• १५ वैशाख २०८१, शनिबार

चलचित्रमा जासुसीको कथा

blog

काठमाडौँ, माघ ११ गते । चलचित्र ‘मिसन मज्नु’ एउटा यस्तो भारतीय नायकको कथा हो, जसको बहादुरी र जासुसीको कारणले पाकिस्तानले महँगो मूल्य चुकाउनुपर्छ। शान्तनु बागचीद्वारा निर्देशित चलचित्रले फेरि एक पटक भारतीय गुप्तचर संस्था ‘रअ’को एजेन्ट क्षमतालाई बाहिर ल्याउन खोजेको छ। 

चलचित्रले ७० को दशकलाई चित्रण गर्छ, जहाँ प्रधानमन्त्री इन्दिरा गान्धीको नेतृत्वमा सन् १९७४ मा भारतले पहिलो पटक सफल परमाणु परीक्षण गरेको थियो। भारतको यो उपलब्धिबाट पाकिस्तान स्तब्ध भई गोप्य रूपमा परमाणु बम बनाउने अभ्यासमा संलग्न हुन्छ। 

सत्य घटनाबाट प्रेरित यस काल्पनिक कथामा अमनदीप अजितपाल सिंह उर्फ ​​तारिक (सिद्धार्थ मल्होत्रा) भारतीय जासुस हुन्छन्। उनलाई भारत सरकारले त्यहाँको गतिविधिबारे जानकारी गराउन लुगा सिलाउने दर्जीका रूपमा पाकिस्तान पठाएको हुन्छ। अमनदीपका बुवालाई देशद्रोहीको आरोप लागेको हुन्छ र त्यो आरोप हटाउन उनी कुनै पनि हद पार गर्न तयार हुन्छन्। उनलाई ले एउटा मिसन दिएको छ। उनले पाकिस्तानले परमाणु संयन्त्र कहाँ बनाउँदै छ भन्ने कुरा पत्ता लगाउनुपर्ने हुन्छ र त्यसलाई रोक्नुपर्छ। जासुसीको यस मार्गमा, अमनदीप दृष्टिविहीनको भूमिकामा देखिएकी नायिका नसरिन (रश्मिका मान्डणा)को प्रेममा पर्छन्। दुवैले विवाह पनि गर्छन् र अमनदीप बुवासमेत बन्छन् तर वास्तविकतामा रश्मिका भारतीय गुप्तचर एजेन्टको आवरण हुन्छिन्। यो कुरा अमनदीपलाई थाहा हुँदैन। 

यसअघि पनि भारतीय जासुसमाथि ‘एक था टाइगर’, ‘बेबी’, ‘मास क्याफे’, ‘राजी’, ‘मुखवीर’जस्ता धेरै चलचित्र बने। यस चलचित्रमा निर्देशक बागचीले चलचित्रमा पुरानै सूत्र अपनाएका छन्। चलचित्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको यसको सस्पेन्स र थ्रिल नै हो। चलचित्रमा धेरै कुराको कमी छ। पात्र छनोटमा धेरै लापरबाही गरिएको छ। चलचित्रभित्र देशभक्तिको भावना पनि खासै जोडिएको देखिँदैन।

चलचित्रको गीतसङ्गीत सुमधुर छ। जुबिन नौटियाल र सोनु निगमको स्वरमा ‘रब्बा जान्दा’ र ‘माटी को माँ कहते हैं’ गीत कर्णप्रिय छ। अभिनेता सिद्धार्थले पाकिस्तानमा गैरकानुनी रूपमा निर्मित आणविक भट्टीलाई तोडफोड गर्ने मिसनमा एक गुप्तचरले अमनदीपका रूपमा आफूलाई बाहिर ल्याउने प्रयत्न गरेका छन् । त्यस्तै नायिका रश्मिकाको भूमिकाले धेरैलाई प्रभावित बनाउँछ। उनको भूमिकाबारे कसैले पनि अनुमान लगाउन सक्दैनन्। उनी दृष्टिविहीनको भूमिकामा देखिएकी छन्।  जाकिर हुसैनको काम उल्लेखनीय छ। जिया उल हकको भूमिकामा अश्वित भट्ट प्रभावशाली देखिन्छन्। ‘रअ’ प्रमुखको भूमिका परमित सेट्ठीलाई सुहाएको छ।