यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), माघ ९ गते । बर्दियामा प्रतिनिधि सभाको निर्वाचनका लागि तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् । एक जना उम्मेदवारको उम्मेदवारी खारेज भएको छ ।
बर्दिया क्षेत्र १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार राजु रानाभाटले उम्मेदवारी फिर्ता लिनुभएको छ । क्षेत्र २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीकै उम्मेदवार नेत्रराज आचार्य र स्वतन्त्र उम्मेदवार नुतनकुमार चौधरीले उम्मेदवारी फिर्ता लिनु भएको हो ।
त्यसैगरी आम जनता पार्टीका उम्मेदवार रामेश्वर चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीको नाम सरकारी निकायमा कालोसुचीमा रहेकाले उम्मेदवारी खारेज भएको बर्दिया क्षेत्र २ निर्वाचन कार्यालयले जनाएको छ ।
उम्मेदवारी खारेजीपछि बर्दिया क्षेत्र २ मा १५ जना उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको छ । १५ जनामध्ये उम्मेदवार नेकपा (एमाले) बाट विमला विक. र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट निता शर्मा महिला उम्मेदवार रहेका छन् ।
बर्दिया क्षेत्र १ मा एक जनाको उम्मेदवारी फिर्ता भएपछि २१ जना उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको छ । २१ जना उम्मेदवारमध्ये नेपाल मजदुर किसान पार्टीबाट पवित्रा शाही, नेकपा (माओवादी) बाट तिमोथी चौधरी, नेपाल जनमुक्ति पार्टीबाट चन्द्राकुमारी राजगुरु र मंगोल नेशनल अर्गनाइजेसनबाट ज्योती योन्जन गरी चार जना महिला उम्मेदवार छन् ।