• १४ वैशाख २०८१, शुक्रबार

पोखरामा विद्यालय नाटक महोत्सव

blog

पोखरा, माघ १४ गते । तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव २०७९ आजबाट सुरु भएको छ । नाटक गैह्रापाटन पोखरामा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको छ । नाटक महोत्सवका लागि १९ नाटक छनोट भएका छन् । ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ सुरु भएको महोत्सवमा गण्डकी प्रदेशका सात जिल्लाका नाटक छानिएका छन् ।  

महोत्सवको पहिलो दिन शनिबार दुईवटा नाटक प्रगति माध्यमिक विद्यालयको ‘करेसा कन्सर्ट’ र तनहुँको व्यास दिव्यज्योति बोर्डिङ स्कुलको ‘गुलेली मास्टर’, मञ्चन हुनेछन् । महोत्सवको दोस्रो दिन विन्ध्यावासिनी माध्यमिक विद्यालयको ‘तुलसी’, म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयको ‘जल्न नसकेको लास’, नवदीप बोर्डिङ स्कुलको ‘दुई देशको भीर गाथा’, तेस्रो दिन बालमन्दिर माध्यमिक विद्यालयको ‘आमाको माया’, लमजुङको विद्याज्योति माध्यमिक विद्यालयबाट ‘मुक्ति’, छोरेपाटन माध्यमिक विद्यालयको ‘कन्यादान’, चौथो दिन नेपाल नमुना माध्यमिक विद्यालयको ‘विदेश मोह’, बागलुङको रुद्रेपीपल माध्यमिक विद्यालयको ‘जिम्मेवार’, हिल प्वाइन्ट स्कुलको ‘छुने नजर’ मञ्चन हुनेछन् । 

त्यसैगरी पाँचौँ दिन देवचुली माध्यमिक विद्यालयबाट ‘परिवर्तनपुर’, विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलको ‘प्रत्यागमन’, स्याङ्जा मिर्मी आधारभूत विद्यालयको ‘महिनावारी’, छैटौँ दिन कास्की मोडनाइज्ड एकेडेमीको ‘पश्चाताप’, माछापुच्छे« माध्यमिक विद्यालयको ‘चित्कार’, प्रतिभा माध्यमिक विद्यालयको ‘यात्रा राजधानीको’, सातौँ दिन वेलनोन एकेडेमीको ‘जिउँदा अवशेषहरू’, भानुभक्त आवासीय माध्यमिक विद्यालयको ‘समय पीडा’, करुणानिधि एजुकेसन फाउन्डेसनको ‘लौ आयो ताजा खबर’ र महोत्सवको अन्तिम दिन अतिथि मञ्चनअन्तर्गत काठमाडौँको नाटक ‘धुमधामको घुमघाम’ मञ्चन हुनेछ । 

नाटक मञ्चनसँगै फरक–फरक विषयमा दैनिक कार्यशाला र बहससमेत आयोजना गरिने महोत्सवका निर्देशक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो । यसअघि दुई संस्करणको गण्डकी प्रदेशले विद्यालयस्तरीय नाटक महोत्सव भव्यताका साथ सम्पन्न गरेको थियो । यस महोत्सवको छनोट समितिको संयोजकमा वरिष्ठ कलाकार प्रकाश घिमिरे, अन्य सदस्यमा कलाकार तथा निर्देशक माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहनुभएको थियो । महोत्सव माघ २१ गतेसम्म आयोजना हुनेछ ।