भक्तपुर, माघ ९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुरका दुईवटा निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल र दुई सय ३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।
मतदानका लागि उपकेन्द्र भने थप गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमख प्रकाश मगरले जानकारी दिनुभयो ।
उहाँले यसअघि दुई सय २२ वटा मतदान उपकेन्द्र रहेकामा यस वर्ष १३ वटा थप गरी दुई सय ३५ पुर्याइएको बताउनुभयो । उहाँका अनुसार क्षेत्र नं १ र २ मा गरी दुई लाख पाँच हजार ४१० जना मतदाता छन्।
भक्तपुर निर्वाचन क्षेत्र नं १ मा ३७ वटा मतदानस्थल र एक सय १९ मतदान केन्द्र निर्धारण गरेको मगरले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन क्षेत्र नं २ का लागि ३९ मतदानस्थलमा एक सय १४ मतदान केन्द्र निर्धारण गरेको छ ।
कार्यालय प्रमुख मगरले निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिता पूर्ण परिपालनका लागि उम्मेदवार एवं दलहरूलाई आग्रह गर्नुभयो ।