• १४ वैशाख २०८१, शुक्रबार

विश्व क्यान्सर दिवस विशेष कुराकानी

‘समयमै उपचार गरे क्यान्सर पूर्ण निको हुन्छ’

blog

काठमाडौं, माघ २० गते। विश्वमा हरेक वर्ष विभिन्न रोगबाट लाखौँ नागरिकको ज्यान जान्छ। त्यसमध्ये क्यान्सर प्रमुख रोग हो। नसर्ने रोग भए पनि क्यान्सर विश्वव्यापी रूपमा मानव जातिकै लागि चुनौती बन्दै गएको छ। नेपालमा सबैभन्दा धेरै मानिसको मृत्यु नसर्ने रोगका कारणले हुने गर्छ। तथ्याङ्क अनुसार नेपालमा नसर्ने रोगबाट ७१ प्रतिशतको मृत्यु हुने गर्छ, जसमध्ये ९ प्रतिशतको मृत्यु क्यान्सरका कारण हुने गरेको छ। 

क्यान्सरलाई समयमा नै पहिचान गरेर राम्रोसँग उपचार गरे पूर्णरुपमा निको हुने चिकित्सकको भनाइ छ। भक्तपुर क्यान्सर अस्पतालका सर्जिकल अन्कोलोजिस्ट डा.पुण्यराम खर्बुजाका अनुसार मानव शरीर लाखौँ कोशिका मिलेर बनेको हुन्छ। सामान्यतया ती कोशीका उमेरसँगै स्वाभाविक र नियमित किसिमले बढ्छन्। यदि कोशिकाको समूहको अस्वाभाविक वृद्धि भएमा तिनै कोशिकाबाट शरीरमा  गिर्खा या ट्युमर बन्ने गर्छन् जसलाई क्यान्सर भनिन्छ।

विश्वमा फोक्सो, पाठेघर, आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा, स्तन र रगतको क्यान्सर हुनेको सङ्ख्या धरै छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार महिलामा स्तन क्यान्सर पहिलो र पाठेघरको क्यान्सर दोस्रो स्थानमा छ । त्यसैगरी पुरुषमा फोक्सोको क्यान्सर बढी देखिने गर्छ। क्यान्सर सबै उमेर समूहका मानिसलाई हुनसक्छ र यो रोग मानिसका जुनसुकै अङ्गमा लाग्ने चिकित्सक बताउँछन्।  

मानिस क्यान्सर रोग लाग्न साथ ‘अब मरिन्छ’ भनेर आत्तिने गर्दछन्। धेरै क्यान्सर भएका मानिसको मृत्यु समयमा रोगको पहिचान हुन नसकेर हुने गरेको भनाइ डा. खर्बुजाको छ। उहाँ भन्नुहुन्छ, “क्यान्सर लागेपछि मरिन्छ, धन सम्पत्ति सकिन्छ भन्ने गलत धारण छ। क्यान्सरलाई समयमा नै पहिचान गरेर राम्रोसँग उपचार गरे पूर्णरुपमा निको बनाउन सकिन्छ।”

नेपालमा नै क्यान्सरको राम्रो उपचार हुन्छ भन्ने कुरा थाहा नभएर धेरै विदेश गएर महँगो खर्च व्यहोर्न बाध्य छन्। डा. खर्बुजाका अनुसार, क्यान्सरको उपचारमा रोग अनुसार फरक फरक हुन्छ। उहाँ भन्नुहुन्छ, “क्यान्सर रोगको उपचार महँगो छ तर यति नै लाग्छ भन्ने यकिनका साथ भन्न सकिन्न, केमोथेरापीको पैसा फरक फरक हुन्छ।”

नेपाल सरकारले क्यान्सर रोगका विपन्न सेवा भनेर नागरिकलाई एक लाख बराबरको सहुलियत दिँदै आएको छ तर यति रकम पर्याप्त नभएको सरोकारवाला निकाय बताउँछन्। नेपालमा भक्तपुर क्यान्सर अस्पताललगायतका अन्य अस्पतालमा पनि क्यान्सरको उपचार हुँदै आएको छ। 

अस्पतालमा सम्पूर्ण उपचार हुँदैन भन्ने गुनासो पनि सुन्नमा आएका छन्। तर, भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार हुने अस्पतालले जनाएको छ। अस्पतालमा हाल बाल क्यान्सरदेखि ठूलो मानिसको सबै अङ्गको क्यान्सर उपचार सञ्चालनमा छ। सबै साथै क्यान्सरको शल्यक्रिया दैनिक जसो हुँदै आएको अस्पतालले जनाएको छ। अस्पतालले पछिल्लो समय शरीरमा घाउ नबनाई क्यान्सरको ट्युमरको शल्यक्रिया गर्ने गरेको छ।

अस्पतालले विभिन्न थेरापी माध्यमबाट क्यान्सरका बिरामीलाई थेरापी दिँदै आएको छ। अस्पतालमा हाल एउटा मात्रै रेडिएसन मेसिन रहेको छ। मेसिनमा दिनमा २५ जनालाई सेवा दिनुपर्नेमा बिरामीको चापले गर्दा दैनिक १२० जनाको हाराहारीलाई सेवा दिँदै आएको छ। बिरामीको चाप बढेसँगै बिहान सातदेखि राति १२ बजेसम्म सेवा दिइरहेको अस्पतालमा रेडियोथेरापी प्रमुख डा. सुरेशकुमार महर्जन बताउनुहुन्छ। सरकारले अर्को एउटा रेडिएसन मेसिन थपिदियो भने बिरामीको चाप कम हुने उहाँको विश्वास छ।

क्यान्सर वा अन्य दीर्घरोग लागेका बिरामीलाई जीवनको अन्तिम समयमा ‘प्यालिएटिभ केयर’ (नर्सिङ सेवा र सुविधा) दिइरहेको अस्पतालले जनाएको छ। प्यालिएटिभ केयर वार्ड इन्चार्ज राधिका माकजुले प्यालिएटिभ केयरमार्फत जीवनको अन्तिम समयमा बिरामी मानसिक तथा शारीरिक पीडा कम गर्ने गरेको बताउनुहुन्छ।  

सरकार र नागरिकलाई जागरूक गराउने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्व क्यान्सर दिवस मनाउने गरिन्छ। क्यान्सर धनी, गरिब सबैलाई हुन्छ। बिरामीले हेरचाहमा कुनै खाले विभेद झेल्नु नपरोस् भन्ने उद्देश्यले यसपालि ‘क्लोज द केयर ग्याप’ नारा दिइएको छ। विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर रोगसँग केन्द्रित भई भक्तपुर क्यान्सर अस्पतालका सर्जिकल अन्कोलाजिस्ट डा.पुण्यराम खर्बुजासँग गोरखापत्र अनलाइनका लागि सिर्जना खत्री, मनोजरत्न शाही र केशब गुरुङले क्यान्सरको विषयमा गर्नुभएको भिडियो कुराकानी :  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।