काठमाडौँ, असोज २८ गते । स्वास्थ्य बिमा बोर्डले कडा रोगको फलोअप उपचारका लागि पुन: रिफर लिनु नपर्ने व्यवस्था गरेको छ ।
बोर्डले क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, अल्जाइमर जस्ता कडा रोगका लागि पुनः रिफर लिनु नपर्ने निर्णय गरेको छ ।
स्वास्थ्य बिमा बोर्डले बीमित सेवाग्राहीलाई प्रेषण प्रक्रिया सहज बनाउन नयाँ व्यवस्था लागु गर्दै कडा रोगको फलोअप उपचारका लागि पुनः रिफर लिनु नपर्ने निर्णय गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक स्तरको मिति २०८२ असोज २७ बीमितले प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रक्रियागत समस्या र गुनासाको सम्बोधन गर्न नौ बुँदे निर्णय गर्दै यस्तो निर्णय गरेको बोर्डका उपसचिव पुण्य माया गुरागाईले जानकारी दिनुभयो ।
बोर्डका उपसचिव गुरागाईले अति गरिब,अति अशक्त अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल क्षयरोगी, ७० वर्षमाथिका जेष्ठ नागरिक र महिला स्वास्थ्य स्वयंसेविकाका हकमा पनि सोही सुविधा लागु हुने बताउनुभयो ।
यस्तै, आँखा स्वास्थ्यसम्बन्धी जटिल समस्या, गर्भवती तथा सुत्केरी महिला (जटिल प्रसूति वा सिजेरियन) र दम, सिजोफ्रेनिया, बाइपोलर डिसअर्डरजस्ता मानसिक रोगका बिरामीलाई पनि फलोअप उपचारका लागि पुन: प्रेषण आवश्यक नपर्ने उहाँको भनाइ छ ।
एउटै रोगको लागि गरिएको प्रेषण सेवाले सोही रोगको फलोअपमा पर्याप्त ठहरिने बोर्डले उल्लेख गरेको छ । उहाँका अनुसार आकस्मिक सेवा लिई त्यसै रोगको फलोअप गर्नुपर्ने भएमा पनि नयाँ रिफर आवश्यक पर्दैन ।
यदि प्रेषण भई उपचारको क्रममा अर्को रोगको पनि परीक्षण आवश्यक भएमा सोही अस्पतालभित्रै अर्को विभागमा रिफर मार्फत सेवा लिन सकिनेछ। तर, उक्त विभागमा पुनः फलोअप गर्नुपर्ने अवस्थामा भने नयाँ रिफर आवश्यक हुनेछ । बोर्डले प्रेषण केन्द्रबाट पनि सेवा अपुग भएको अवस्थामा नजिकैको अर्को अस्पतालमा प्रेषण गर्न निर्देशन दिएको छ ।
साथै, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति र शारीरिक रूपमा कमजोर बीमितलाई सहज र सुनिश्चित सेवा उपलब्ध गराउन अस्पताललाई व्यवस्था मिलाउन आग्रह गरेको छ ।
अस्पतालले बिरामीको प्रेस्क्रिप्सनमा फलोअपको सम्भावित मिति वा अवधि अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने र हरेक पटक क्लेम गर्दा पहिलो रिफर नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ ।
स्वास्थ्य बीमा सेवामा आउने बीमितको सुविधा वृद्धि र प्रशासनिक जटिलता घटाउने उद्देश्यले यो निर्णय गरेको बोर्डले जनाएको छ । बोर्डले ३७७ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकनुका साथै ९८ रिफरल स्वास्थ्य संस्था तोकेको छ ।
बोर्डले सङ्घीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानलाई प्रेषण केन्द्रका रूपमा राखेको छ । बोर्डमा हाल ९४ लाख बिमित आबद्ध छन् ।