• ४ जेठ २०८१, शुक्रबार

मेहदी लगाउने उत्साह

blog

काठमाडौँ, माघ २१ गते । नेपाली समाजमा हिजोआज विवाहको मौसममा दुलहीले मेहदी लगाउने प्रचलन अनिवार्यजस्तै बनिसकेको छ। आयातित संस्कृतिको सिको गर्दै मेहदी कार्यक्रमले नेपाली समाजमा जरो गाडिसकेको  छ। सुन्दर फूलबुट्टासहित हातमा मेहदी लगाउन दुलहीहरू पनि उत्साहित भएका पाइन्छ। हरियो वा पहेँलो लुगामा सजिएर हरेक दुलहीका घरमा मेहदी कार्यक्रम भइरहेको हुन्छ। 

हत्केलामा भरिएको मेहदीको डिजाइन र गाढा रङ झट्ट हेर्दा आकर्षक र सुन्दर देखिन्छ तर आकर्षक देखिने मेहदीले शरीरमा कत्तिको असर गर्छ, त्यो कमैले मात्र सोच्नुभएको होला। सौन्दर्यकर्मी रमिला कार्की भन्नुहुन्छ, “मेहदी लगाउने हाम्रो पनि संस्कृति हो तर विवाहमा तामझाम गरी लगाउने चलन भने भारतबाट आएको हो।” चलचित्रको प्रभावका कारण पनि विवाहमा मेहदी, सङ्गीत, हल्दी कार्यक्रम आएको हो। 

“विवाह भनेको एक चोटि गरिने भएकाले रमाइलो र स्मरणीय बनाउन पनि विविध कार्यक्रम चाहिन्छ,” उहाँ थप्नुहुन्छ, “दुलही राम्री बन्न सोह्र शृङ्गार गर्ने सबैको इच्छा हुन्छ। त्यसैले पनि हातभरि मेहदी लगाइन्छ।” मेहदी लगाउँदा रसायन नभएर प्राकृतिक रूपमा बनेको मेहदी लगाउनुपर्छ। रसायनयुक्त मेहदीले गाढा रङ त बस्छ तर छालालाई त्यत्तिकै हानि गर्ने कार्कीको अनुभव छ। उहाँले आफूहरूले पनि दुलहीलाई मेहदी लगाउँदा प्राकृतिक रूपमा बनेको मेहदी मात्र लगाइदिने दाबी गर्नुभयो। 

यता छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार प्राकृतिक रूपमा वनस्पतिबाट बनाइएको र कृत्रिम रूपमा बनाइने गरी मेहदी दुई किसिमका हुन्छन्। प्राकृतिक रूपमा बनाइने मेहदीमा वनस्पतिबाट निकालिएको रङ हुने र यसलाई ‘पेस्ट’ बनाएर  घरमै पाइने ल्वाङ, नरिवलको तेल आदि मिश्रण गरिने जानकारी उहाँले दिनुभयो। प्राकृतिक रूपमा बनाइने मेहदीको रङ रातो र खैरो हुन्छ। पहिला–पहिला गाउँघरमा महिलाहरू प्राकृतिक रूपमा बनाइएको मेहदी लगाउँथे। “प्राकृतिक मेहदीले छाला वा स्वास्थ्यमा खासै असर पर्दैन,” डा. कर्णले भन्नुभयो, “प्राकृतिक मेहदी हातमा एक साता वा १० दिनसम्म मात्र बस्न सक्छ।”

यस्तै आफ्नो आवश्यकताअनुसारको रङ बनाएर प्रयोग गरिने मेहदी कृत्रिम हो। त्यो मेहदी प्राकृतिक रूपमा भन्दा पनि केमिकल मिसाएर बनाइएको हुन्छ। उहाँका अनुसार बजारमा पाइने कृत्रिम मेहदीमा ‘पारा–फेनाइलेनेदायमाइन’ नामक केमिकल मिसाइएको हुन्छ। यसले मेहदीको रङ गाढा बनाइदिन्छ। विकसित देशहरूमा यस्तो केमिकल मेहदीमा कति मिसाउने भनेर मात्रा निर्धारण गरिने जानकारी उहाँले दिनुभयो। 

महिलाले हातमा लगाउने मेहदी जति गाढा भयो त्यति नै बढी माया गर्ने पति पाइने विश्वास राखिन्छ। त्यसैले हरेक महिला आफ्नो हातमा मेहदीको रङ गाढा होस् भन्ने चाहन्छन् तर स्वास्थ्यका हिसाबले हेर्ने हो भने मेहदीको रङ हातमा जति गाढा बस्छ, त्यो मेहदी त्यति नै हानिकारक छ भन्ने सङ्केत पनि गर्छ। प्राकृतिक रूपमा मेहदी बनाउन सम्भव नभएको अवस्थामा बजारकै मेहदी लगाउनुपर्ने अवस्थामा पहिला आफूमा त्यो मेहदीले एलर्जी गर्छ वा गर्दैन भनेर जाँच गरेर मात्र लगाउनुपर्ने सुझाव डा. कर्णको छ।