• १२ साउन २०८१, शनिबार

हिउँदे वर्षा अझै अनिश्चित

blog

काठमाडौँ, माघ ७ गते । यो वर्षको मध्यहिउँद हुँदासमेत हिउँदे वर्षा र राम्ररी हिमपात भएको छैन। वर्षा र हिमपात नहुँदा प्रदूषणले पर्यावरणीय अवस्थिति गुम्सिँदै गएको मौसमविद्हरूले बताएका छन्। 

यस वर्ष जुम्ला र सुदूरपश्चिमका हिमाली भेगमा बिहीबार पहिलो पटक हल्का हिमपात भएको छ। हालसम्म हिउँदको वर्षाका रूपमा नेपालमा ०.१ मिलिमिटर मात्र वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। 

वरिष्ठ जलवायु विश्लेषक डा. इन्दिरा कँडेलले भन्नुभयो, “मनसुन बाहिरिएयता झन्डै साढे तीन महिना सुक्खाजस्तै रह्यो। अझै पनि वर्षा राम्ररी हुने जलवाष्पयुक्त प्रणाली नेपालमा भित्रिन सकेको छैन।” 

नेपालमा मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको अवधिलाई हिउँदे अवधि मानिन्छ। जलवायु विश्लेषण शाखाले गरेको अध्ययनअनुसार गत वर्ष हिउँद सुरु भएदेखि जनवरी १८ सम्म २७.१ मिलिमिटर वर्षा भएको थियो। यस अवधिमा पूरै हिउँदभरिमा ७५ मिलिमिटर वर्षा भएको थियो। सामान्यतया सरदर वर्षाको आँकलनअनुसार यस अवधिमा २२.६ मिलिमिटर वर्षा हुनेगरेको छ। सरदर वर्षा भन्नाले विगत ३० वर्षको वर्षाको विश्लेषण गरेर निकालिने वर्षाको दर भन्ने बुझिने कँडेलले जानकारी दिनुभयो। पूरै हिउँदमा भने सरदर ६०.१ मिलिमिटर वर्षा हुने गरेको छ। 

पूर्वानुमानअनुसार यस वर्षको हिउँद पहिलेको तुलनामा न्यानो हुने आँकलन भए पनि वर्षा नै नभएर सुक्खा हुने अनुमान गरिएको थिएन। वर्षा मात्र होइन, यस वर्ष नेपालमा हिमपातमा पनि ढिलाइ भएको छ। पहिलो हिमपातका रूपमा बिहीबार मात्र जुम्लाले हिउँ देख्न पाएको छ। जुम्ला नेपालको चिस्यान मापन गर्ने प्रमुख थर्मोमिटर स्थलका रूपमा मानिँदै आएको छ। हिमरेखा नजिक छोएका मनाङ, मुस्ताङ, डोल्पालगायतका क्षेत्रमा पनि हिउँ पर्न सकेको छैन। 

जलवाष्पयुक्त प्रणाली अझै आएन

नेपालमा हिउँदमा वर्षा गराउने जलवाष्पयुक्त प्रणालीको बलियो स्वरूप हालसम्म नआएको मौसमविद्हरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो, “एक त टाढाको यात्रा, त्यसमाथि जलवाष्पयुक्त प्रणालीको अभाव नै वर्षा हुन नसक्नुको प्रमुख कारक हो।”

मनसुनमा नेपालमा हिन्द महासागर र बङ्गालको खाडीबाट सिधै मनसुनी वायु पूर्वी नेपाल हुँदै प्रवेश गर्छ र छिटो वर्षा हुने सम्भावना हुन्छ तर हिउँदमा पृथ्वीको पश्चिमी गोलाद्र्धमा रहेको भूमध्यसागरमा प्रणाली उत्पन्न भएर प्रशान्त र कालोसागर हुँदै पश्चिमी वायुसहितको प्रणाली आउने गर्छ। मानन्धरका अनुसार बलियो प्रणाली नभएका खण्डमा आउँदाआउँदै ती प्रणालीबीचमै हराएर जाने गर्छन्। विगतका खडेरीयुक्त वर्षहरूमा मध्य र पूर्वतर्फ नआइपुगे पनि पश्चिम नेपालसम्म त्यस्ता प्रणालीले हल्का भए पनि वर्षा गराउने गरेको थियो। 

वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले कतिपय अवस्थामा वर्षा मौसममा वर्षा गराउने प्रणालीका रूपमा प्रशान्त महासागरमा विकास भएको प्रणाली हिउँदमा विकास भइदिँदा हिउँदे वर्षामा असर पर्ने गरेको जानकारी दिनुभयो। यस प्रणालीले वर्षे प्रणालीलाई जति सहयोग गर्छ, त्यति नै हिउँदे प्रणालीलाई निष्क्रिय तुल्याउन भूमिका खेल्छ। 

वर्षा नहुँदा तुवाँलो वृद्धि हुन्छ र भिजिबिलिटीमा कमी आउने गर्छ। तुषारो, हुस्सु र कुहिरोमा धुलोधुवाँका कण मिसिएर थप बाक्लो बनाइरहेको उहाँले बताउनुभयो। हिमालमा हिमपात नहुँदा ती क्षेत्रमा लगाएका गहुँ, जौ र उवालगायतका अन्नबाली सुक्न थालेका छन्। फलेका स्याउ रसविहीन बन्न थालेको जानकारी आएको जलवायु विश्लेषण शाखाले दिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार अर्को हप्ता नेपालमा पश्चिमी वायुले वर्षा गराउनसक्ने प्रणाली आउँदैछ तर त्यो प्रणाली अझै नेपालदेखि धेरै टाढा रहेकाले पहिलेकै जस्तो बीचमै हराएर जानसक्ने सम्भावना पनि उत्तिकै बलियो रहेको छ।