• २५ चैत २०८२, बुधबार

जयन्दु बाल सुधारगृहलाई खेलकुद सामग्री

blog

बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण गरिदै । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, चैत २४ गते । विश्व खेलकुद दिवसको अवसरमा गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाँकेको डुडुवा –६ मा रहेको जयन्दु बाल सुधारगृहलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । 

सुधार गृहमा रहेका बालकहरुलाई विभिन्न खेल खेल्न सहज होस् भन्ने उद्देश्यका साथ सो खेलकुद सामग्री हस्तान्तरण गरिएको गोपाल नीना फाउन्डेसनका सहनिर्देशक डा. तृप्तीपाल रमणले बताउनुभयो । 

उहाँका अनुसार एक कार्यक्रमबिच बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र गुरुङले बाल सुधार गृहका प्रमुख किशोर शर्मालाई सो खेलकुद सामग्री हस्तान्तरण गर्नुभयो । 

सामग्री हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले कानुनी विवादमा परेका बालकहरूको आवश्यकतालाई ध्यानमा राखेर खेलकुद सामग्रीहरु उपलब्ध गराएकोमा फाउन्डेशन परिवारलाई धन्यवाद दिनुभयो ।

उहाँले यस्ता सामग्रीले बालकहरुको शारीरिक विकाससँगै उनीहरुको समयलाई सदुपयोग गर्ने अवसर पनि प्रदान गर्ने बताउनुभयो । वरिष्ठ पत्रकार तथा समाजसेवी पूर्णलाल चुकेले फाउन्डेशनले स्थापनाकालदेखि बिना बाह्य सहयोग शिक्षा, स्वास्थ्य, नियमित रक्तदानजस्ता मानवीय कार्यक्रमहरु आयोजना गर्दैआएको बताउनुभयो ।

उहाँले बाल सुधारगृहको माग र बालकहरुको रुचीअनुसारका खेल सामग्रीहरु उपलब्ध गराइएकोमा पाउन्डेशनको सराहना गर्नुभयो । 

जयन्दु बाल सुधारगृहका कार्यालय प्रमुख किशोर शर्माको अध्यक्षता तथा इन्सेकका प्रदेश प्रमुख भोला महतद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा बाल सुधारगृहका जग्गादाता दानवीर जयकेश सिंह, गोपाल नीना फाउन्डेशन नेपालका कार्यालय प्रमुख दिलीप सिंह लगायत बाल गृहमा आश्रित २०२ जना कानुनी विवादमा परेका बालकहरूको उपस्थिति थियो ।