेपाली मुद्राको औपचारिक विनिमय दर  भारतीय एक सय रुपियाँ बराबर १६० नेपाली रुपियाँ निर्धारण 

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको स्मरणमा हिमालयशमशेर योजनाबद्ध विकास सुरु गर्ने व्यक्ति हुनुहुन्छ। उहाँले भन्नुभयो, “वित्तीय योजना निर्माणमा हिमालयशमशेर सिद्धहस्त नै हुनुहुन्थ्यो, केन्द्रीय बैङ्कको स्वायत्तताका विषयमा अडान महत्वपूर्ण र स्मरणीय छन्।”  वि.सं. २०१७ को राजनीतिक परिवर्तन र खासगरी पञ्चायती व्यवस्था हिमालयशमशेरका लागि त्यति अनुकूल रहेन। त्यसपछि उहाँ संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा काममा लाग्नुभयो। पछिल्लो समयमा सन् १९९३ मा उहाँ फेरि बैङ्क व्यवस्थातिरै लाग्नुभयो। निजी क्षेत्रबाट उहाँले हिमालयन बैङ्कको स्थापना गर्नुभयो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर हिमालयशमशेर राणाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । प्रधानमन्त्रीले शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि राणाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। देउवाले राणाको पार्थिव शरीरमा कांग्रेस पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो। यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, सुनील थापा, उदयशमशेर राणालगायतले राणाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो। स्वर्गीय राणाको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो। उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ।