• २७ वैशाख २०८१, बिहिबार

फायर हाइड्रेन्ट प्रयोगविहीन

blog

काठमाडौँ, पुस १४ गते । उपत्यकाका सडक किनारामा ठड्याइएका फायर हाइड्रेन्टलाई मेलम्ची खानेपानीको पाइपलाइनसँग अझैसम्म जोडिएको छैन। यसले गर्दा आगलागी हुँदा ती फायर हाइड्रेन्ट प्रयोग गर्न सकिँदैन।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाका अनुसार अहिलेसम्म चक्रपथभित्र २५० स्थानमा फायर हाइड्रेन्ट जडान भइसकेका छन्। चक्रपथभित्र थप २५० स्थानमा फायर हाइड्रेन्ट जडान गरिनेछ। उपत्यकामा अन्य स्थानको तुलनामा चक्रपथभित्र घनाबस्ती र आवादी भएको हुनाले पहिलो चरणमा यस क्षेत्रमा मात्र फायर हाइड्रेन्ट जडान गर्न लागिएको हो। थप माग र आवश्यकताका आधारमा अन्य स्थानमा जडान गरिनेछ। 

फायर हाइड्रेन्टलाई प्रयोगमा ल्याउनका लागि खानेपानी पाइपलाइनसँग जडान गर्नुका साथै मुखसमेत बन्द गर्नुपर्छ। सबै फायर हाइड्रेन्टको मुख खुलै छाडिएको छ। आगलागी हुँदा दमकलले फायर हाइड्रेन्टमा पाइप जडान गरी पानी भर्न पाउँछ। फायर हाइड्रेन्ट प्रयोग गर्न मिल्ने भएपछि आगलागीका समयमा दमकललाई पानी खोज्ने समस्या रहँदैन।

निर्देशनालयका निर्देशक सापकोटाले गत वर्ष नै चक्रपथभित्रका घना बस्ती, सिंहदरबार परिसरलगायत क्षेत्रमा फायर हाइड्रेन्ट जडान गरिए पनि मेलम्चीको पानी नियमित हुन नसक्दा खानेपानीको पाइपलाइनसँग जोड्न नसकिएको बताउनुभयो। गत वर्ष र यस वर्ष पनि पानी वितरण गरिए पनि पानीको आवश्यक तह पुग्न नसक्दा खानेपानी पाइपलाइन जडान हुन नसकेको बताइएको छ।

उहाँले भन्नुभयो, “पाइपभरि पानी आएका बेलामा मात्र फायर हाइड्रेन्टमा पानी पुग्न सक्छ। आवश्यक तहभन्दा अलिकति पनि पानी कम भएको अवस्थामा फायर हाइड्रेन्टमा पुग्न सक्दैन।” यसअघि वितरण प्रणालीमा मेलम्ची खानेपानी पूर्ण मात्रामा प्रवाह नभएकाले फायर हाइड्रेन्ट सञ्चालनमा ल्याउन नसकिएको स्पष्ट पार्दै उहाँले अब मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै फायर हाइड्रेन्टको पानी पुनः परीक्षणको काम सुरु गरिने बताउनुभयो।