अनिल पराजुली
हेटौँडा, माघ ८ गते । हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडकअन्तर्गत बकैया गाउँपालिका–११ आपचौरको मोडमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो भएको दुर्घटनामा पर्सा, बीरगन्ज महानगरपालिका –१० पानीट्याङकीका ५० वर्षीय अनुराग श्रेष्ठको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । जितपुर भन्ज्याङबाट ठिंगनतर्फ जाँदै गरेको बा.प्र.०३–००१ क ०९५२ नम्बरको बलगर ट्रकले म.प्र.०३–०३९ प ५६४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । मृतकको शव हेटौँडा अस्पतालमा राखिएको छ । दुर्घटनामा संलग्न ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।